Powered by Blogger.
तराई डुवाउने २० वटा बाँध कहिले कसरी बाँधिए ?

काठमाडौं, २९ साउन– यतिबेला अविरल वर्षाका कारण नेपालको तराई क्षेत्र डुवानमा परेको छ । हजारौं नेपाली नागरिक विस्थापित भएका छन् भने बाढीका कारण अर्वाैंको क्षति भएको छ । 

भारतले नेपालसँग सम्झौता गरी बनाएका ४ वटा वैध र १६ वटा अवैध बाँधका कारण यसरी वर्षैपिच्छे तराई डुब्ने गरेको छ । तराईका हरेक जिल्ला छुनेगरी भारतले बनाएका ती बाँधहरु कहिले कसरी बनाइए ?
 विस्तृतमा हेर्नुहोस्:
कोसी ब्यारेज
सन् १९५४ अप्रिल २४ का दिन नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर गरिएको थियोे । त्यसबेला नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो भारतमा जवहारलाल नेहरुको हातमा राज्य सञ्चालन भइरहेको थियो । सन् १९६५ अप्रिल २४ का दिन उद्घाटन भएको सो ब्यारेजको ५६ वटा ढोका छन् । कोसीको पूर्वी नहरले भारतको विहारको ६१२५०० हेक्टर र  पश्चिम कोसी नहरले ३५६६१० हेक्टर भूमि सिँचाइ गर्दै आएको छ । कोसीको पश्चिम नहरबाट नेपालको ११३०० हेक्टर जमिनमा सिंचाइ हुने भनिए पनि नेपालको भूभाग सिंचाई हुन सकेको छैन । भारतले नेपालभित्र सप्तरीमा १२ किमि लामो एफ्लक्स बण्ड र सुनसरीमा ब्यारेजदेखि उत्तर ४० किमि लामो तटबन्ध निर्माण गरेको छ । सम्झौताअनुसार भारतलाई सप्तरीको हनुमाननगरदेखि ३ माइल माथि ब्यारेज, तटबन्ध, नहरहरु तथा संचार सुविधा प्रदान गरिने भनी उल्लेख गरिएको छ । 

यसमा भएको सम्झौता अनुसार कहिल्यै पनि भारतले पानी दिएन । बर्षााको समयमा नेपालको नहरमा पानी पठाउने र हिउँदमा एक थोपा पनि पानी नराखी भारतीय नहरमा लैजाने गर्दछ । जलस्रोतविद् रतन भण्डारीका अनुसार नहरमा पानी कति राख्ने भन्ने सम्झौता अनुसार भारतले नदिएको मात्र होइन पानी कति दिने लिने भन्ने सबैतिरको बाँधको साँचो नै उसको हातमा छ । त्यसैले हरेक वर्षामा नेपालको तराई भूभाग डुवानमा पर्छ ।  

बर्षामा बाढी आउँदा कोसीका ५६ ढोकाहरुमा ३७ वटा भन्दा बढी ढोका अहिलेसम्म भारतले खोल्न मान्दैन । यसले गर्दा बाढीले ल्याएको बालुवा थुप्रिएर नदि माथि र गाउँहरु तल भएका छन् । जसले गर्दा सानो पानीको बाहावमा पनि पानीले बाँध फुटाएर गाउँ पस्न सक्ने खतरा हुन्छ । त्यसैले बर्षा लाग्न थाल्दा नै चारवटा जिल्लाकै जनता त्राहिमाम हुँदै रात बिताउँछन् । कोसी ब्यारेजको छेउछेउका रामपुरा, योगनियाँ गोवरगाढा, हनुमाननगर, लागायतका गाउँहरु बर्खामा सुनसान नै रहन्छन् । 

