Powered by Blogger.
घ्याम्पेखोला अवैद्य उत्खनन् रोक्न माग

जिल्लाकै ठुलो आन्तरिक श्रोतको बिरोधमा स्थानीयबासी

बुद्धकुमार आछामी 
सिन्धुली, १८ श्रावण । जिल्ला विकास समिति सिन्धुलीको कार्यादेश अनुसार भइरहेको कुशेश्वर दुम्जा गाविस स्थित घ्याम्पेखोलाको ढुंगा, गिटी, बालुवा, ग्राभेल र रोडा उत्खनन् तथा निकासीको कार्य अवैद्य रुपमा भइरहेको भन्दै स्थानीयबासीहरु संगठित रुपमै बिरोधमा उत्रिएका छन । 
निकासीको जिम्मा पाएको सिद्धि विनायक निर्माण सेवा काभ्रेले स्थानीय निकाय समेतको मिलेमतोमा अवैद्य रुपमा ढुंगा, गिटी उत्खनन् गर्दा स्थानीयहरु समस्यामा पर्दै गएको भन्दै पिडितहरुले मंगलबार सदरमुकाम सिन्धुलीमाढी आएर प्रशासन कार्यालय, जिल्ला विकास समिति, बन कार्यालय, प्रहरी कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयलाई अबैद्य उत्खनन् रोकिदिन माग गरेका छन । 
घ्याम्पेखोला उत्खनन्का कारण त्यस क्षेत्रका रुपटार, बालुवाटार, आपघारी, घ्याम्पाटार, बसेरी, आरुखोला लगायतका मानवीय वस्तीहरु जोखीममा पर्नुका साथै विद्यालय, बनक्षेत्र र खानेपानीको मुहान समेत प्रभावित बनेकाले उत्खनन् तत्काल रोकिदिन ज्ञापन पत्र मार्फत माग गरिएको घ्याम्पेखोला उत्खनन् रोकथाम संघर्ष समितिका अध्यक्ष रमेश कोइरालाले बताए । 
बातावरण प्रभाव मुल्याकंन प्रतिवेदन विपरीत खोलामा हेभि डोजर, भ्याकुर तथा क्रेनको प्रयोग गरी दैनिक संयौ ट्रक ढुंगा तथा गिट्टी उत्खनन् गर्दा सास्कृतिक महत्वका धरोहर सहित नेपालकै नुमनाको रुपमा रहेको वीपी राजमार्गमा समेत असर पर्दै गएको र उत्खनन्को जोखिमका कारण स्थानीयहरु त्रसीत हुनुपर्ने अवस्था रहेकोले घ्याम्पेखोला उत्खनन् रोकथाम संघर्ष समिति गठन गरेर संगठीत रुपमा संघर्ष सुरु गरिएको अध्यक्ष कोइरालाको भनाई छ । सम्बन्धीत निकायले तत्काल अवैद्य रुपमा भइरहेको उत्खनन् कार्य नरोके आफुहरु आन्दोलन गर्न बाध्य हुने समेत उनले बताए ।  
जिल्ला विकास समितिले चालु आर्थिक वर्षको ठेक्का सम्झौता गरेको एक साता नवित्दै स्थानीय पिडितहरुले भेलाले संघर्ष समिति गठन गरेको थियो । 
बातावरण संरक्षण ऐन २०५३ ले कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी वा जन जीवन र जन स्वास्थ्यका लागि खतरा हुन सक्ने किसिमले प्रदुषण सृजना गर्न वा तोकिएको मापदण्ड विपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनी, ताप, रेडियोधर्मी विकिरण तथा फोहर मैला निष्काशन गर्न, गराउन हुँदैन भन्ने उल्लेख गरेको भएपनि घ्याम्पेखोला उत्खनन् र बस्ती नजिकै सञ्चालन गरिएको क्रसर उद्योगका कारण कुशेश्वर दुम्जाका स्थानीयहरु केहि वर्ष देखी उक्त समस्या भोग्न बाध्य भएको स्थानीय विकास भण्डारी बताउछन । 
विगत केहि वर्ष देखी जिल्ला विकास समितिको मुख्य आम्दानीको श्रोतको रुपमा रहेको घ्याम्पेखोला उत्खनन्को विरोधमा स्थानीयहरु उत्रिएपछि जिल्ला विकास समिति समस्या परेको छ । घ्याम्पेखोला लगायत अन्य केहि साना आम्दानीका श्रोतको भरमा आधा दर्जन बढी कर्मचारीलाई तलब भक्ता खुवाउनु पर्ने तथा आन्तरिक विकासका गतिविधी सञ्चालन गर्नुपर्ने बाध्यतामा जिविस रहेको छ । 
जिल्ला विकास समितिले चालु आर्थिक वर्षको लागी सिद्धि विनायक निर्माण सेवा काभ्रेलाई ६४ लाख रुपैयाँमा उत्खनन् संकलन तथा बिक्रि र जिल्ला बाहिर निकासी हुने कर दस्तुर उठाउन कार्यादेश दिएको थियो । 
कार्यादेश पाएको निर्माण कम्पनीले वातावरण प्रभाव मुल्याकंन विपरीत तथा स्थानीयहरुलाई असर पुग्ने गरी गैर कानुनी रुपमा खोलाको उत्खनन् गरेको पाइएमा कानुनी दायरामा ल्याइने स्थानीय विकास अधिकारी इश्वर कुमार गीरीले बताए । गीरीले भने, ‘ठेकेदारले सर्त तथा सम्झौताको पूर्ण पालना गर्नुपर्छ, यदि पालना नगरेको पाइएमा कानुन अनुसार कार्वाही हुन्छ ।’ 
उत्खनन् तथा निकासीको जिम्मा पाएको निर्माण कम्पनीले भने आफुहरुले जिल्ला विकाससँग सम्झौता गरेर उत्खनन् तथा निकासीको कार्य गरेकाले अबैद्य नरहेको बताएको छ । कम्पनीका एक प्रतिनिधीले भने, ‘उत्खनन्को अनुमति जिल्ला विकासले दिएको हो, हामीले शर्त अनुसार नै काम गरेका छौं ।’


, ,

0 comments

Write Down Your Responses