Powered by Blogger.
प्रविधिको विकास सँगै लोप हुँदै परम्परागत प्रविधी

बुद्ध कुमार आछामी
सिन्धुली, १० श्रावण । भनिन्छ ‘मानिसका लागि स्वपहिचान र मौलिकता सबैभन्दा महत्वपूर्ण हुन्छ ।’ आफ्नो पहिचान बचाउन आफ्ना मौलिक सीप, बुद्धि–वर्गत र प्रविधिले पनि सहयोग गर्दछ । आफ्नो सीपबाट सिर्जित रैथाने प्रविधिको माध्यमद्धारा नै मानिसले आफ्नो गाउँ ठाउँ र स्वयम् आफ्नो पहिचान बनाउन सक्छ ।
तर, आधुनिकतासँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले पछिल्लो समय सिन्धुली जिल्लाका ग्रामीण क्षेत्रमा रहेका रैथाने प्रविधि अतिक्रमित भएको छ । यसले परम्परागत घरेलु मेसिनहरू हराउँदै मात्र छैनन्, ग्रामीण पहिचान मेटिंदै गएको छ । यसप्रति स्थानीय समुदाय सचेत भएको पाइँदैन भने सम्बन्धित निकायहरू भने मौन रहेको अवस्था छ ।
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौँ भइसकेको छ । अघिल्लो पुस्तासम्ममा ऊखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनको रूपमा रहेको कोलको अस्तित्व पूर्णरूपमा समाप्त भएको छ । यसका ठाउँमा नयाँ मेसिनहरूको प्रयोग हुन थालेका छन । 
धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि बिरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने स्याखु(घुम)को ठाउँ अहिले प्लाष्टिक, छाताले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनु अघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अतिआवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानी घट्टहरू लोप हँुदै गइरहेका छन् । 
करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै लोप हुन थालेकोमा स्थानीयहरु चिन्ता व्यक्त गर्न थालेका छन । आधुनिक मेसिनहरू छिटो र सजिलो भएपनि यसमा उत्तिकै जोखिम हुनुको साथै सबैको पहुँचमा नहुनु, ठूलो धनराशि विदेशिनु, गुणस्तरीय नहुनेजस्ता समस्याहरू रहेको स्थानीयहरु बताउछन । 
दैनिक प्रयोगका विभित्र आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । ‘घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवम् गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ’ दुधौली नगरपालिका–३ का घनश्याम बस्तेत भन्छन, ‘घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महङ्गो एवम् खर्चिलो छ ।’ लोप हँुदै गइरहेका यी मेसिनको संरक्षण र प्रबद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्ने उनको सुझाव छ ।
प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भाव वृद्धि गर्ने उनीहरूको तर्क छ । 
परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हँुदै गएपछि मौलिक संस्कृति समेत प्रभावित भएकामा यस क्षेत्रका सांस्कृतिक प्रेमीहरू चिन्तित बनेका छन् ।
घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याती कमाएको लोकबाजाहरू खैंजडी, मादल, डम्फू, ढोलकी, सहनाइ र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गएको अवस्था छ । 
स्थानीय प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको छ । गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी, गुन्द्री, राढीपाखी, कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउँदै जान थालेका छन् । स्थानीय मौलिक सीपका धनीहरू मर्ने, वृद्ध हुने र युवा पुस्तामा विदेशिने क्रमले पनि रैथाने प्रविधिहरूको अस्तित्व हराउन थालेको हो । 
यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु मेसिनको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिनुपर्ने देखिन्छ । स्थानीय मौलिक सीप, प्रविधिहरूको संरक्षणका लागि परम्परागत मेसिनको नमुना सङग्रहालय स्थापना गर्न सकिएमा भावी पुस्ताका लागि अध्ययन, अनुसन्धान गर्न र इतिहासलाई जीवित राख्न सहयोग पुग्नेछ । 


, ,

0 comments

Write Down Your Responses