Powered by Blogger.
निर्दोष व्यक्तिलाई फसाउने सिलवालमाथी कारबाही होला ?

माघ,काठमाडौं । नेपालको प्रमुख सुरक्षा संगठनमध्येको नेपाल प्रहरीको नयाँ आइजिपी को भन्नेबारेको चर्चाले यतिबेला बजार तातेको छ । जनतासंग प्रत्यक्ष सरोकार राख्ने नेपाल प्रहरीको भावि आइजिपी कस्तो पृष्ठभुमीबाट आएको व्यक्ति बन्ला भन्ने चासो रहनु स्वभाविकै पनि हो । फागुन २ गते हालका आइजिप उपेन्द्रकान्त अर्यालसहित सबै एआइजीले अनिवार्य अवकाश पाउने भएपछि शीर्ष स्थानमा रहेका ४ जना डिआइजीमध्ये एकजना सिधै आइजिपी बन्नेछन् । 

डिआइजी  नवराज सिलवाल,प्रकाश अर्याल ,जयबहादुर चन्द र बमबहादुर भण्डारीध्ये एकजनाले नेपाल प्रहरीको भावि कमाण्ड सम्हाल्ने निश्चित छ । तर नेपाल प्रहरीका डिआइजी नवराज सिलवालको यस्तो एउटा रहस्य छ जो सुनेपछि जोकोही पनि चकित पर्न सक्छ । मिडियामा सेलिब्रेटी झै छाउन रुचाउने डिआइजी नवराज सिलवालले आफ्नो पदको दुरुपयोग गर्दै निर्दोष व्याक्तिलाई फसाएर जेलमा हालेका छन् । पद र पावरको दुरुपयोग गरेर उनले गरेका हर्कतप्रति गृहमन्त्रालय र प्रहरी हेडक्वार्टर समेत जानकार छ । तर उनीमाथी कार्वाही हुदैन ।  यसअघि प्रहरी प्रधान कार्यालयले केन्द्रिय अनुसन्धान ब्यूरो सिआईवी मा कार्यरत डीआईजी नवराज सिलवालसहित झण्डै आधा दर्जन प्रहरी अधिकारीमाथि पदीय अधिकारको दुरुपयोग गरेको भन्दै छानविन गर्ने तयारी समेत गरेको थियो । 

बैंकिङ कसुरको मुद्दामा हाल भीमफेदी कारागारमा सजाय काटिरहेका चितवन भण्डाराका गुनबहादुर थापा शम्भुलाई विनाकसुर गैरकानुनी रुपमा हिरासतमा लिई मानव ओसारपसारमा मुद्दा चलाएको भन्दै उजुरी परेपछि हेडक्वार्टले छुट्टै छानविन समिति गठन गर्ने तयारी पनि गरेको थियो । तर घटनाको छानविन भएन । आफुलाई स्वच्छ छविको प्रहरी आइजिपी बनाउने उपेन्द्रकान्त अर्यालले किन एकाएक आखा चिम्ले रहस्यको विषय छ । आइजिपी अर्याललाई डिआइजी सिलवालका सबै हर्कत र पदिय दुरुपयोगका सबै घटनाबारे राम्रै जानकारी पनि छ । उनले यसबारे पीडितका आफन्तसंग पटक–पटक भेटिपनि सकेका छन् । तर कुनै एक्सन लिन पनि उनी तयार हुदैनन् । 
थापाका परिवारले आईजीपीको सचिवालयमा उजुरी समेत हालेका छन् । 



सीआईवी प्रमुख सिलवाल र थापाबीच लामो समयदेखि लेनदेनको कारोबार चल्दै आएको र सिलवालले थापाबाट करोडौं असुलेर पनि उल्टै बैंकिङ कसुर र मानव ओसार मुद्दामा फसाएको भन्दै थापाको परिवारले उजुरी हालेको थियो ।उजुरीपछि प्रहरी हेडक्वार्टरले थालेको गोप्य अनुसन्धानका क्रममा थापामाथि बैंकिङ कसुरको मुद्दा चलिरहेपनि इटहरीमा उनी विरुद्ध परेको मानव ओसारपसार मुद्दा भने झुटा रहेको खुलेको स्रोतको दावी छ । 

दुई वर्षअघि पनि थापाले सिलवालविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका थिए । प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा सुपरिवेक्षण महाशाखाले गृहमन्त्रालयबाट २०७१ मंसिर ६ गते पत्रका साथमा निवेदन प्राप्त भएको उल्लेख गरी मंसिर १२ मा नै अनुसन्धान सम्पन्न गरी जवाफ पठाएको थियो । त्यसमा डिआईजी सिलवालका विषयमा छानविन हुँदा सिलवालको थापासँग कुनै सम्बन्ध, आर्थिक कारोबार तथा लेनदेन भएको प्रमाणित तथ्यहरु नभएको उत्तर पठाएको देखिन्छ ।  

तर त्यसमाबारे अध्ययन गर्दा पीडित पक्षसंग कुनै कुरा नै गरिएन । यहाँसम्मकी सिलवाल र थापाबीचको अडियो कुराकानी समेत नक्कली भएको दाबी गरियो ।  तर सिलवाललाई बचाउनका लागि छानविन समितिले उजुरीकर्ता अर्थात पीडितसंग  सामान्य बयान समेत नलिइ अडियो नै प्रमाणित नगरिकन कसरी सिलवाललाई सफाइ दिइयो । पीडित फेरि उजुरी हालेपछि  मन्त्रालयले  पुनः अनुसन्धान थाल्दा यसमा सिलवालसहित केही डीआईजी, उक्त महाशाखाका तत्कालिन प्रमुख र एसपी नै दोषि देखिएको स्रोतको दावी छ ।