शारदा ब्यारेज
सन् १९२० मा चन्द्रशम्शेरका पालामा नेपाल र ब्रिटिश इण्डियाबीच सम्झौता भइ महाकाली नदीमा शारदा बाँध निर्माण सुरु भएको थियो । नेपालले ब्रिटिश इण्डियालाई सट्टाभर्ना पाउने सर्तमा ४०९३.८८ एकड भूमि प्रदान गर्ने सम्झौता थियो । तर नेपालले अहिलेसम्म सट्टा भर्ना पाएको छैन । आठ वर्षपछि सन् १९२८ मा शारदा बाँध निर्माण कार्य पूरा भयो । पछि भारतका तर्फबाट गुलजारीलाल नन्दा र नेपालका तर्फबाट महावीरशमशेरदारा हस्ताक्षर गरिएको थियो । यसको उद्घाटन भने संयुक्त रुपमा राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले गरेका थिए ।  

सम्झौता अनुसार नेपालले शारदाबाँध बाट हिउँदमा १ सय ५० क्यूसेक र वर्षायाममा ४ सय ६० क्यूसेक तथा पानी बढी भएको बेला १ हजार क्यूसेक पानी पाउने व्यवस्था । शारदाबाँध बाट नेपालले सन् १९८० पछिमात्र पानी पाएको ।

शारदा बाँंधको तलतिर एसएसबी क्याम्पवाट आधा कि.मि. मात्र भारतले आंशिक बाँध बनाई नेपालको  भुजेला साइडमा  छोड्दा नेपालतर्फ नदिको प्रवाह फर्केर २०७० सालमा भीमदत्त नपामा  ठूलो धनजनको क्षति भएको थियो । 

गण्डक नहर
तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको पालामा सन् १९५९ मा गण्डक सम्झौता भएको हो । नेपालको तर्फबाट उपप्रधानमन्त्री सुवर्ण सम्शेर र भारतीय राजदूत भगवान सहायले सो सम्झौतामा हस्ताक्षर गरेका थिए । गण्डक सम्झौतामा गण्डक नहरमा आउने कुनै पनि खोलाको पानी नेपालले चलाउन नपाउनेगरी सम्झौता गरिएको थियो । अर्को दुर्भाग्य यो सम्झौता कति बर्षसम्मको लागि भनेर उल्लेख नै गरिएको छैन । यदि नेपालले खोला प्रयोग गर्नु परे भारतसँग अनुमति लिनु पर्ने सम्झौतामा उल्लेख थियो । पछि महेन्द्रले १९६६ मा यो बुँदा हटाउन लगाए । च्यही सम्झौतलाई आधार बनाएर अहिले पनि भारतले नेपालका अन्य नदिनला प्रयोग गर्दा भारतकै अनुमति लिनु पर्ने बनाएको छ । 

अन्तर्राष्ट्रिय प्रावधान अनुसार जस्तोसुकै सम्झौता भए पनि नदिमा पाँच प्रतिशत पानी जीवजन्तुका लागि छोड्नु पर्छ । तर, यस विपरित भारतले बाबियो र परालको बुझो लगाएर सम्पूर्ण पानी लैजाने गरेको छ । हिउँदमा यसरी अन्तराष्ट्रिय नियम विपरित सम्पूर्ण पानी लैजाने र बर्षाको समयमा सबै पानी नेपालको नहरतिर मोडिदिने गरेको छ । यसले गर्दा बर्षेनी महाकाली पारीका चाँदनी दोधारा, हलिजा, भीमदत्त नगरपालिका डुवानमा पर्छन् । अहिलेसम्म कति गाउँ नै बगाइसक्यो तर न नेपालले भारतलाई यस्तो नगर्न दवाव दिन सक्छ न पीडितलाई डुवानबाट बचाउन सक्छ । 

