Powered by Blogger.
तत्काल संचार सेवा सुचारु गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन



सिन्धुली २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्लामा सञ्चारको पहुँच विस्तार गर्न तत्काल आवश्यक काम गर्न निर्देशन दिएको एक साता नवित्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जिल्लामा सञ्चार क्षेत्रको अवस्थाबारेमा अवलोक गरेका छन् ।
 उनले जिल्लाका ग्रामिण क्षेत्रमा टेलीफोन लगायतका सञ्चार सेवा नियमित सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
जिल्लाका ग्रामिण क्षेत्रमा संचारको पहुँचको विस्तारका लागि उनले नेपाल टेलीकमलाई निर्देशन समेत दिएका छन् । 
यही मंसिरको ९ गते जिल्लाको कपिलाकोटमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यस क्षेत्रमा तत्काल नेपाल टेलीकमको मोवाइल सेवा सञ्चालनका लागि निर्देशन दिएका थिए । त्यसको एक साता नवित्दै जिल्ला भ्रमणमा आइपुगेका सञ्चारमन्त्री कार्कीले जिल्ला सदरमुकामा टेलीफोन तथा थ्रिजी सेवाका साथै जिल्लामा ग्रामिण क्षेत्रमा मोवाइल सेवा विस्तार गर्न निर्देशन दिएका हुन् ।
सिन्धुलीको जरायोटार गाउँ विकास समितिमा गत बुधवार आयोजित एक कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सिन्धुलीको लाम्पान्टार गाउँ विकास समिति ३ सिकारी डाडामा एन टिसिको टावर निमार्ण भएको एक बर्ष विति सक्दा पनि सञ्चालनमा नआएको गुनासो आएकाले अवको दुई महिनामा तिनपाटन क्षेत्र र मरिण क्षेत्रका जनतालाई सञ्चार सुविधा पु¥याउने विश्वास दिलाए ।
नेपालका जनजाती, आधिबासि र महिलाको विश्वास नलिएसम्म कुनै पनि व्यवस्था स्थायी नहुने भन्दै दलहरुले जनताको माझमा गएर विश्वास जित्नुपर्ने उनले बताए ।
नेपाल टेलीकमद्धारा निर्माणाधिन दर्जनौं टावर जिल्लामा अलपत्र परेका छन् । दुर सञ्चार सेवा प्रदायक सरकारी संस्था नेपाल टेलिकम र मोवाइल टावर निर्माण कम्पनीको लापरवाहिका कारण जिल्लाका दर्जनौं स्थानमा निर्माण हुन लागेका जिएसएम मोवाइल टावर २ वर्ष देखी अलपत्र परेका हुन ।
आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण कार्य सुरु गरिएको मोवाइल टावर झण्डै ३ बर्ष बित्दा समेत निर्माण सम्पन्न् हुन सकेको छैन् । समयमा मोवाइल टावरको निर्माण कार्य पुरा नहुँदा सेवाग्राहीहरु मारमा परिरहेका छन ।
विगत वर्ष भारतले गरेको अघोषित नाकाबन्दी र तराई बन्दका कारण निर्माण कार्यमा ढिलाइ भएको भनिए पनि अहिले सम्म निर्माण कार्य सुरु हुन सकेको छैन । जिल्लाका २० स्थानमा निर्माणाधीन अवस्थामा रहेका जिएसएम मोवाइल टावर मध्ये दुई वर्षमा ५ वटा मात्र निर्माण सम्पन्न् भएर सञ्चालनमा आएका छन भने अन्य १५ वटा अलपत्र अवस्थामा रहेका छन ।
