Powered by Blogger.
घुसघोरीको अखडा बन्दै मालपोल कार्यालय

कर्मचारी र लेखन्दासको मिलेमतो, मारमा सेवाग्राही 

बुद्धकुमार आछामी
सिन्धुली, १४ जेठ । मालपोत कार्यालय जिल्ला भित्रको जग्गा जमीन तथा घर आदिको स्वामित्व सम्बन्धी रेकर्ड राख्ने निकाय हो । मालपोतमा जिल्ला भित्रका सम्पूर्ण जग्गा जमीनको लगत तथा स्वामित्व सम्बन्धी स्रेस्ताहरु अधावधिक गरी राखिएको हुन्छ । यस कार्यालयबाट जग्गाको रजिष्ट्रेशन पास ,नामसारी दाखिल खारेज ,लगत व्यवस्थापन जस्ता कार्यहरुको सम्पादन गरिन्छ । रजिस्ट्रेशन पास भईसकेपछि लिखतको अभिलेख खडा गरी सुरक्षित राख्ने र संबन्धित व्यतिले प्रतिलिपि माग गरेमा नियमानुसार उपलब्ध गराउने काम यस कार्यालयले गर्छ ।
यसका साथै अदालत ,बैंक तथा वित्तीय संस्थाहरुबाट आएका रोक्का राख्ने र फुकुवा भई आएमा फुकुवा जनाउने काम पनि यसै कार्यालय मार्फत हुन्छ । लगत व्यवस्थापनका लागि यस कार्यालयबाट मोठ फाँट भन्ने एउटा छुटै एकाइको व्यवस्थापन गरिएको हुन्छ कुनै जग्गा धनीको मृत्यु भएको अवस्थामा नाता प्रमाणको आधारमा विभिन्न प्रक्रियाहरु पुरा गरि त्यसको हकवालाको नाममा जग्गा नामासारी र दर्ता गर्ने कामहरु यसै कार्यालयबाट गरिन्छ । जिल्ला भरिका सेवाग्राहीहरुसँग सम्बन्धीत रहेर काम गर्ने मालपोल कार्यालय भ्रष्टाचार र घुसघोरी हुने अखडाको रुपमा स्थापित बनेको विषय हाम्रो लागी नयाँ विषय होइन ।
यसरी हुन्छ मालपोत सिन्धुलीमा खुलेआम घुसखोरी
सित्तलपार्टी गाविस वडा नं.९ का जितबहादुर तोलाङ्गे आफ्नो बावुको नाममा रहेको जग्गा नामसारी गर्न बुधबार सिन्धुलीमाढी आइपुगे । सरकारी निकायकै कमजोरीका कारण लालपुर्जा र नागरीकता प्रमाणपत्रमा उनको बाजेको नाम फरक पर्न गएपछि जग्गा नामसारीको काम भएन उनले  त्यसका लागी गाविस कार्यालयको सिफारीस लिएर आए । कानुन अनुसार नाम फरक परेमा ३५ दिनको सुचना प्रकाशन गरी प्रक्रिया पुरा गरेपछि मात्र नामसारीको काम हुन्छ । तर लेखनदासले आजै काम मिलाइदिन्छु भित्र पनि पैसा खर्च गर्नुपर्छ भन्दै पाँच हजार रुपैया लिए र थप तिन हजार पाँच सय दिनुपर्ने माग गरे ।
पैसा लिएको विषय सार्वजनिक भएपछि लेखनदासले पाँच हजार रुपैयाँ पिडितलाई फिर्ता दिए । कार्यालयले पनि ३५ दिने सुचना प्रकाशन गर्नुपर्ने प्रावधान रहेको बतायो । लेखापढी व्यवसायीले काम छिटो गर्नका लागि ५ हजार लिएको भन्दै उनीहरुलाई लफडा नगर्न आग्रह गरे ।(घटना नं.१)