टनकपुर बाँध  
सन् १९८० को दशकमा भारतले शारदा बाँधको विकल्पमा एकतर्फी रुपमा टनकपुर बाँध निर्माण गर्यो । भारतले एकतर्फी रुपमा बनाएको टनकपुर बाँधलाई सन् १९९१ डिसेम्बरमा भारत भ्रमण जाँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्झौतामा हस्ताक्षर गरेर वैधानिकता दिए । टनकपुर बाँधको पूर्वी एफ्लक्स बण्डका लागि ९२९ हेक्टर जमीन उपलब्ध गराउने गरी सम्झौता गरे । जुन नेपालको हित विपरित थियो । टनकपुर बाँध बनाउने बेला अस्थायी तटबन्ध निर्माण गरी महाकालीको पानी नेपालतिर छोड्दा कञ्चनपुरका विस्थापित भएका १०० परिवार अहिले पनि  विस्थापित नै छन् । त्यसले वर्षेनी झनै ठूलो क्षति गर्दै लगेको छ । 
यहाँबाट गएको पानीले भारतले उत्तर प्रदेशका जमीनमा सिंचाई गरेको छ । जुन क्षेत्रमा भारतका पूर्व प्रधानमन्त्रीहरु र ठूला नेताहरु जवहारलाल नेहरु, अटलबिहारी बाजपेयी, विश्वनाथ प्रताप सिंह, राजीव गान्धी, सोनिया गान्धीको चुनाव क्षेत्र पर्छ । त्यसैकारण पनि नेपालले यसका विरुद्ध सजिलै आवाज उठाउन सकेको छैन । 

महाकालीमा नहरको छेउबाट खोलाहरु बग्छन् । सम्झौता अनुसार नहरमुनी र छेउमा रहेका खोलामा भारतले मर्मत र सफाई गर्नु पर्नेछ । तर ती खोलामा भारतीय पक्षले अहिलेसम्म सम्झौता अनुसार मर्मत गरेको छैन । जसका कारण खोला पुरिएर सबै पानी थुनिने र त्यसले गाउँ डुवानमा पर्छन् । त्रिबेणी रुपैलिया, कुरीया, प्रतापपुर, सरजपूरा, गुठी आदि गाउँपालिकाहरु हरेक बर्ष डुवानमा पर्छन् र हजारौ बिस्थापित हुन्छन् । 

अवैध बाँधहरु 
यी माथिका बाँध भारतको स्वार्थ अनुरुप एकपक्षीय रुपमा भए पनि नेपालका तर्फबाट हस्ताक्षर भएका बाँध हुन् । तर, भारतले दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड विपरित यति धेरै बाँध बनाएको छ, ती बाँधहरु पूर्ण रुपमा अवैध छन् । जसले नेपालको तराई क्षेत्र हरेक वर्षायाममा डुवानमा पर्छ ।

हरेक वर्ष यसैगरी भारतले बाँध बनाउँदै जाँदा नेपालका स्थानीय जनताले प्रतिवाद गरेका छन् । कञ्चनपुरमा गोविन्द गौतमलाई गत फागुनमा भारतीय सीमा सुरक्षा बलले गोली हानेर मारेको थियो । यस्तै गतवर्ष साउनमा सप्तरीको तिलाठीमा भारतले बाँधेको बाँध भत्काउन जाँदा नेपाली नागरिक देवनारायण यादवमाथि कुटपीट भएको थियो । नेपाल सरकारले भारतले गरेको यस्तो मिचाह प्रबृत्तिको विरोध गर्दैन । बरु सत्तामा पुग्न भारतीय समर्थन खोज्दै भारतकै शरणमा पुग्छन् । 

धौलीगंगा बाँध
धौलीगंगा बाँध भारतले अवैध रुपमा बनाएको बाँध हो । भारतको धार्चुला जिल्लाबाट महाकाली नदीमा मिसिने धौलीगंगा नदीमा बनाएको धौलीगंगा बाँध भारतको अर्को मनपरीको नमुना हो । यसले नेपालको दार्चुला जिल्लामा अहिले पनि बर्खामा सकस बनाउँछ । सो बाँधबाट पानी छोड्दा २०७० असार १ गते दार्चुला जिल्ला सदरमुका खलंगा बगाएको थियो । 

