जैविक प्रविधिद्धारा नदी नियन्त्रण
राजन गाउँले
सिन्धुली ४, असोज । लगातारको बर्षाका कारण जिल्लाका खहरेदखी ठुला खोला र नदीमा निकै ठुला बाढी आइरहेका छन् । वर्षातको समयमा ठुलो बाढी आउँदा ति खहरे तथा नदी आसपासका स्थानीयमा निक्कै त्रास बढ्छ । उनिहरु कहिले रातभर जाग्राम बस्छन त कहिले घर छाडेर सुरक्षित स्थानमा बस्छन् । तर, वर्षाको उर्लदो भेलमा कमलामाई नगरपालिका १८ दोभानका वासिन्दाहरु भने रत्तिभर डराएनन् , कारण थियो ५ वर्ष अघिदेखि चरिचरण बन्द गरेर जैविक प्रविधिबाट उनीहरुले खोलालाइ जंगल बनाइसकेका थिए ।
प्रकृतिलाइ नियन्त्रण गर्न प्राकृतिक उपायकै थालनी गरेका दोभानबासी ढुक्कसाथ भन्छन्, हामीलाइ अब खोलोपैरोको पिर छैन् । ५० सालमा देखेको चँदाहा खोलाको बाढी त्यो भन्दा ठुलो वर्षा शुरु नहुँदै गयो, तर हामी ढुक्क थियौं, क्षती हँुदैन भनेर, जैविक प्रविधिमा लागेका अभियन्ता देवीबहादुर पाठकले भने,‘ हामीले चँदाहाको सेतो बगरलाइ जंगल क्षेत्र जस्तै बनाइसकेका छौं ।’
चँदाहाखोला मात्र हैन जैविक प्रविधिबाट दोभानवासीले कमलानदी समेत नियन्त्रण गरेका छन् । कमलानदीले कटान गरेको जमीन यतिखेर हरियाली भएर खेतीयोग्यमै परिणत हुन थालिसकेको छ । कमलाको सेतो बगरपनि चरिचरण बन्द गरेर हरियाली बनाएका छौ, जैविक बिबिधता संरक्षण समितिका अध्यक्ष समेत रहेका तिनै अभियन्ता पाठक भन्छन्,‘ अबत सेतो बगार नै तेरोमेरो खेत भन्न शुरु भैसकेको छ ।’
चरिचरण बन्द गरेर बगरलाइ हरियालीमा परिणत गर्न अगुवाहरुलाइ कम्ती मेहनत भने गर्नु परेन् । सुकुम्वासीहरु समेत उल्लेख रहेका त्यस क्षेत्रमा सास्ती खेपेरै भएपनि उनीहरुले आदिउदी सफलता हाँसिल गरिसकेका छन् । पुराना कुरा सुनाउदै अध्यक्ष पाठक भन्छन्,‘ चरिचरण नियन्त्रण गर्न समितिलाइ धेरै गा¥हो भयो, हाम्रो बस्तुभाउ हामीले किन चराउन नपाउने भनेर निकै जोरी खोजे, खेती भएकाहरुको पराल भएकाले सम्झिए तर सुकुम्वासीलाइ मनाउन हम्मेहम्मे पर्यो ।’
चरिचरण बन्द गरेर व्लक विभाजन गरि चाँडै घाँस पलाउने सुकुम्वासीहरुलाइ दिएपछि उनीहरुको चित्त शान्त भएको अनुभव अध्यक्ष पाठकसँग छ । जैविक प्रविधि अभियान थालेको वर्षदिनमै प्रसस्त घाँस घर नजिकै खोलाबगरमा पाएपछि यतिखेर सबै दंग छन् । खोला किनारमा चरिचरण बन्द गरेर थालिएको जैविक बिबिधता संरक्षण क्षेत्रमा यतिखेर खयर, सिसौ, डाले घाँसका अलावा आयआर्जन हुने आँप लिची, अम्बा जस्ता फलफुलका बीरुवा समेत हुर्किदो अवस्थामा छन् । दोभानका १६० घरधुरी नै यतिखेर जैविक बिबिधता संरक्षण अभियानमा लागेर दोहोरो फाइदा लिइरहेका छन् ।
एउटा फाइदा नदी नियन्त्रण भयो भने अर्को रछ्यानमा प्रसस्त घाँस पाइयो, समितिकी उपाध्यक्ष गायत्रीदेवी चौहानले भनिन्,‘ पहिला बिहानभर लगाएर एक भारी घाँस खोजेर ल्याउन मुश्किल पथ्र्यो, अहिले डोको बोकेर आफ्नो व्लकमा छिरेको आधा घण्टामै फिर्न पाइन्छ ।’
जल,जमीन, जंगल, जडिबुटी र जनावरको नारा लिएर अगाडि बढेका दोभानवासीले आफ्नो अभियानलाइ त्रिवेणी जैविक बिबिधता तथा वन संरक्षण समिति गठन गरेर जिल्ला प्रशासनमा दर्ता गराइ कानूनी मान्यता समेत दिएका छन् । दोभानवासीकै मेहनतको फल देखेर, कनपा ११,१२,१४,१५,१६ र १७ नं वडावासीले समेत जैविक बिबिधता संरक्षणलाइ महत्व दिएर काम गरिरहेका छन् ।
कमला नदीको कटान नियन्त्रण गर्न कुनैपनि सरकारी निकायबाट आवश्यक सहयोग नपाएपछि उक्त नदीको बगरमा चरिचरण बन्द गरी काँस(कस्यान) उमारेर नदीको कटान नियन्त्रण गरिएको स्थानीय कृषकहरुले बताएका छन् । कमला नदीमात्र हैन काँसले चुरे क्षेत्रबाट बगेर आउने खहरे नियन्त्रणमा समेत मद्धत पुगेको छ ।
कमला नदीको कटान नियन्त्रण गर्न करोडौ बजेट लगानी गर्ने प्रोजेक्ट नै चाहिन्छ ।
0 comments
Write Down Your Responses