Powered by Blogger.
जिल्लाको हजारौं हेक्टर बन अतिक्रमण

बुद्धकुमार आछामी
सिन्धुली, ३० वैशाख । पछिल्लो समय जिल्लामा सार्वजनिक जग्गा र बन क्षेत्रको अतिक्रमण गर्ने क्रम बढ्दै गएको छ । जिल्लामा हजारौं हेक्टर बनक्षेत्र अतिक्रमण भएको जनाइएको छ । 
जिल्लामा बनको कुल क्षेत्रफल १ लाख ६० हजार १ सय ९१ हेक्टर रहेपनि पछिल्लो समय बन फडानी गर्ने क्रम वढ्दै गएपछि क्षेत्रफल क्रमश घट्दै गएको छ । जिल्लाका विभिन्न् स्थानमा १० हजार हेक्टर भन्दा बढी जंगल फडानी गरेर बस्ती बसेको र विभिन्न् कारणले २० हजार भन्दा वढी हेक्टर बन क्षेत्र विनास भएको जिल्ला बन कार्यालय सिन्धुलीले जनाएको छ । 
सार्वजनिक रुपमा रहेका ऐलानी जग्गाहरु अतिक्रमण गरी घरटहरा बनाउने क्रम पनि पछिल्लो समय बढ्दै गएको छ । सार्वजनिक जग्गामा अतिक्रमण गरी बजारको विस्तार गर्ने र स्थानीय स्तरमा रहेका विद्यालय तथा क्याम्पसहरुले त्यसको भाडा लिने गरेको समेत पाइएको जिल्ला बन कार्यालय सिन्धुलीका प्रमुख नविन गीरीले बताए । 
अधिकांश अतिक्रमित क्षेत्रमा जंगल फडानी गरेर ठूला–ठूला बस्ती बसालिएकाले राज्यलाई खाली गर्न समेत समस्या उपत्नन् भएको छ । अतिक्रमित क्षेत्रमा बिजुली, पानी, टेलिफोनजस्ता सार्वनिक सुविधा पुगेका छन । सडक र विद्यालय जस्ता भौतिक पूर्वाधार निर्माण भएका छन । सार्वजनिक सुविधा र भौतिक पूर्वाधार निर्माण भइसकेको र सरकारको बनसंरक्षण गर्ने गतिलो निति र राजनैतिक दलहरुको प्रतिबद्धता नहुदा वन अतिक्रमणको समस्यालाई निराकरण गर्न नसकिएको कार्यालय प्रमुख गीरीको भनाई छ ।  
जिल्लामा अस्थायी र स्थायी दुवै प्रयोगका लागि वन अतिक्रमण भएको छ । बढ्दो जनसंख्या, विकास र सहरीकरण सँगै वनक्षेत्र अतिक्रमण हुने क्रम पनि निक्कै बढेको छ भने पर्याप्त मात्रामा बनरक्षकको संख्या नहुँदा पनि बन र सार्वजनिक जग्गाको अतिक्रमण क्रम बढ्दै गएको छ । धेरैजसो अतिक्रमित क्षेत्रमा स्थायी बसोवास छ । मुख्य गरी कमलामाई नगरपालिका, पुर्वी कमलाखोज क्षेत्रको चुरे जंगल र पश्चिम मरिण क्षेत्रको चुरे जंगल अतिक्रमण भएको अवस्था छ । 
राजनैतिक दलहरुको संरक्षण, स्थानीयको मिलेमतो, पुरानो अतिक्रमण र स्थायी खालका बसोवास भएकाले तत्काल अतिक्रमण क्षेत्र खाली गराउन सक्ने अवस्था देखिदैन । 
राजनैतिक पहुँचका आधारमा वन अतिक्रमण भएकाले जिल्लाको अतिक्रमित वन क्षेत्र खाली गराउन पनि केन्द्रले नै बलियो नीति बनाउनुपर्ने र राजनैतिक दलहरुले बनक्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता गर्नुपर्ने जिल्ला बन कार्यालय सिन्धुलीको धारणा छ । 
जुनार, जंगल र जडिबुटीको धनी जिल्लाको रुपमा रहेको सिन्धुली यहि स्तरका बनक्षेत्रको अतिक्रमण बढ्दै जाने हो भने धारासायी बन्दै जाने स्थानीयहरु बताउछन । सामुदायीक बन समुहहरु पनि जंगलको सरंक्षण र विकास गर्ने कुरामा भन्दा काठ काट्ने काममा मात्रै अगाडि रहेको बारम्बार गुनासाहरु आउने गरेका छन । जिल्ला बन कार्यालयको भुमीका समेत कमजोर रहेको सरोकारवालाहरु बताउछन । उता बन कार्यालय भने पछिल्लो वर्षमात्र बनजंगल अतिक्रमण गर्ने २ दर्जनलाई कानुन अनुसार कार्वाहीको दायरामा ल्याएको बताएको छ । 


,

0 comments

Write Down Your Responses