गिरिजापुरी बाँध
विसं २०४० सालमा नेपाल भारत सीमाबाट १० किलोमिटर दक्षिण कोठिया घाट नजिक भारतले कर्णाली ९ को घाघरा नदिमा गिरिजापुरी बाँध एकतर्फी रुपमा निर्माण गर्यो । 

भारतले वर्षायाममा गिरिजापुरी बाँधको ढोका थुन्ने गरेका कारण नेपालबाट भारतप्रवेश गर्ने कर्णाली, गेरुवा, मोहना कनरी, कान्द्रा, खुटिया, पथरैया, काँडालगायतका नदिहरुको पानीको वहावमा अवरोध सिर्जना हुने गरको छ । जसका कारण कैलालीको दक्षिण पूर्वमा अवस्थित साविक फूलवारी, पवेरा, हसुलिया, रतनपुर, खैलाड, लालबोझी भजनी गाविसहरु वर्षेनी डुबानमा पर्दै आएका छन्  । २०६५ सालको वर्षायाममा भारतले गिरिजापुरी बाँधको ढोका नखोल्दा कैलालीमा १२ जनाको मृत्यु भएको थियो भने १२७७९ घर डुबानमा परेका थिए । 

लक्ष्मणपुर बाँध 
नेपालबाट बग्ने पश्चिम राप्ती नदिमा सीमा क्षेत्रनजिक यो बाँध छ । सन् १९८५ मा भारतले एकलौटी रुपमा लक्ष्मणपुर बाँध निर्माण गरेको हो । बाँध २८४ मिटर लामो, ५५ मिटर अग्लो र ७ मिटर चौडाई तथा १७ वटा ढोका छन् । दुबै देशको सहमतिमा बनाएका बाँधको चाबी भारतीयको हातमा छ भने उसकै मनोमानीमा बनेका यस्ता अवैध बाँधका कारण नेपालको जमिन पुरै डुवानमा पर्ने गरेको छ । 

कलकलवा तटबन्ध
लक्ष्मणपुर बाँधसँगै जोडेर विसं २०५६ सालमा भारतले २२५ किमि लामो ५ मिटर अग्लो कलकलवा तटबन्धको निर्माण गर्यो । उक्त बाँध बनाउन नेपालसँग कुनै सम्झौता थिएन । यसले नेपालबाट भारत प्रवेश गर्ने राप्ती, गन्धेली, सोतिया र डुरुवा नालाको निकास अवरुद्ध हुन्छ । यसले बाँकेका बेतहनी, बनकट्टी, फत्तेपुर, गंगापुर, काँलाफाँटा, नरैनापुर, पुरैना गाविसहरु हरेक बर्षायाममा डुबानमा  पर्दै आएका छन् । 

२०६५ सालको साउनमा आएको भीषण वर्षाका कारण यस क्षेत्रका ९ वटा गाविस डुबानमा पर्दा ६ हजार हेक्टर जमीनमा लगाइएको धानबाली डुबाएको थियो । हजारौं जनता त्यसबाट प्रभावित भएका थिए । 

२०५७ सालको वर्षायाममा मात्रै लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण त्यस क्षेत्रका १७२३ परिवारका ८ हजार बढी बासिन्दा विचल्लीमा परेका थिए । २०६० सालमा डुबानका कारण २४१२ बिगाह जमीनमा लगाएको अन्नबाली नष्ट भएको थियो । यतिबेला भारतले बाँकेको हिरमिनिया गाविसको पारिपट्टी सीमा सडक निर्माण सुरु गर्यो । नेपालको तर्फबाट बोल्ने कोही भएन । बाँकेको डुबान समस्याले नेपालगंज उपमहानगरपालिकाका सीमावर्ती वडाहरुलाई थप डुबानमा पारेको छ । 

