Powered by Blogger.
धानमा ब्लास्ट रोगको संक्रमण, किसान चिन्तामा


राजन गाउँले
सिन्धुली ४, असोज । जिल्लाका अधिकांस कृषकको खेतमा लगाइएको धान बालीमा ब्लास्ट नामक रोगको संक्रमण देखा परेको छ । कमलामाई नगरपालिका, कमलाखोंच क्षेत्र र भिमस्थान तथा मरिण क्षेत्रमा यस्तो रोगको संक्रमण देखा परेको हो । 
धानको पातमा टिका पर्ने, खैरो, सेतोहुँदै जाने, पातमा अण्डा आकारको खैरो फैलदै जाने जस्ता लक्षण देखापरेको जिल्ला कृषी विकास कार्यालय सिन्धुलीले जनायो । यस्तो रोगको लक्षणलाई ब्लास्ट रोग भनिन्छ । यो रोगका कारण रोगको संक्रमण भएको धानको केही समयपछि पात सुकेर मर्ने गरेको छ ।
कमलामाई नगरपालिकाका कृषक टंकबहादुर थापाको खेतमा लगाईको धानबाली पहँेलो पात हुँदै सुक्दै गएपछि त्यसको परिक्षण गर्दा ब्लास्ट रोगको संक्रमण भएको पाइएको कार्यालयका प्राविधिक नथुनी प्रसाद यादवले जानकारी दिए । 
‘थापाको खेत भरीको धानबाली पहेलो हुने, सेतो हुने, सुक्ने जस्ता समस्या देखीएपछि नमुना परिक्षण गर्न कार्यालयमा ल्याएका थिए, यादवले भने, ‘त्यसको परिक्षण गर्दा यस्तो रोगको संक्रमण भएको पाइएको हो । यस्तो समस्या जिल्ला भरनै जसो देखीएको छ ।’
धेरै बर्षात भए वा धेरै चर्को घाम लाग्दा पनि यस्तो रोगको संक्रमण हुन सक्ने यादवको भनाई छ । यस्तो रोगको संक्रमण भएमा धानको बोट नबढ्ने सुक्ने हुँदै जान्छ । कृषक थापाको झण्डै दुई विगाहा खेतमा लगाइएको धानबाली सुक्दै गएको छ । 
‘सुरुमा पौष्टिक मलको अभावले होकी भनेर कृषी कार्यालयकै प्राविधिकहरुको सल्लाह अनुसार युरीया, डिएपी, पोटासर कम्पोष्ट मल खेतमा हालेको थिए । धान गाँजीदै गएको थियो तर, बढेको थिएन । पछि त्यो विरुवा सुक्दै जान थाल्यो कृषी कार्यालयमा ल्याएर परिक्षण गर्दा रोग रहेछ,’ कृषक थापाले भने ।
थापाको खेतमा लोकल सावित्री जातको धान छ । जिल्लामा यस्तो रोगको संक्रमण पहिलो पटक देखापरेको कृषी प्राविधिकहरु बताउँछन् ।
उता जिल्लामा ब्लास्ट रोगको संक्रमण देखापरेपछि धान बाली लगाउने कृषकहरु चिन्तीत बनेका छन् । अनुकुल वर्षाहुँदा समयमा धान बाली लगाइसकेका कृषकहरु  नियमित वर्षाबाट धानको राम्रो उत्पादन हुन्छ भन्नेमा निक्कै विश्वस्त थिए । मेहनत अनुसारको फल प्राप्ती हुन्छ भन्ने आशामा रहेकाहरु अचानक खेतनै बाँझो हुनेगरी देखापरेको ब्लास्ट रोगका कारण चिन्तीत बनेका हुन् । 
समयमा यस्तो रोगको संक्रमण नियन्त्रण गर्न नसके जिल्ला भरीकै कृषकहरु प्रभावित हुने बताइएको छ । कृषकहरुले समयमा रोगको नियन्त्रणका लागि पहल गरीदिन आग्रह गरेका छन् । ब्लास्ट रोगको संक्रमण भएको पुष्टि भएका कृषकहरुलाई हिनोसान नामक विषादीको प्रयोग गर्नु पर्ने कृषी प्राविधिकको सुझाव छ । जिल्लामा १४ हजार हेक्टर क्षेत्र जमिनमा धान खेती गरीदै आएको छ ।


, ,

0 comments

Write Down Your Responses