माओवादी केन्द्रमा विचार र संगठनका चुनौती
हरिबोल गजुरेल
नेपालको कम्युनिष्ट आन्दोलन विश्व सर्वहारावर्गीय आन्दोलनको अग्रपंक्तिमा रहेको छ । यसले नेपाली समाजका अनेकौ राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तर्विरोध र चुनौतीको सामना गरिरहेको छ । यी चुनौतीको सामना गर्न विभाजित माओवादी पार्टीहरुको एकताबाट नेकपा (माओवदी केन्द्र) को पुनर्गठन भएकोे छ । यसले किरणको ‘वाम’ र डा.बाबुराम भट्टराईको दक्षिणपन्थी विसर्जनवाद विरुद्ध संघर्ष गर्दै नयाँ ढंगले पहल लिन खोजेको छ ।
मार्क्सवादका आधारभूत सिद्धान्तलाई नेपाली विशेषतामा लागू गर्ने सन्दर्भमा सिर्जनात्मक प्रयोग अपरिहार्य छ तर, यसबारे व्यवस्थित बहस हुन सकिरहेको छैन । सिद्धान्त र ब्यवहारबीच समुचित तालमेल मिलाउन नसक्दा बिरोधी पक्षको शंकाको लाभ लिन त माओवादी केन्द्र सफल भएको छ, तर जनताको शंकाको घेराबाट छुटकारा पाउन सकेको छैन ।
माओवादी केन्द्रको मुख्य चुनौती संगठनात्मक सिद्धान्तको विकाससँग सम्बन्धित छ, जुन मार्क्सवादको समग्र विकाससँग जोडिएको छ । जनवादी केन्द्रीयताको सिद्धान्तलाई बुझ्ने र सो अनुरुप आचरण गर्ने कुरा नै विश्व कम्युनिष्ट आन्दोलनले हल गर्न नसकेको मुख्य विषय हो । जनवादी केन्द्रीयताको औपचारिक अभ्यासका कारण केन्द्रीयता र संश्लेषणबीच तालमेल मिलेको देखिन्न ।
जनवादी केन्द्रीयताको अनौपचारिक अभ्यास नहँुदा कहिले अराजकताले र कहिले नोकरशाही केन्द्रीयताले प्रश्रय पाइरहेको छ । जनवाद र केन्द्रीयतावीच अन्योन्याश्रति सम्बन्ध छ, तर उचित सन्तुलन मिलाउन सकिएको छैन । सामान्यतः जनवाद नै प्रधान हुन्छ, विशिष्ट स्थितिमा केन्दि्रयताले प्रधानता पाउने गर्दछ । यसका साथै जनवादी केन्द्रीयताको अभ्यास गर्दा कहिले विधि-पद्दतिलाई बेवास्ता गर्ने वा कहिले विधि-पद्दतिलाई यान्त्रिक रुपमा लिने समस्या रहने गरेको छ । यसैसँग जोडिएर आउने ‘छलफलमा स्वतन्त्रता र कामकारवाहीमा एकरुपता’ को लेनिनवादी मान्यताको विकास गर्नुपर्छ भन्ने कुरामा दुई मत नहोला, तर यस विषयमा व्यवस्थित बहस हुन सकिरहेको छैन ।
क्रान्तिलाई यान्त्रिक रुपमा बुझ्ने चिन्तन अर्को मुख्य समस्याको रुपमा रहेको छ । क्रान्ति र परिवर्तनलाई ‘ब्यारोमिटर’ ले नाप्न सकिँदैन किनकि यो भौतिक पक्षसँग मात्र जोडिएको छैन, यसमा मानवीय पक्ष पनि जोडिएको छ । विरासतका रुपमा रहेको यान्त्रिक चिन्तन र प्रवृत्ति विरुद्ध संघर्ष गरेर नयाँ ढंगले पहल लिएको हुनाले माओवादी आन्दोलन गतिशील भइरहेको छ । जनयुद्धको विकास मार्क्सवादको सिर्जनात्मक प्रयोग गरेर सम्भव भएको हो ।
तर, पछिल्ला दिनमा खासगरी शान्ति प्रक्रियाका सम्बन्धमा अनुभवको कमीका कारण हामी अलि बढी गोलचक्करमा फस्न पुग्यौं । नयाँ काम गर्दा गल्ती कमजोरी हुन्छ र त्यसले क्षति पनि पुर्याउने गर्छ । तर, क्रान्तिकारीहरु त्यसलाई सच्याउन तयार हनुुपर्छ ।
यसका साथै विज्ञानको क्षेत्रमा भएको विकासले समाजमा पारेको प्रभावको पनि आँकलन गर्न सक्नु पर्दछ । आइन्सटाइन र पछिल्लो समयमा स्टेफन हकिङ्ससम्म आइपुग्दा विज्ञानको विकासले समाजमा पारेको प्रभावका विषयमा नयाँ शिराबाट छलफल आवश्यक भइसकेको छ ।
इलेक्ट्रोनिक्सको क्षेत्रमा भएको अभूतपूर्व विकासले सूचना सञ्चारको क्षेत्रमा गुणात्मक परिवर्तन ल्याएको छ । प्रचार-प्रसार र संगठन परिचालन गर्ने पुरानो अभ्यास अनुपयोगी भैसकेको छ । संगठन परिचालन गर्दा जनता र कार्यकर्ता पंक्तिको मनोवैज्ञानिक पक्षलाई गम्भिर रुपमा लिनुपर्ने हुन्छ । यसमा हाम्रो पर्याप्त ध्यान पुगिराखेको छैन । यस्ता विषयमा गहिरो अध्ययन एवं छलफल गर्नेतिर भन्दा पार्टी दैनिक भैपरी आउने काममा सीमित भइरहेको छ । यस प्रकारका कमजोरी सच्याउन ढिलाइ गर्न हुन्न ।