कोइलाबास तटबन्ध
नेपाल भारत सीमास्तम्भ ३७ देखि २० मिटरको दूरीमा भारतले दाङको सीमा क्षेत्रमा पर्ने दाराखोलामा कोइलाबास बाँधको निर्माण गरेको  छ । ५० मिटर  लम्बाई रहेको बाँधको उचाइ २ मिटर  रहेको छ । बाँधबाट जाने नहरको भाग नेपाली भूभागमा समेत पारिएको छ । कोइलाबास बाँध निर्माण गरी भारतले उत्तरप्रदेशको राप्ती र इन्दिना नहरमा नयाँ नहरमार्फत पानी पुर्याई सिंचाईमा उपयोग गर्दै आएको छ । बाँधका कारण ३ हजार भन्दा बढी नेपाली नागरिक वर्षेनी प्रभावित हुँदै आएका छन् । 

महलीसागर बाँध
विसं २०५९ भारतले कपिलवस्तुको सीमा क्षेत्रमा एकतर्फी रुपमा १५ ढोका सहितको ३० मिटर लामो महलीसागर बाँध निर्माण गरेको । यस बाँधले सुख्खा मौसममा १९१ हेक्टर जमीन डुवाउने गरेको छ । बाँध तथा तटबन्धका कारण कपिलबस्तु जिल्लाको बदौली, भगवानपुर, लोहरौली, नदवा, मुडिला, रंगपुर, भैसाहिया, कडजवा, रमपुरवा, पर्सीहिया गाविस प्रभावित हुँदै आएका छन् । 

रसियावाल–खुर्द–लोटन बाँध
रुपन्देहीको मर्चवार क्षेत्र नजिक भारतद्वारा एकतर्फी रुपमा रसियावाल खुर्दलोटन तटबन्ध निर्माण गरेको छ । बाँधका कारण रुपन्देही जिल्लाका ८ गाविस थुमुवा, पिप्रहवा, रायपुर, भगवानपुर, रोहिणीहवा, करौता, बेतकुइया र भदौली प्रभावित छन् । १८ वटा गाउँहरुले वर्षेनी डुबान समस्या झेल्दै आएका छन् । त्यहाँका बासिन्दाहरु राज्यले र यहाँका नेताले पनि उनीहरुको समस्यामा नबोलेको भन्दै आक्रोश पोख्ने गरेका छन् । 

डण्डा फरेना बाँध
डण्डाफरेना तटबन्ध रुपन्देहीकै  सिद्धार्थनगर नगरपालिकामा पर्दछ । यो सिद्धार्थनगर नगरपालिका २ देखि दक्षिण नेपाल भारत सीमारेखाबाट ६ मिटरको दूरीमा अवस्थित छ । नेपालबाट बग्ने डण्डा नदिमा भारतद्वारा निर्मित पक्की बाँधमा हाल डण्डा फरेना तटबन्ध लगेर जोडिएको छ । ७ किलोमिटर लामो तटबन्ध निर्माणको योजना रहे पनि नेपालको विरोधका कारण ३ किमि मात्र निर्माण गरिएको थियो । तर यस्ता बिरोध त्यहीका स्थानीयले गरेको बाहेक राज्यको तर्फबाट भने उठाएको देखिन्न । 

लालबकैया तटबन्ध 
२०६० सालमा ३ वटा निकासद्वार सहित ८ किलोमिटर लामो तटबन्ध भारतले निर्माण गर्यो । यो रौतहट जिल्लाबाट भारततिर वग्ने लालबकैया नदीमा निर्मित तटबन्ध हो ।  यस तटबन्धका कारण गौर नगरपालिकाका साथै औरही, सिर्सिया, पुरेनवा र जयनगर गाविसको अधिकांश भाग हरेक बर्ष डुबानमा पर्दै आएको । 

