Powered by Blogger.
अब जिल्ला अदालतमा ५ भाषाका दोभासे


सिन्धुली, असार । नेपाल बार यसोसीयसन सिन्धुलीका अधिवक्ता शुक्र थिङ दोभासेको पनि काम गर्छन् । तामाङलाई नेपाली र नेपालीलाई तामाङमा उल्था गर्छन् । जिल्ला अदालत सिन्धुलीमा दोभासेको काम गर्ने अधिकारीक व्यक्ति नहुँदा थिङमात्र हैनन् अधिवक्ता प्रविण हायुले हायू, जंगबहादुर राईले राईभाषाको पनि दोभासेको काम गर्छन् ।
अभिवक्ता बाहेक आवश्यकता अनुसार अन्य दोभासेलाई पनि अदालतमा उपस्थित गराईन्छ । अदालतले अनौपचारीक रुपमा सम्बन्धित भाषाका जानकारहरुलाई भाषाको समस्या पर्नासाथ कार्यालयबाट फोन गरेर बोलाइन्छ । विभिन्न समुदायका भिन्न—भिन्न भाषा बोल्नेहरु न्यायका लागि अदालत आउने गर्छन् । उनिहरुलाई आफ्नो समस्या सहज रुपमा राख्न  भाषाको समस्या हुन्छ । नेपाली भाषा राम्रोसंग नबुझ्दा आफ्नो कुरा बुझाउन सक्दैनन् । त्यस्ता व्यक्तिहरुलाई जिल्ला आदलतमा केही सयम देखी अनौपचारीक रुपमा भाषाका जानकार तथा अभिवक्ताहरुबाटै दोभासेको सहयोग गर्ने गरेको छ ।
अदालतका अनुसार अव त्यस्ता दोभासे आधिकारीक रुपमा नियुक्त हुने छन् । त्यसका लागि अदालतले विभिन्न पाँच भाषामा दोभासे सूचिकृतका लागि सूचना आह्वान गरेको छ । अदालते तामाङ, मगर, हायू, हिन्दी र अंग्रेजी भाषाको दोभासेको व्यवस्था गर्न लागेको हो । यस अघि विभिन्न भाषाका दोभासेको काम जिल्ला बारका अधिवक्ताहरुले नै गर्दै आएको भएपनि अव औपचारीक नियुक्त गर्न आवेदनको माग गरीएको जिल्ला अदालत सिन्धुलीका स्रेस्तेदार तथा सूचना अधिकृत धनबहादुर कार्कीले बताए ।
‘अहिलेसम्म जिल्ला बारकै अभिवक्ताहरुले सहयोग गर्ने गरेका छन् । अव जिल्ला अदालते सर्वोच्चको निर्णय अनुसार न्यायमा समान पहुँचका लागि दोभासेको नियुक्त गर्न लागेको छ । यसका लागि जिल्लामा पहिलो चरणमा विभिन्न पाँच भाषाका दोभासे सूचिकृत गर्ने गरी काम अघि बढाइएको छ,’ उनले भने ।
४२ प्रतिसत तामाङ भाषी भएको  जिल्लामा पहिलो प्राथमिकतामा तामाङ भाषाको दोभासे राख्न लागिएको छ । उक्त भाषाका लागि जिल्लामा भाषाका जानकारहरु पनि छन् । यस्तो सेवा कार्यालयमा स्थापना गरीएको सूचना तथा सहायत कक्षामार्फत गरीने कार्की बताउँछन् । ‘अबको केही दिन भित्रमै कसले कुन भाषाको दोभासेका लागि सहयोग गर्ने हो उनिहरुको नाम, सम्पर्क नम्बर  र बोल्ने भाषाको जानकारी तयार गरी अदालतमा राखिन्छ । त्यसपछि नियमित रुपमा दोभासेको काम सुविधा प्रदान गरिन्छ,’ सूचना अधिकृत कार्कीले भने, ‘दोभासे राखेपछि अदालतमा सेवा लिन आउनेहरुका लागि राहत पुग्ने विश्वास गरिएको छ ।’
जिल्लामा तामाङ, मगर, राई लिम्बु, हिन्दी, माझी, दनुवार देखी विभिन्न लोपउन्मुख जाती र भाषा बोल्नेहरुको बसोबास छ । ति मध्ये पहिलो चरणमा पाँच भाषाको दोभासे राख्ने तयारी गरिएको हो । बाँकी भाषामा पनि क्रमस दोभासे नियुक्त गर्दै लैजाने बताइएको छ । जिल्लाका केही क्षेत्रका समुदाय आफ्नो मातृभाषा बाहेकका अरु भाषा नै नबुझ्ने र नबोल्नेहरु समेत छन् । उनिहरुका लागि अनिवार्य दोभासेको आवश्यकता पर्ने गरेको छ । आफ्नो भाषामा बोल्दा आदालतमा नबुझ्ने र नेपाली भाषामा बोल्दा आफु नबुझ्ने समस्या भएपछि पिडीतले न्याय पाउननै मुस्कील हुने गरेकोमा दोभासेको काम गर्दा भाषाका कारण हुने समस्याबाट पिडितले उन्मुक्ती पाउने र न्याय पाउनेमा निश्चि भएको अधिवक्ता तथा तामाङ भाषाका दोभासे थिङ बताउँछन् । ‘विगतका मुद्दाको रेकर्डका आधारमा जिल्लामा विभिन्न भाषामा दोभासेबाट सहयोग प्रदान गर्ने गरेको छ,’ उनले भने ।
अदालत स्रोतका अनुसार दोभासे सेवा दिनेका लागि राज्यले पारिश्रमिकको व्यवस्था  गरेको हुन्छ । ‘यस्ता दोभासेहरुले सेवा ग्राहीलाई निशुल्क सेवा दिनेछन् । दोभासेले पनि सेवा ग्राहीबाट पैसा लिन पाउने छैनन् । सूचना अधिकृत कार्कीले भने, ‘तर, अव आधिकारीक रुपमा दोभासेको सूचिकृत पछि भने दोभासेले नियम अनुसारको पारिश्रमिक पाउने छन् ।’
कुनैपनि भाषाभाषीका पीडितहरु र अभियुक्तहरु आउँछन् । उनिहरुले मातृभाषामा जति कुरा गर्न सक्छन् त्यति अन्य भाषामा सक्दैनन् । आफ्नो भाषामा बयान गर्ने अधिकार अदालतमा आउनेहरुका लागि हुन्छ । त्यसकै आधारमा अदालते न्यायमा समान पहुँच पुग्ने विश्वासका साथ दोभासे राख्न लागिएको हो । यस अघि पनि उपलब्ध भाषाको दोभासे सेवा अदालत पुग्नेले सहज रुपमै सेवा पाउने गरेका थिए । ‘अव झनै औपचारीक रुपमा दोभासेको सुविधा दिने व्यवस्था मिलाइएको छ । बार सिन्धुलीका अध्यक्ष जंगबहादुर राईले भने, ‘जिल्लामा पाँच भाषाको दोभासेको सूचिकृत गरीदै छ । यो अत्यन्त राम्रो कार्यको सुरुवात हो । यसले सर्वसाधारण र भाषाको समस्या हुनेहरुलाई पनि न्यायमा सहजता र पहुँचताका लागि मद्दत पु¥याउँछ ।’


, ,

0 comments

Write Down Your Responses