Powered by Blogger.
सरकारी उदासीनताले ओझेलमा पर्यटकीय क्षेत्र फिक्कल (फाेटाेफिचर सहित)

पर्यटकिय क्षेत्र फिक्कल पहाड । 
बुद्धकुमार आछामी
सिन्धुली, ७ जेठ । सिन्धुली जिल्लाको सबैभन्दा अग्लो उचाईमा रहेको महादेवडाँडा, सोल्पा, खोलागाउँ र खाङसाङ्ग गाविसको संगम स्थल फिक्कल क्षेत्रलाई जिल्लाको नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीयहरुले माग गरेका छन । फिक्कललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारले निक्कै अघिदेखी सुरु गरेको भएपनि त्यसले खासै गति पाउन सकेको छैन । 
पर्यटकीय क्षेत्रको रुपमा संभावना बोकेको फिक्कल पुग्न मध्यपहाडी लोकमार्गबाट झण्डै २० किलोमिटर जोखीमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका कारण अहिले त्यसक्षेत्रमा खासै पर्यटकहरु आउने गरेका छैनन् । 
स्थानीय वासिन्दाको प्रयास तथा स्थानीय स्तरमा फिक्कललाई विश्व सामु परिचित गराउन गठन गरिएको विश्व प्रसिद्ध फिक्कल विकास समितिको प्रयासमा त्यस क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्र बनाउन काम सुरु भएपनि सरकारी निकायको उदासीनताले गर्दा उनीहरुमा समेत उत्साह हराउँदै गएको छ । 
गाउँ विकास समिति, जिल्ला विकास समिति र सस्कृति तथा पर्यटन मन्त्रालयले वर्षेनी केहि रकम बिनियोजन गर्ने गरेको छ । उक्त रकमबाट गत वर्ष देखी भ्यू टावर निर्माणको काम सुरु गरिएको छ । निर्माणाधीन नौ तले भ्यूटावरबाट नेपालका ४० जिल्लाहरु अवलोकन गर्न सकिने जनाइएको छ । भ्यू टावरको निर्माण आरम्भ भएपछि स्थानीयहरु हर्षित देखिएपनि सरकारी निकायको उदासीनताका कारण गति नपाउँदा भने निरास देखिएका छन । 
फिक्कलमा भएको बहुमूल्य प्राकृतिक स्रोत साधनको सहि सदुपयोग गर्दै जिल्लाको विकासमा सहयोग पु¥याउन चाडो भन्दा चाडो फिक्कललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको नेकपा(एमाले) खोलागाउँका नेता विष्णु पहाडी बताउछन । पर्यटकीय क्षेत्र निर्माण गर्ने भनेको वर्षौ बित्दा समेत अहिले सम्म गतिलो सडक समेत निर्माण नहुँदा त्यसक्षेत्रका स्थानीयहरुमा पर्यटक आउछन आफ्नो गाउँमा पनि भन्ने विश्वास हराउँदै गएको छ । 
निर्माणाधिन फिक्कल भ्यू टावर । 

समग्र जिल्लालाई नै पहिचान दिलाउन सक्ने सुनुवार सस्कृति, मगर सँस्कृति र पुरानो नाचको रुपमा परिचित मारुनी नाच र लहरे भाकाको उदगम स्थल पनि फिक्कल आसपासका गाउँ वस्तीहरु भएकाले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सालघारी उमावि खोलागाउँका प्रधानाध्यापक टेक बहादुर रजन बताउछन । फिक्कललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रका स्थानीयहरुको जीवनमा परीवर्तन ल्याउन स्थानीय राजनैतिक दलका नेताहरु जिम्मेवार बनेर लाग्न आवश्यक रहेको उनको भनाई थियो । 
फिक्कलको काख खोलागाउँ चनौटे सम्म पुग्ने कच्ची सडकको निर्माण भएपनि पक्की सडक भने अहिले सम्म निर्माण हुन सकेको छैन । पक्की सडकको निर्माण र फिक्कलको ऐतिहासीकतालाई प्रचार प्रसार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण समेत बढ्ने खोलागाउँ चनौटेका स्थानीय काग्रेस नेता तुलसी श्रेष्ठ बताउछन । निक्कै संभावना बोकेको फिक्कल सरकारी निकायको उदासीनताका कारण पछि पर्दै गएको उनको भनाई थियो । 

पछिल्लो सर्बेक्षण अनुसार ७ हजार ७ सय ७१ फिट उचाईमा रहेको फिक्कलमा १३४ प्रजातिको बहुमूल्य जडिबुटिहरु पाइने बताइएको छ भने  फिक्कल सम्भावित सुनखानीको क्षेत्रको रुपमा समेत रहेको अनुमान गरिएको छ । 
त्यस्तै फिक्कल पहाडमा नै रहेको रहस्यमय गुफा पनि पर्यकीय दृष्टिले महत्वपूर्ण छ । त्यहाँका गुफाभित्र महाँकाली देविको बास भएको र विश्वलाई नै प्रभावित तुल्याउन सक्ने अलौकीक शक्तिको भण्डार पनि त्यसक्षेत्रमा रहेका अनुमान गरिएको छ । 
फिक्कललाई पर्यकीय क्षेत्र बनाउन सुनकोशीमा रयाफ्टिङको व्यवस्था, मध्यपहाडी लोकमार्ग देखी फिक्कल सम्मको कच्ची सडक कालोपत्रे, फिक्कल वरीपरीका गाउँहरुमा होमस्टे सञ्चालन, लोप हुन थालिसकेको स्याउ खेतिको सुरुवात, जैतुन(ओलीव)खेतीको आरम्भ जस्ता विकासका कार्य गरेर आर्थिक रुपमा समेत फिक्कल आसपासका स्थानीयलाई बलियो बनाउन सकिन स्थानीय अगुवाहरु बताउछन । फिक्कलको पर्यटकीय विकासले फिक्कल र सिन्धुली जिल्ला मात्र होइन छिमेकी जिल्लाहरु रामेछाप, ओखलढुङ्गा, उदयपुर लगायतका जिल्लाहरु समेत आर्थिक दृष्टिले सहयोग पुग्ने भएकाले फिक्कललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारी निकाय जिम्मेवार भएर लाग्नुपर्ने आवश्यक्ता देखिन्छ । 


, ,

0 comments

Write Down Your Responses