अर्को कुरा, नेपालमा समाजवादी क्रान्तिको मोडल कस्तो हुन्छ भन्ने विषयमा गम्भीर बहस चल्न सकेको छैन । पँुजीवादी जनवादको जस्तै समाजवादको पनि मोडल एउटै हुन सक्दैन । फरक-फरक देशमा समाजवादको मोडेल फरक-फरक हुन्छ र क्रान्ति फरक-फरक तरिकाले पूरा हुन्छ भन्ने मान्यताका साथमा बहस गर्यौं भने समाधान निकाल्न सकिन्छ ।
नेपाली विशेषतामा एक्काइसौं शताब्दीको समाजवादी क्रान्ति कसरी सम्पन्न गर्ने ? तल र माथिबाट हस्तक्षेप गरेर जाने नीति हामीले लिएका छौं तर नीति र कार्यक्रमवीच तालमेल मिलाउन सकिरहेका छैनौं । नीतिगत रुपमा मिलाउने भनेका त छौं तर व्यवहारमा मिलाउन सकेका छैनौं ।
सरकारमा हुँदा सरकारनै सबैथोक हो भने जसरी आचरण गर्ने र सरकारमा नहुँदा सडकको मोर्चा बाहेक केही पनि होइन भन्ने मनोविज्ञान छ ।सरकार, सदन र सडकबीच ठीक ढंगले तालमेल मिलाउन नसक्दा माओवादी आन्दोलन तिब्रतामा अगाडि बढ्न सकिरहेको छैन । कुनबेला कुन प्रधान र कुन सहायक हो भन्ने कुरा ठोस गरेर जान नसक्दा कुहिरोको काग जस्तै भौंतारिने खतरा रहन्छ । यसैसँग जोडिएको भोटको राजनीति गर्ने कि जनताको राजनीति गर्ने भन्ने प्रश्न पेचिलो बन्दै गएको छ ।
अन्य पार्टी भन्दा माओवादीे केन्द्र फरक छ भन्ने कुराको पुष्टि माओको ‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकालेे लडछौ’ भन्ने भनाइलाई व्यवहारमा उतारेर गर्न सक्नु पर्दछ । तर, हामी जनताको राजनीतिभन्दा अन्य पार्टीहरु जस्तै भोटको राजनीेतिमा केन्दि्रत हुँदै गइरहेका छौ ।
हाम्रो संगठन र कार्यशैली परम्परागत ढाँचामा चलेको छ । नयाँ पुस्तालाई छिटोभन्दा छिटो अनुभवले लैस बनाएर नेतृत्वमा पुर्याइएन भने यो आन्दोलन अगाडि बढ्न सक्दैन । हामीले परम्परालाई तोड्न सकिरहेका छैनौं । हिजो जनयुद्धमा सहभागी हुने अवसर पाउँदा पनि सामेल नहुने पक्षको कुरा अर्कै हो, तर त्यसबेला उमेर नपुगेको युवा शक्ति अहिले चल्तापूर्जा छ । शान्ति प्रकृया शुरु हुँदाको १५ वर्षको युवा अहिले २५ वर्ष भएको छ । अहिले समाजमा हर्ताकर्ता उही छ । यो पुस्ताले जनयुद्ध देखेन र सहभागी हुने अवसर पनि पाएन । यस्तो युवाहरुलाई संगठनात्मक जिम्मेवारी दिएर सम्बोधन गर्न सकिरहेका छैनौं । यो कुरा त अलिक टाढै भयो, तर जनयुद्धमा सामेल भएको युवा पिँढी पनि आफ्नो क्षमता प्रयोग गर्न नपाएर कुण्ठित भइरहेको छ । उर्जाशील क्रान्तिकारी युवाशक्तिले निकास नपाएपछि गत्यावरोध हुनु स्वभाविक
माओले विकास गरेको ‘थ्री इन वान’ को नीति अनुरुप जनयुद्धको शुरुवाती वर्षहरुमा युवा नेतृत्वलाई अगाडि बढाएर हामीले अभ्यास गर्यौं । यो अभ्यासले जनयुद्धको विकासमा महत्वपूर्ण भूमिका खेल्यो । तर, शान्तिकालमा प्रवेश गरेपछि हामीले यो साहस गर्न सकेका छैनौं । यसमा साहस गर्ने भनेको क्रमभङ्ग गर्ने हो । तर, हामी निरन्तरतामा छौं ।
क्षमता हुनेले उचित जिम्मेवारी पाएको छैन । उसको उर्जा ह्रास भइरहेको छ । क्षमता कम हुनेले जिम्मेवारी पाएको छ, तर पूरा गर्न क्षमता नपुग्दा हीनताबोधले ग्रसित छ । ऊ अर्कोलाई दोष दिएर आत्मरति लिइरहेको छ । के यसरी हुन्छ ? सक्षम र सक्रियले भूमिका पाइरहेका छैनन्, नसक्नेहरु ओगटेर बसिरहेका छन् । विडम्बना, उनीहरु अझै प्रोमोसनको माग गर्दैछन् । नयाँ र सक्षमलाई जिम्मेवारी दियो भने उसले गल्ती कमजोरीबाट शिक्षा लिँदै सिक्न र काम फत्ते गर्न सक्छ । के ६९९ जनाको केन्द्रीय समितिमा नपरेका सक्षम युवाहरुलाई एकैचोटि ठूलो संख्यामा केन्द्रमा ल्याउन सक्छौं ?
