Powered by Blogger.
पुनर्निर्माणमा पानीको अभाव



सिन्धुली २१, जेठ । जिल्लामा भुकम्पले ध्वस्ता बनाएका आवासहरु पुनर्निर्माणका लागि पहिलो किस्ता रकम सरकारले उपलब्ध गराएपनि पानी अभावले अधिकांस पिडितले घरको जगनै राख्न नपाएको गुनासो गरेका छन् ।
जिल्लाको महाभारत तथा सुनकोसीगढतिरका हजारौ भुकम्प पिडितहरुले पानीको अभाव हुँदा घरको जग बसाल्ने नपाएको बताएका हुन् । ‘घरमा खाने पानी नै अभाव छ । घण्टौंको बाटो हिडेर खानेपानीको जोहो गर्ने गरेका छौं, घर बनाउँन त कुनै पनि उपाय नै भएन,’ जलकन्या ९, का श्यामबहादुर गजमेरले दुखेसो सुनाउँदै भने ।
‘मान्छे र बस्तुभाउको लागि त दुःखसुख चलाएको भएपनि पानी बोकेर घर बनाउँनै नसकिने भएपछि पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझेर पनि घर निर्माण सुरु गर्न सकिएन,’ उनले भने ।
गाउँभरीका झण्डै ५५ घरधुरीमा खानेपानीकै समस्या छ । बर्खाको समयमा चार महिना गाउँको धारामा पानी आएपनि अन्य समयमा सुख्खा हुने गरेको छ । टाढाबाटै पानी ढुवानी गर्नपनि गाउँमा मोटरबाटौ नभएका कारण मान्छेले बोकेर सम्भावना नहुने भएपछि वर्खा कुरेर बसेको उनले बताए ।
उनी जस्ता गाउँका कसैले पनि पानिको अभावका कारण घर बनाउन थालेका छैनन् । उता दुम्जा, झाँगाझोली रातमाटा, पुरानो झाँगाझोली, कपीलाकोट, सितलपाटी, मझुवा, रतनचुरा, बाशेश्वर, भुवनेश्वरी, डुडभन्ञ्याङ लगायतका गाविसहरुमा पनि घर निर्माणका लागि पानीको अभाव भएको बताइएको छ ।
यी गाविसका झण्डै नौं हजार भुकम्प पिडितहरुले पानीको अभाव हुँदा घर निर्माण गर्न नसकेको बताएका छन् । भुकम्पले अति प्रभावित यी गाविसहरुमा भुकम्पकै समयमा खानेपानीको समेत मुहान सुकेपछि पानीको अभाव खड्कीदै गएको भुवनेश्वरी १ ग्वाल्टारका गौरव कार्कीले बताए ।
‘गाउँका अधिकांसले पानी नहुँदा घर निर्माण गर्न सकेका छैनन्,’ उनले भने, ‘खानका लागि जिनतीन पानी बोकेर चलाएपनि घर निर्माणका लागि ज्यादैनै मुस्कील भयो ।’
गाउँका धारा सबै सुकेका छन् । पोखरी र खोलामा पनि पानी छैन । जंगल र पहाडी भागामा बसोबास गर्नेहरुलाई त खाने पानीको जोहो गर्नै मुस्कील भएको छ । जिल्लाको रतनचुरा गाविस ४, का (हाल गोलन्जोर गाउँपालिका) निर्मलकुमार रम्तेलका अनुसार हालसम्म एक जनाले पनि पुनर्निर्माणको काम सुरु गर्न सकेका छैनन् । गाउँमा खानेपानीका मुहान सबै सुकेपछि पुनर्निर्माणका लागि पानीको अभाव भएकोले यस्तो अवस्था आएको रम्तेलले बताए । 
भुकम्पका बेला जिल्लाका महाभारत क्षेत्रमा मात्रै झण्डै २ सयबटा खानेपानीको मुहानहरुमा क्षेती पुग्दा खानेपानीको समस्या भएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको भनाई छ । यस्तो मुहानहरुको पुनर्निर्माण र संरक्षण गर्न नसक्दा जिल्लामा खानेपानीकै समस्या धेरै रहेको उल्लेख छ ।
समयमा घरको पुनर्निर्माण गर्न नसक्दा यस पालिको वर्षातको सयमा पनि टहरोमै विताउनु पर्ने अवस्था आउन सक्ने भन्दै पिडितहरु चिन्तीत भएका छन् । वर्षातमा आकाशे पानीको भरमा घर बनाउनु पर्ने बाध्यता भएकाले अधिकांसले वर्षात अघिनै सुरक्षित घर निर्माण गरि बस्ने अवस्था टर्दै गएको पिडितहरुको गुनासो छ । 



, ,

0 comments

Write Down Your Responses