Powered by Blogger.
सिन्धुलीको खुर्कोट बजार फोहोरले अस्तव्यस्त


सिन्धुली,२६ जेठ– नेपालकै १० नमूना शहर मध्य एक शहरको रुपमा विस्तार भइरहेको सिन्धुलीको खुर्कोट बजार फोहोर ब्यवस्थापन हुन नसक्दा दिनदिनै अवस्तब्यस्त बन्दै गएको छ ।
राजधानी काठमाडौसँग तराई र पूर्वि नेपाललाई समेत जोड्ने विपी राजमार्गमा रहेको खुर्कोट बजार फोहोरले दिनानुदिन विरुप बन्दै गएको हो ।
गोलञ्जोर गाउँपालिका–७ मा पर्ने खुर्कोट बजार शहरी विकास तथा भवन निर्माण विभागले नमूना शहर निर्माणको लागि काम गरिरहेको छ । झट्ट हेर्दा नारायघाट मुग्लिन बजारजस्तो देखिने खुर्कोटको माथिल्लो बजारमा सुविधा सम्पन्न होटल रेष्टुरेन्ट, होलसेल खाद्यन्न, हार्डवेयर, इलेक्ट्रिोनिक लगायतका व्यवसायहरु सञ्चालनमा छन् ।
खुर्कोट बजारमा अस्पताल, वैंक तथा वित्तीय संस्था, विद्यालय, इलाका प्रहरी लगायतका कार्यालयहरु समेत रहेका छन् । नयाँ शहर आयोजनाले खुर्कोटलाई नमूना शहरको रुपमा विकास गर्न कार्यालय नै स्थापना गरेर शहर विस्तारको कार्य गरिरहेको छ ।
आयोजनाले अति आवश्यक भौतिक पूर्वाधार सडक विस्तार एवं स्तरोन्नती, एकीकृत सरकारी कार्यालय भवन, खेलमैदान स्तरोन्नती, सार्वजनिक मञ्च, पार्क लगायतका संरचनाहरु निर्माण गरिरहेको छ ।
दीगो र व्यवस्थित नमूना बजार निर्माणको लागि ६ सय ७८ रोपनी जग्गा रोक्का गरि प्लानिङ्गको काम समेत आयोजनाले गरिरहेको छ । बजारमा उत्पन्न हुने फोहोरमैला र अस्थव्यस्तालाई व्यवस्थित गर्न बजार व्यवस्थापन समिति समेत गठन गरिएको भए पनि ब्यवस्थापन भने हुन सकेको छैन ।
बजारमा जथाभावि फालिएको विस्कुट, चाउचाउको खोल, पानीका रित्ता बोतल, प्लास्टिकका झोला लगायत विस्कुन सुकाएझै देखिने फोहोरले बजारको स्वरुप नै विगारेको छ ।
उता ढल निकासाको लागि बनाइएको नाली पनि फोहोरले भरिएर दुर्गन्धित भएको छ । नालीको ढल गन्हाएर बजारमा बसिसक्नु नभएको स्थानीय भोला न्यौपानेले बताउनुभयो । दिलबहादुर बस्नेतको भनाई पनि उस्तै छ । उहाँले भन्नुभयो– उसै त गर्मीको समय नालीको ढलको गन्धले रोग ब्यादी फैलने त्यतिकै डर छ ।
पानी पर्दा नालीमा जम्मा भएको दुर्गन्धित फाहोर बजार भरी जाने गरेको र हावा चल्दा प्लाष्टिकजन्य फोहोरहरु उडाएर अर्को ठाउँमा थुप्रिदा सिंगो बजार नै प्रदुषित बनाउने गरेको स्थानीय व्यापारी जितबहादुर श्रेष्ठले गुनासो गर्नुभयो ।
व्यवस्थापन समितिले बजारको फोहार ब्यवस्थापन गर्न चासो नदेखाएको स्थानीय ब्यापारिको आरोप छ । तर, ब्यस्थापन समितिको भने बजारबासीको लापरवाही र चेतनाको अभावको कारण व्यवस्थापनमा समस्या आएको गुनासो छ ।
फोहोर ब्यवस्थापन गर्न प्रयास गरिरहेका छौं तर डम्पिङ साइटको अभाव हुँदा व्यवस्थापन गर्न सकिएको छैन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले हाम्रो अनलाइन न्यूजलाई भन्नुभयो ।
श्रेष्ठले निर्वाचित जनप्रतिनिधि, शहरी विकास आयोजना र स्थानीय व्यवसायिसँग छलफल गरेर चाँडै टुङ्गयाउने पनि वताउनुभएको छ । यसैगरी नव निर्वाचित वडा अध्यक्ष रोमबहादुर देवकोटा (सुवास) ले फोहोर व्यवस्थापनको काम आफ्नो पहिलो प्राथमिकता भएको भन्दै डेढदेखि दुई महिना भित्र दीगो व्यवस्थापन गरिसक्ने बताउनुभएको छ ।


,

0 comments

Write Down Your Responses