मालपोत कार्यालयबाट जारी हुने लालपुर्जाको कभरको लेखिएको मुल्य रु २५ हो । तर उक्त रातो कभरलाई बिना रसीद फाटवालाले एक सय रुपैया लिएको प्रमाणित भयो । लेखनदास योग बहादुर बरालले आफुले एक सय रुपैया नै तिरेर उक्त कार्ड लिने गरेको मालपोत अधिकृतकै अगाडि बताए । एक सँय रुपैया लिने फाटवालाले समेत स्वीकार गरे । (घटना नं.२)
बिहिबार दिउँसो मालपोत कार्यालय सिन्धुलीमा देखिएका यी प्रतिनिधी घटना मात्र हुन । एक घण्टाको अवधीमा देखिएका यी घटनाले सेवाग्राहीको धेरै चहलपहल हुने मालपोत कार्यालयको वास्तविक अवस्थाको झल्को दिन्छ । सर्वसाधारण सेवाग्राहीलाई सेवा दिन स्थापना भएको मालपोत कार्यालय घुसखोरीको अखडाको रुपमा रहेको कुरा यी क्रियाकलापले पुष्टी गरेको छ ।
जग्गा सम्बन्धी काम लिएर ग्रामीण क्षेत्रबाट सदरमुकाम आइपुगेका सेवाग्राहीहरु आउने बित्तिकै लेखनदासको फन्दामा पर्छन, न उनीहरुलाई नागरीक वडापत्रको बारेमा जानकारी हुन्छ नत आफुहरुले तिरेको मंहगो रकम कहाँ पुग्छ भन्ने नै जानकारी हुन्छ । काम चाडो सक्ने हतारोमा रहेका सेवाग्राहीहरु लेखनदासले भनेजति खर्च गर्न चाडै तयार भइहाल्छन ।
मालपोत कार्यालय भित्र सेवाग्राही होइन लेखनदास र कर्मचारीहरुको मात्र उपस्थिती रहन्छ । कुन फाँटमा कस्लाई कति बुझाएर काम गर्नुपर्ने हो र गैर कानुनी काम गर्दा कति पैसा कुन फाँटलाई बुझाउनु पर्छ भन्ने बारेमा लेखनदासहरु कन्ठै भइसकेका छन । भित्र फाँटमा बुझाउनु पर्ने रकम र आफ्नो खर्च र नाफा जोडेर लेखनदासहरुले सेवाग्राहीसँग मोटो रकम लिन्छन ।
जग्गा पास गर्न आएका स्थानीयहरु आफुहरुले लेखनदासले मागे जति रकम दिने गरेको भएपनि कार्यालय भित्र कहाँ कति बुझाउनु पर्छ भन्ने बारेमा थाहा नभएको बताउछन । एक सेवाग्राहीले भने, ‘लेखनदासले नै चाडै काम गराउने भए पैसा अलि बढी लाग्छ भन्छन, गाउँदेखी आएका हामीसँग सदरमुकाममा बस्ने खर्च हुँदैन बरु अलिकति खर्च गर्यो, चाडै काम गरायो घर गयो ।’ चाडै काम सकिदिने नाममा मालपोतमा सेवाग्राहीसँग मनग्य रकम असुल्ने क्रम निरन्तर चलिरहेकै छ ।
घुस नदिने सोझा साझाहरुको काम तीनचारदिन सम्म पनि लेखनदास र कार्यालयले अल्झाउने गरेको सेवाग्राहीहरु बताउछन । कार्यालयका फाँटवालाहरुलाई घुसको प्रवन्ध भने लेखापढी व्यवसायीले मिलाउने गरेका छन । सेवाग्राहीका फाईल बोकेर जाने लेखन्दासहरुले मालपोत कार्यालयका कर्मचारी र सेवाग्राही विच घुसको कुरा मिलाउँछन भने सहज कामको घुस रेट तोकिएकै हुन्छ ।
मालपोत कार्यालय परीसरमा रहेको हरेक फाँटमा घुसविना फाईल नै अगाडी नबढ्ने बास्तविकता भने लेखनदासहरु पनि स्वीकार गर्छन । नाम नखुलाउने शर्तमा एक लेखनदासले भने, ‘मालपोत कार्यालयभित्र हुने कुनै कारोबारको लागि जति रकम दिएपनि फिर्ता हुँदैन, मालपोतका कर्मचारीले त खुलम्खुला घुस खान्छन’ उनले भने ‘आफु पनि कमाउनकै लागी बसेको, नाफा लिनै परो, भित्र फाँटवालाहरुलाई बुझाउने रकम पनि सेवाग्राहीसँग लिनै पर्यो ।’ आफुहरुले भने सेवा गरे बापतको रकम लिएको दावि गर्ने उनले कर्मचारी र फाँटवालाहरुले भने अनावश्यक घुस लिने गरेको गुनासो गरे ।
उता मालपोत कार्यालय सिन्धुलीका प्रमुख किरण कुमार भट्टराईले भने घटनाहरुको बास्तविकता अध्यन गरी सुधार्ने बताए । घुसखोरी र भ्रष्टाचारको अखडाको रुपमा मालपोत रहेको कुरालाई अस्वीकार गर्दै आगामी दिनमा कार्यालयका सवै कर्मचारीहरुलाई सेवाग्राही प्रति जवाफदेही भएर काम गर्न निर्देशन गर्ने भट्टराईको भनाई थियो ।
बर्षेनी हजारौं सेवाग्राहीहरुलाई जग्गा सम्बन्धी सेवा प्रदान गर्दै आएको कार्यालयले वर्षौ देखी यसरी खुलेआम घुस खादा कसैले नियमन र नियन्त्रण गर्न सकेको छैन । एकातिर लेखनदासहरुको सेवा शुल्क निर्धारण गरेर ब्यवस्थि तगर्न राज्यले सकेको छैन भने अर्कातिर सरकारी तलब खाएर पनि जनतासँग घुस खाने कर्मचारीहरुको आचरण सुधार गर्न र कार्वाहीको दायरामा ल्याउन सकेको छैन । मालपोतमा हुने अवैद्य गतिविधीमा राज्यको ध्यान नजादा सर्वसाधारण सेवाग्राहीहरु भने सधै मारमा परिरहेका छन । नयाँ नेपालको अनुभुति सेवाग्राहीहरुले गर्न सकेको अवस्था छैन ।


, ,

0 comments

Write Down Your Responses