बैरगनिया तटबन्ध
रौतहटको गौर नगरपालिकाको दक्षिणतर्फ नेपाल भारत सीमाक्षेत्रमा भारतद्वारा बिसं २०३७ सालमा नेपालको सहमति विना नै लामो तटबन्ध रातारात खडा गर्यो । यो १५ किलोमिटर लामो  १० देखि १२ फिट उचाइको छ । यस तटबन्धले रौतहटमा बागमती र लालबकैया नदिको प्राकृतिक वहावलाई नै मोडिदिएको छ । जसले गर्दा रौतहटका सदरमुकाम गौरसहित बन्जराहा, औरैया, बैरिया, पिपरा, पुरेनवा, सिरसिया गाविसहरुलाई डुबानमा पार्दै आएको छ ।  

बागमती तटबन्ध
यो तटबन्ध पनि रौतहटकै बैरगनिया चक्रबातसँग जोडिएको छ । बाढी र डुबान नियन्त्रणका लागि भन्दै भारतले सिमानामै बागमतीको दायाँ किनारमा ८.२५ किलोमिटर र बाँया किनारामा १८.२५ किलोमिटरको लामो तटबन्ध निर्माण  गरेको छ । करिव १६ किलोमिटर तटबन्ध नेपाल भारत सीमाक्षेत्रबाट बायाँ बनुस्मारा तटबन्धसम्म फैलिएको छ । आज मात्रै यो तटबन्धका कारण रौतहट क्षेत्र डुवानमा परेको भने त्यहाँ गाउँ नै विस्थापित भएको समाचार छ । 

कमला तटबन्ध
कमला तटबन्ध धनुषा र सिराहा जिल्लाको सीमा भई भारततर्फ बग्ने कमला नदिको दुवै किनारामा निर्मित तटबन्ध हो । यस तटबन्धका कारण हरेक बर्ष नेपालको माडर, इनरवा, मल्हनिया, गम्हरिया, बालाहसघारा, बालाहाकथाल गरी छ गाविस र लाहान नगरपालिकाका केही वडाहरुका करिब १०६५ हेक्टर भूभाग डुबानमा पर्ने गरेको छ ।

सिराहा तटबन्ध
सिराह बाँध सिराहा जिल्लाको सदरमुकामदेखि ५ किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्र नजिक भारतीय भूमिमा पर्दछ । यो बाँध हरकट्टि गाविसको भारततिरबाट दशगजा क्षेत्रमा निर्माण गरिएको छ । सो तटबन्ध ३ किलोमिटर  लम्बाई २० फिट चौडाईमा फैलिएको छ । 

खाँडो तटबन्ध
भारतले आफूतिरको भूभागमा पानी रोक्नका लागि बाँध बनाएर नेपाल डुबाएको अर्को बाँध हो सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट दक्षिण लालापट्टि नदिमा निर्माण गरिएको खाँडो बाँध । 

कुनौली तटबन्ध
यो तटबन्ध सप्तरी जिल्लाको राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको छ । सीमा क्षेत्रभन्दा १ मिटरको दूरीमा भारतले यो तटबन्ध निर्माण गरेको हो  । यस तटबन्धका कारण सप्तरी जिल्लाका दक्षिणी भेगका ११ वटा गाविसहरुलाई डुबानमा पार्दै आएको छ । 

लुना बाँध
यो बाँध मोरङ जिल्लाको बक्राह नदिमा छ । भारतले यो बाँध नेपाल भारत सीमावर्ती क्षेत्र नजिक नेपालबाट भारततिर बग्ने बक्राह ९ र भारतमा लुना नदिमा आफ्नो भूभागतिर बनाएको छ ।

यसरी भारतले तराईका हरेक जिल्लामा पर्ने सीमा नदिमा बाँध बाधेर नेपालको तराई डुवानमा पारेको छ । हरेक बर्खामा यसैगरी डुवानमा पर्ने नेपालको तराईको बारेमा न त राज्यले दीर्घकालीन समाधानको प्रयास गरेको देखिन्छ न तराईकै नेताले यो विषयमा आवाज उठाएका छन् । 
Copied by chakrapath.com 


,

0 comments

Write Down Your Responses