अध्यक्ष प्रचण्ड नेतृत्वमा आउँदा ‘बेरियर’ क्रस गरेर आउनुभएकोे हो । त्यसबेला पुरानाले सहजै आउन दिएका थिएनन् । उहाँ नेतृत्वमा आएपछि आन्दोलनले गति लियो । यो अनुभवले नयाँलाई ल्याउने, नयाँलाई आकषिर्त गर्ने, उनीहरुलाई भूमिका दिने कुरा मुख्य हो भन्ने पुष्टि भइसकेको छ ।
पुरानाका अनुभवबाट सिकेर नयाँले पुरानालाई सम्मान दिने हो । इतिहासको सम्मान गर्न नसक्नेले कहिल्यै प्रगति गर्न सक्दैन । यसमा कन्जुस्याइँ गर्नुहुन्न । पार्टीले पुरानालाई सम्मानित भएर बस्नुस्, सल्लाहकार भएर बस्नुस्, संरक्षक भएर बस्नुस् भन्न सक्नुपर्छ । ‘भेट्रान कम्युनिस्ट’ को उपाधि पुराना कमरेडहरुलाई दिन सकिन्छ । यसो गर्न सक्छौं कि सक्दैनौं ? यो चुनौती छ ।
हामीले यतिखेर गरेको प्राक्टिस मूलतः पुरानैतिर केन्दि्रत छ, जसले गर्दा नयाँ र पुराना दुबैथरि कुण्ठित छन् । एउटा जिम्मेवारी पूरा गर्न नसकेर कुण्ठित छ, अर्को उपयुक्त जिम्मेवारी नपाएर कुण्ठित छ ।
यसको समाधान के हो त ? सर्वप्रथम ६५१ को वर्तमान केन्द्रीय समितिको लिष्टमा छुटेका केही पुराना कमरेडहरु थपेर ६९९ बनाउनु पर्दछ । त्यसपछि ६९९ केन्द्रीय सदस्य पूरा गर्दा जुन प्रकृया अपनाइयो, त्यो भन्दा भिन्न विशिष्ट प्रकृया अपनाउनुपर्छ ।
के हामी लेनिनले जीवनको अन्तिम क्षणमा १०० जना सक्षम युवाहरुलाई एकै चोटि केन्द्रमा ल्याउन माहाधिवेशनलाई चिठ्ठी लेखेर राखेको प्रस्तावको महत्वलाई यतिखेर बुझ्न सक्छौं ? लेनिनको यसै भनाइलाई आधार मानेर यतिखेर १०० जना सक्षम युवाहरुलाई केन्द्रीय समितिमा समावेश गर्न सक्छौं ? के यो नीतिलाई वडा तहसम्म पुर्याउन सक्छौं ?
नयाँ सक्षम युवाहरुलाई समाविष्ट गर्ने भनेको पुरानालाई रुपान्तरण गर्ने पनि हो र नयाँलाई अनुभवले लैस गराउने पनि हो । यो जोस् र होस्को सन्तुलन मिलाउने कुरासम्ग पनि सम्बन्धित छ ।
यसो गर्न हामी साहस गर्दैनौं भने माओवादी केन्द्रले वैचारिक, राजनीतिक र संगठनात्मक निकास दिन सक्ने हैसियत राख्न सक्दैन । यदि यसो गर्न तयार हुन्छौ भने ७९९ को संख्या पनि थोरै हुन्छ । यसतर्फ सबैले ध्यान पुर्याउन आवश्यक छ ।
(माओवादी नेता गजुरेल कृषिमन्त्री हुन्)
0 comments
Write Down Your Responses