यस्ता टावर एक वटाकै कम्तीमा एक करोड रुपैयाँ लागत छ । उक्त टावरहरु निर्माणका लागि चिनीया कम्पनी हुवावेले जिल्लाको २० स्थानमा जिएसएम टावर निर्माण गर्ने जिम्मा पाएको थियो । उक्त कम्पनीले दुई वर्षभित्रै निर्माण सम्पनन गर्नु पर्ने भएपनि निर्माण लापरबाही गरीरहेको आरोप छ ।
त्यस्ता टावरहरुको पनि तत्कालनै निर्माण सम्पन्न गरी सेवा सूचारु गर्न नेपाल टेलीकम शाखा सिन्धुलीलाई मन्त्री कार्कीले निर्देशन दिएका छन् ।
जिल्लाको हरीहरपुरगढी, पिपलमाढी, क्यानेश्वर, कपिलाकोट, बस्तीपुर, डाडीगुरासे, महादेवस्थान, मझुवा, झा.रा., कुशेश्वर दुम्जा, खाङसाङ्ग, भिमस्थान, लाम्पान्टार, रतनचुरा, तिनकन्या, अरुणठाकुर र कमलामाई नगरपालिकामा जिएसएम टावर निर्माण थालिएको थियो । निर्माणाधीन मध्ये झारा, कमलामाई नगरपालिकाका विभिन्न ३ स्थानका र भिमस्थानको टावर सञ्चालनमा आइसकेको टेलीकम सिन्धुलीका प्राविधिक नवराज कार्कीले बताए । उनले भने, ‘निर्माणाधिन अवस्थामा रहेका टावरहरुको निर्माणकार्य छिटो सुरु गर्न निर्माण कम्पनीलाई भनिएको छ । कार्यालयले पनि आवश्यक प्रक्रिया अघि बढाएको छ ।’ टावर निर्माण कार्य सम्पन्न् भएपछि जिएसएम मोवाइल प्रयोगकर्ताहरुले जिल्लाभरी जुन सुकै क्षेत्रबाट सेवा प्रयोग गर्न सक्ने छन ।
हाल जिल्लामा नगरपालिका क्षेत्रमा ६ र  हर्षाही, दुधौली, हत्पते, भिमेश्वर, झा.रा., भिमस्थान र भद्रकालीमा सहित जम्मा १३ वटा जिएसएम मोवाइल टावर सञ्चालनमा रहेका छन भने मझुवा, हरिहरपुरगढी, झा.रा., खोलागाउँ, वेलघारी, ककुरठाकुर, महादेवस्थान गाविसमा स्काई मोवाइल टावर सञ्चालनमा रहेका छन् । कमलामाई नगरपालिका क्षेत्रमा भने सिडिएमए, वाईम्याक्स र लैन्डलाईन सेवाको टावर समेत सञ्चालनमा रहेका छन ।
नेपाल टेलिकम सिन्धुलीको असार मसान्त सम्मको तथ्याङक अनुसार जिल्लामा जिएसएम पोष्टपेड मोवाइल प्रयोगकर्ता ५७६ प्रिपेड प्रयोगकर्ता ३५ हजार ७९८, स्काई मोवाइलको पोष्टपेड प्रयोगकर्ता ६३६ प्रिपेड १३ हजार ४८४ सिडिएमएको पोष्टपेड प्रयोकर्ता ९८, प्रिपेड प्रयोगकर्ता १ हजार ९२२ र लैन्डलाइन प्रयोगकर्ता १ हजार ३६१ रहेका छन । त्यस्तै इन्टरनेट सेवा एडिएसएल ग्राहक संख्या २४७ र वाइम्याक्स प्रयोगकर्ता ६६ रहेका छन ।
जिल्लामा पछिल्लो समय नेपाल टेलिकमबाट प्रदान गरिने मोवाइल तथा इन्टरनेट सेवा प्रभावकारी हुन नसक्दा र ग्रामीण क्षेत्रमा समयमै मोवाइल टावरको निर्माण कार्य हुन नसक्दा सेवाग्राहीहरु निजी मोवाइल सेवा कम्पनि एनसेल र स्मार्टको मोवाइल सेवा लिन बाध्य भएका छन भने जिल्लाको जुन क्षेत्रमा पनि सेवा लिन सकिने भएकाले त्यसतर्फ आकर्षित समेत हुँदै गएका छन ।


,

0 comments

Write Down Your Responses