सामान्य बयान समेत नलिइ एकतर्फी अनुसन्धान गरेर एउटा प्रहरी अधिकारीविरुद्ध प्रहरीले नै अनुसन्धान गर्दा थापालाई एक पटक पनि बयानका लागि नबोलाइएको र ६ दिनमै कसरी सम्पूर्ण विषयमा अनुसन्धान गरी जवाफ पठाइयो भन्दै उनका परिवारले उजुरी हालेपछि हेडक्वार्टरले गहिरो अनुसन्धान थालेको थियो ।  यतिमात्रै होइन,उजुरीमा चितवनमा लेनदेनको मुद्दा छ भन्दै सिलवाल नै प्रमुख रहेको सीआईवीको टोलीले बैशाख १२ गते गैरकानूनी रुपमा ललितपुरबाट पक्राउ गरी चितवन प्रहरीलाई जिम्मा लगाएर पुनरावेदन अदालत हेटौंडामा पठाउनुको कारण के हो ? प्रश्न समेत गरिएको छ । यो प्रकरणमा पनि सिलवालले चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरलाईसमेत दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको थियो । 

यसअघि डीआईजी सिलवालले बाँच्न पाउने अधिकारको हनन् गरेको भन्दै थापा नेतृत्वको पीडित संघर्ष समितिले २०७२ चैत २२ गते पत्रकार सम्मेलन नै गरी डीआईजी सिलवालमाथि कारबाहीको माग गरेको थियो । 

डीआईजी सिलवालले रकम ब्याजमा लगाएर ५ सय प्रतिशत भन्दामाथि रकम असुल्ने गरेको, विभिन्न बहानामा चर्को ब्याज असुली उल्टै धम्क्याउने र झुटा मुद्दा लगाई फसाउने गरेको कुरा थापाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । तर, यस बारेमा सिलवालले मुख खोलेका छैनन् । न कुनै प्रतिक्रिया नै दिएका छन् । उनले यो विषय झुठो भएको दावी गर्दै आएपनि घटनाको गहिराइमा उनको संग्लनता प्रष्ट देखिन्छ । 
डीआईजी सिलवालबाट आफूले लिएको ऋण भुक्तानी गरेको र अर्को साथीलाई दिएको ऋण जमानी बसेर भुक्तानी गर्दा पनि रकम नदिएको भन्दै विभिन्न वहानामा सिलवालले झुटो मुद्दा लगाई फसाउने गरेको र बाध्य भई पत्रकार सम्मेलन गरेको थापाले बताएका थिए ।

थापाको परिवारले हेडक्वार्टरमा हालेको उजुरीमा भनिएको छ –‘२०६६ मंसिर २६ गते सिलवालबाट १ करोड रुपियाँ छ महिनाका लागि बुबाले सापटी लिनु भएको थियो । २०६६ माघ १४ गते सिलवालकै नजिकको ब्यक्ति कोमलकुमार श्रेष्ठलाई सिलवालले २ करोड रकम हप्ताको २० लाख ब्याज पाउने गरि दिँदा बुबालाई जमानी बस्न लगाएका थिए । श्रेष्ठलाई ऋण दिने बेलामा एक हप्ताका लागि समस्या परेकोले जमानी बस्न सिलवालले नै कर गरेपछि बुबा जमानी बस्नु भएको थियो । तर, जमानी बस्दा आफ्नो साझेदारको नाममा रहेको मकवानपुर ज्यामिरेको राजमार्गमा जोडिएको १ विघा जग्गा, तत्कालीन अवस्थामा २ करोड र हाल ३ करोड मूल्याङ्गकन हुने तथा काभ्रे जिल्लाको धुलिखेलको अरनिको राजमार्गमा रहेको ६ रोपनी जग्गा ९तत्कालीन अवस्थामा साढे २ करोड हाल चार करोड मूल्यांकन हुने जग्गा धितो राखेर जमानी बस्नु भएको थियो । बुबाले आफूले लिएको १ करोड रुपियाँको १ सय १० प्रतिशत ब्याज अर्थात् महिनाको ९ लाख लिने गरि रकम दिएकोमा ५ महिनाको ४५ लाख र मिति २०६७ जेठ २९ गते साँवा सहित एक महिनाको ब्याज गरेर १ करोड नौ लाख गरी छ महिनामा १ करोड ५४ लाख भुक्तान गरिसक्नु भएको छ ।’

उजुरीमा अगाडी भनिएको छ – ‘अहिलेसम्म सिलवाललाई बुबाले ३ करोड साँवाको पटक–पटक गरी ४ करोड ७६ लाख रुपैयाँ तिर्दा समेत अनेक षड्यन्त्र गरेर फसाउने काम भएको र ५ सय प्रतिशत भन्दा बढि ब्याज असुल गरेको, रकम तिर्दा पनि त्यसबाट छुटकारा नदिएपछि राज्यको सम्बन्धित निकायमा पटक–पटक सिलवालसमेतका विरुद्ध उजुरी दिंदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर उजुरी दिएका छौं ।’
तर यस्तो सम्वदेनशिल विषयमाथी छानविन गरेर सत्यतथ्य किन बाहिर ल्याइदैन,गम्भीर प्रश्न उब्जीएको छ । नेपाल प्रहरीको आइजिपी बन्ने लाइनमा रहेका नवराज सिलवालमाथी लागेको आरोप सामान्य आरोप होइन । गृहमन्त्रालयले यो विषयमा छानविन गरेर सिलवाल दोषी होइनन् भने क्लीन चिट दिने हिम्मत गर्नुपर्छ यदि पीडितको आरोप प्रमाणित भए किन कार्वाही नहुने ? 


0 comments

Write Down Your Responses