Powered by Blogger.
मध्यपहाडी लोकमार्गले फेरीयो जीन्दगी

बुद्धकुमार आछामी
सिन्धुली, २४ चैत्र । ओखलढुंगा, सोलु, खोटाङ्ग, घुर्मी, खुर्कोट । मध्यपहाडी लोकमार्ग खुलेसी स्वर्ग जस्तै भाको छ हाम्रो पुर्वत । मध्यपहाडी क्षेत्रका लोकगायक रादिप सुनुवारले गाएको यो गीत जस्तै मध्यपहाडी लोकमार्गको निर्माण पछि त्यसक्षेत्रका स्थानीयवासीहरुको जीन्दगी नै फेरिदिएको छ । कल्पनै नगरेको परिवर्तन देख्न पाएकोमा त्यस क्षेत्रका स्थानीयहरु निक्कै हर्षित भएका छन । 
केहि वर्ष अघि सम्म सवारीसाधन चढ्न घण्टौ हिडेर खुर्कोट आइपुग्नु पर्ने बाध्यतामा रहेको सिन्धुली मध्यपहाडी क्षेत्रका स्थानीयहरु अहिले आफ्नै आगनबाट सवारीसाधन चढ्न पाउँदा असाध्यै हर्षित मात्र भएका छैनन् त्यो अवसरलाई प्रयोग गरेर मनग्य आम्दानी समेत गर्न थालिसकेका छन । 
मध्यपहाडी क्षेत्रका स्थानीयहरु लोकमार्गको सदुपयोग गर्दै होटल व्यवसाय लगायतका व्यवसायहरु पनि गर्न थालेका छन । डुडभञ्ज्याङ्ग गाविसको च्याकुटार मकालु होटल सञ्चालन गरिरहेका होमनाथ न्यौपानेले मध्यपहाडी लोकमार्गले स्थानीयबासीहरुको जीवनमा परिवर्तन ल्याएको खुसी व्यक्त गर्दै भने ‘लोकमार्ग बनेपछि व्यवसाय सुरु गरेको राम्रो कमाई गरेको छु । बाटो नबनेको भए त परिवार पाल्न विदेश नै जानु पर्दथ्यो तर अहिले विदेशमा हुने कमाई यहि व्यवसाय गरेर कमाएको छु ।’ उनी जस्तै मध्यपहाडी क्षेत्रका दर्जनौं युवाहरु गाउँमै बसेर होटल व्यवसाय गरेर परिवार पालिरहेका छन । अर्काको देशमा गएर पसीना बगाउनुपर्ने बाध्यताबाट जोगिएका छन । 
मध्यपहाडी लोकमार्गको निर्माणले नग्न्य मुल्यमा पाइने त्यसक्षेत्रको जग्गाको मुल्यमा समेत ह्वातै बृद्धि भएको छ । पहिले २ लाख रुपैयाँ रोपनिमा पाइने जग्गाको मुल्य अहिले २० लाख सम्म पुगेको छ । डुडभञ्ज्याङ्ग गाविसका सोमप्रसाद बरालले भने, ‘बाटोले त हाम्रो जग्गालाई स्वर्ग जस्तै बनाई दियो, पहिले २ लाख रुपैयाँमा किनवेच हुने जग्गा अहिले २० लाख रुपैयाँ सम्म किनवेच हुन सुरु गरेको छ ।’ खुर्कोट देखी घुर्मी सम्म लोकमार्गले छोएका गाविसहरुको जग्गाको मुल्यमा अत्याधीक वृद्धि भएको छ । जस्ले गर्दा त्यस क्षेत्रका स्थानीयहरु असाध्यै हर्षित भएका छन । 
मध्यपहाडी क्षेत्रको बाटोका कारण व्यवसायीक कृषकहरुको संख्यामा बृद्धि हुनुका साथै कृषकहरुलाई फाइदा समेत पुगेको छ । पहिले पहिले तरकारी खेति गर्दा बारिमै कुहेर जान्थ्यो या त बोकेर रामेछाप बजार पुरयाउनु पर्दथ्यो तर अहिले गाउँमै होटलले हानाथाप गरेर लान्छन । व्यवसायीक तरकारी खेति गरिरहेका वितिजोर गाविसका यम बहादुर हमालले भने, बाटो खुलेपछि हामी किसानलाई बजारको समस्या नै छैन, प्राय जसो यहिका होटलहरुले लान्छन, बाँकी विक्रिका लागी बाहिर लान पनि बाटोका कारण सजिलो भएको छ ।’ उनी जस्तै मध्य पहाडी क्षेत्रको उर्वर जमिनमा व्यवसायीक रुपमा कृषि उत्पादन गरिरहेको संयौ कृषकहरु मध्यपहाडी लोकमार्गबाट प्रत्यक्ष लाभान्वीत भएका छन । 
आर्थिक वर्ष ०६४÷६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्गको खुर्कोट–घुर्मी खण्डको निर्माण कार्य झण्डै अन्तिम चरणमा पुगिसकेको छ । मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो यो तेस्रो राजमार्ग हो । निर्माण भैसकेपछि यसको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुनेछ । यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियो भञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ । 
चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ । गाउँ मात्र नभएर यसले नेपालका धेरै सहरसँग पनि सम्पर्क राखेर नै अघि बढ्छ ।
राष्ट्रिय गौरवको योजनामा घोषणा गरेको मध्यपहाडी लोकमार्गको पूर्वी खण्डमा ट्रयाक खोलिएपछि स्थानीय जनताको जनजिवनमा ठुलै परिवर्तन आएको छ । ढाकर बोकेर दैनिक जिवन धान्नुपर्ने ग्रामीण बस्तिमा अहिले दैनिक उपभोग्य सामाग्री ढुवानीसँगै पैदल हिडनुपर्ने बाध्यता हटेको छ । प्रशासनिक काम गर्न दुई दिनमा पुगिने पहाडी जिल्लाका सदरमुकामहरुको यात्रा छोटिनुका साथै लोकमार्ग निर्माणसँगै ग्रामीण क्षेत्रमा सडक बिस्तार हुन थालेको हो ।
लोकमार्ग निर्माण भएसँगै पहाडी जिल्लाको एक जिल्ला देखि अर्को जिल्ला सहजै पुग्ने, बढ्दो बसाईसराई रोक्नुका साथै पर्यटन, विधुत आयोजना निर्माण र कृषि उपजले बजार पाएका छन । 


,

0 comments

Write Down Your Responses