Powered by Blogger.
स्थानीय चुनावमा भोट कसरी हाल्ने ? पढ्नुहोस् ध्यानदिनुपर्ने ४ कुरा



एक व्यक्तिले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने


सिन्धुली । स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र कस्तो होला ? एकजनाले कति ठाउँमा छाप लगाउनुपर्ला ? यसबारे धेरै मतदाताहरु अझै पनि दुविधामा छन् । मतदान गर्न करिब ५० दिनमात्र बाँकी रहँदा मतदाताहरुमा मतदान प्रक्रियाबारे अझै अन्योल हटेको छैन । उसोभए आगामी निर्वाचनमा कसरी मतदान गर्ने त ? यहाँ केही टिप्सहरु दिइएको छः

१. मतदाता नामावलीमा नाम नभए उजुरी गर्नोस्

सबैभन्दा पहिले तपाईले आफ्नो नाम मतदाता नामावलीमा भए नभएको निश्चित गर्नुपर्ने हुन्छ । तपाईले ०७० को निर्वाचनमा मतदाता परिचय पत्र पाए पनि अहिले लिष्टमा नाम नहुन पनि सक्छ । त्यस्तो भएमा तत्काल निर्वाचन आयोगमा उजुरी दिनुपर्ने हुन्छ ।

यदि तपाईको नाम मतदाता नामावलीमा छ भने अब तपाईले भोट दिन पक्का पाउनु हुनेछ । तर, ०७० सालपछि मात्रै यदि तपाइले फोटोसहितको मतदाता नामावली दर्ता गराउनु भएको थियो भने तपाईको नाम निर्वाचन आयोगको वेभसाइटबाट अहिल्यै हेर्न सकिँदैन । त्यस्तो नामावलीको अध्यावधिक भइरहेकाले अहिले नै आयोगले सार्वजनिक गरेको छैन । त्यसका लागि केही दिन कुर्नुपर्छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार नयाँ अध्यावधिक नामावली हेर्न कम्तिमा चैत २० गतेसम्म कुर्नुपर्नेछ ।

२. मतदान केन्द्र हेर्नुस्

निर्वाचन आयोगले मतदाता नामावलीमै तपाईको निर्वाचन केन्द्र तोकेको हुन्छ । तर, अहिले निर्वाचन आयोगको वेभसाइडमा तपाईले भेट्ने मतदाता सूचीमा तपाईको मतदान केन्द्र जुन लेखिएको छ, अब त्यो लागू नहुन सक्छ र फेरिएको पनि हुन सक्छ । त्यो मतदान केन्द्र ०७० सालमा सम्पन्न दोस्रो संविधानसभाका लागि मात्र तोकिएको थियो । अब हुने स्थानीय निर्वाचनका लागि आयोगले मतदान केन्द्रहरु हेरफेर गरेको छ ।

तपाईले नयाँ अद्यावधि गरेको मतदाता नामावलीमा मात्र अगामी निर्वाचनमा तपाईले मतदान गर्ने मतदान केन्द्र तोकिएको हुन्छ । बैशाख ३१ गते तपाइले तोकिएको मतदान केन्द्रमा गएर मात्र मत दिन सक्नुहुनेछ ।

३. भोट कसरी हाल्ने ?

मतदाता नामावलीमा तपाईको नाम निश्चित भएपछि अब तपाईले मतदान कसरी गर्ने भन्ने जान्नुपर्ने हुन्छ । ०६० र ०७० सालको निर्वाचनमा जस्तो तपाईले दुईवटा फरक मतपत्रमा मत दिनुपर्दैन । अब एउटामात्रै मतपत्रबाट आफ्ना उम्मेदवार चयन गर्न सक्नुहुनेछ ।

तपाईले सेतो कागजमा रातो अक्षर प्रिन्ट गरेको मतपत्र पाउनु हुनेछ । त्यसमा २७ वटा दलको पार्टीको चुनाव चिन्ह हुन्छ । सबैभन्दा माथि नेपाली कांग्रेसको चुनाव चिन्ह हुन्छ । दोस्रोमा एमाले र, तेस्रोमा माओवादी केन्द्रको चुनाव चिन्ह हुन्छ ।

२७ नम्बरपछि स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह राखिएको हुन्छ । दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारमध्ये अब तपाईले कसलाई मत दिन चाहेको हो, त्यसलाई मत दिन सक्नुहुन्छ ।

मतपत्रमा क्रमश गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र चारजना सदस्यको नामहरु क्रमशः हुन्छ । तपाईले आफूले चाहेको उम्मेद्वारलाई मत संकेत गर्न सक्नुहुनेछ ।

तपाईले स्थानीय तहको चुनावमा सात जना उम्मेद्वारका लागि भोट हाल्नुपर्छ । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र चारजना सदस्यहरु गरी ७ जनालाई भोट दिनुपर्ने हुन्छ । वडा सदस्यहरुमा एकजना दलित महिला उम्मेद्वार, एकजना महिला उम्मेद्वार र तीनजना पुरुष वडा सदस्यलाई भोट हाल्नुपर्छ ।

नगरपालिका वा महानगरपालिकामा पनि त्यसैगरी सात जनालाई नै भोट हाल्नुपर्छ । नगरपालिकाहरुमा मेयर, उपमेयर, वडा अध्यक्ष र चार जना सदस्यहरुलाई भोट हाल्नुपर्छ ।

४. अझै बुझिएन ?

तपाईले मतदान गर्ने तरिका अझै बुझ्नुभएको छैन ? यदि त्यस्तो हो भने चिन्ता गर्नु पर्दैन । निर्वाचन आयोगले चैत २८ गतेदेखि देशभर एकै चोटि कम्तिमा २१ हजार मतदाता शिक्षा स्वयम्सेवक परिचालन गर्दैछ । उनीहरुले तपाईलाई कसरी मतदान गर्ने भन्नेकुरा सिकाउने छन् । ती स्वयम्सेवकसँग नमूना मतपत्र हुनेछ । र, उनीहरुले कसरी मतपत्र लिने र आफ्ना उम्मेदवारहरुलाई भोट दिने कुरा सिकाउनेछन् । यस्तै दलका प्रतिनिधिले समेत यो कुरा सिकाउनेछन् ।

गत ०७० सालको निर्वाचनमा करिब ८ हजारमात्रै मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरेकोमा निर्वाचन आयोगले यस निर्वाचनका लागि भने कम्तिमा २१ हजार मतदाता शिक्षा स्वयम्सेवक परिचालन गर्न लागेको हो । निर्वाचन प्रणालीको कठिनाइ र छोटो समयमा निर्वाचन गर्नुपर्ने भएकाले आयोगले धेरै मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरि मतदाता शिक्षा प्रभावकारी बनाउने रणनीति बनाएको हो ।


,

0 comments

Write Down Your Responses