Powered by Blogger.
सिन्धुलीको कमलाखोंचमा ‘धान ब्लक’ महाभारतमा ‘जुनार जोन’


सिन्धुली २१, जेठ । दिगो, आत्मनिर्भर तथा व्यावसायीक कृषिको विकास गर्न सरकारले सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जिल्लामा आफ्नो काम सुरु गरेको छ । परियोजनाले जिल्ला कार्यान्वयन इकाइ कार्यालयको स्थापना गरी काम सुरु गरेको हो ।
कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बृद्धि गराउने उद्धेश्यले व्यावसायिक कृषि उत्पादन केन्द्र अन्तरगत कमलाखोंचको सिर्थौलीमा ‘धान ब्लक’ तयार गरिएको छ । ब्लक मार्फत धानको विउ उत्पादन, खरिद विक्री, मल खरिद, कृषि औजार उत्पादन, मर्मत र विक्री गरिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनायो । 
जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख होमराज विष्टका अनुसार दुधौली नगरपालीकाको सिर्थौलीमा सञ्चालन गरिएको धानको ब्लक कार्यक्रममा स्थानीय १ सय २० जना कृषकहरु आबद्ध छन् । 
‘धान ब्लकमा आबद्ध कृषकहरुलाई परियोजना अन्तरगत खनजोत गर्न, बाली लगाउन, गोड मेल गर्न, वाली भित्राउन, बाली भण्डारन गर्न सहयोग तथा अनुदान प्रदान गरिने छ,’ उहाँले भन्नु भयो । कमलाखोंच क्षेत्र धान उत्पादनका दृष्टिले जिल्लाकै महत्वपूर्ण क्षेत्र मानिन्छ ।
ब्लकमा प्रति हेक्टर ३ दशमलव २८ टनमा १० प्रतिशत थप गरी धान उत्पादन गर्नु पर्ने उहाँको भनाई छ । १० प्रतिशत थप गरेर धान उत्पादन गरेमा कार्यालयले किसानलाई प्रति हेक्टर ५ हजारका दरले अनुदान दिइने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएका क्षेत्रमा सिचाईमा ८५ प्रतिशत, मेसेनरी औजारमा ५० प्रतिशत, खाद्यान्न भण्डारन निर्माणमा ५० प्रतिशत अनुदान दिईने उहाँको भनाई रहेको छ । 
उता परियोजना अन्र्तगत चालु आर्थिक वर्षमा गोलन्जोर गाउँपालिका अन्तरगतका रतनचुरा, बासेश्वर र तिनकन्यामा जुनार बालिको व्यवसायीक कृषि उत्पादन तथा प्रशोधन केन्द्र( जुनार जोन) विकास कार्यक्रम सञ्चालन थालिएको छ । जुनार क्षेत्रको आधुनिकीकरण सँगै त्यसको विकासका लागी विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विष्टले जानकारी दिनु भयो । यो क्षेत्र सिन्धुलीको जुनार क्षेत्रको रुपमा स्थापित छ ।
‘सरकारले सुरु गरेको २० वर्षे कृषि विकास रणनीति अन्र्तगत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न उन्नत कृषि सामाग्री र प्रविधिको प्रयोग, कृषि यात्रिकिरण, कृषि उपजको स्याहार, प्रशोधन, गुणस्तर नियन्त्रण, बजार व्यवस्थापन तथा प्राविधिक शिक्षा समेतको संयोजन गर्दै समग्र कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले १० वर्षे प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना सुरु गरिएको छ,’ उहाँले थप्नु भयो ।
जिल्लामा जुनार जोन कार्यक्रम सञ्चालन भएपछि अव थप पाँच सय हेक्टर क्षेत्रमा जुनारबाली विस्तार गरिने छ । हाल जिल्लामा १३ सय हेक्टर क्षेत्रफलमा जुनार खेती गरिँदै आएको छ । कार्यक्रम लागुपछि जिल्लामा १ हजार आठ सय हेक्टर क्षेत्रफलमा जुनार खेती गरिने छ ।
‘कार्यक्रमले तिनकन्या गाविसमा २ हजार ८ सय ८४ रोपनी, रतनचुरामा २ हजार ७ सय ९१ रोपनी र बाशेश्वर गाविसमा १ हजार ३ सय ६३ रोपनी क्षेत्रफलमा लगाइएको जुनार बगैचाको अवलोक, संरक्षण र विस्तार गर्ने छ,’ विष्टले भन्नुभयो ।
हाल जुनार खेती गर्दै आएका कृषकहरु मध्ये कम्तीमा ५०÷५० जना कृषकहरुको जुनार बंगैचालाई एकिकृत गरी सामुहीक खेतीमा सहयोग गर्नेगरी परियोजनाले काम थालेको जुनार सहकारी संघ सिन्धुलीका अध्यक्ष निर्मलकुमार रम्तेलले बताउँनु भयो ।
उहाँका अनुसार गाउँमा जुनार बैगैचाको एकिकरणकार्य सुरु गरिएको छ । जुन परियोजनाका लागि परियोजना कार्यान्वयन इकाइ भन्दै सिन्धुलीको रतनचुरा स्थित खनियाखर्कमा कार्यालय सञ्चालन थालिएको छ । सरकारले आफ्नै श्रोत, साधन र जनशक्ति परिचालन र गरि चालु आव ०७३÷०७४ देखी आगामी १० वर्षसम्मका लागि देशका ७५ वटै जिल्लामा ‘प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना’ सञ्चालनमा छ । यस्तै उक्त परियोजना अन्तरगत जिल्लामा मकै बालीको विकासका लागि मरिण गाउँपालिाका अन्तरगत कपीलाकोटमा मकै जोन कार्यक्रम सञ्चालन गरिने बताइएको छ । 



, ,

0 comments

Write Down Your Responses