Powered by Blogger.
विद्यालयहरूको भित्तामै सीमित आचारसंहिता


सिन्धुली, २८ बैशाख । ‘शिक्षामा सुधार ल्याउन’ भन्दै शुरु भएको शिक्षक, विद्यार्थी र अभिभावक–आचारसंहिता अलपत्र परेको छ । शिक्षक आचारसंहिता, विद्यार्थी आचारसंहिता र अभिभावक आचारसंहिता लेखिएको फ्लेक्स विद्यालयको भित्तामै सीमित हुन पुगको छ ।
शिक्षा मन्त्रालय, तत्कालिन नेपाल शिक्षक युनियन, सामाजिक संंवाद समितिले नेपालका ५ वटै विकास क्षेत्र र केन्द्रीयस्तरमा आयोजना गरेको क्षेत्रीय र राष्ट्रिय सम्मेलनले अनुमोदन गरेर शिक्षक, अभिभावक र विद्यार्थी आचारसंहिता तय गरिएको थियो । तर ६ बर्ष बितिसकेको अवस्थामा पनि आचारसंहिता पूर्ण पालना भएको छैन ।  
आचारसंहिताका खास बुंदाहरुका बारेमा शिक्षकहरु नै जानकार नहुँदा आचारसंहिता पालना हुन सकेको छैन । विद्यालयका मुख्य मियोका रुपमा रहेका शिक्षकहरु नै आचारसंहितामा उल्लेख भएका वुंदाहरुप्रति जिम्मेवार नहुँदा त्यसको असर अभिभावक र विद्यार्थीमै परिरहेको छ ।
‘फ्लेक्समा भएका सबै कुराहरु पालना नगरे पनि मुख्य वुंदाहरु त पालना गर्नुपर्यो नि, त्यो पनि गर्दैनन् ।’ सिन्धुलीमाढीको एक विद्यालयका  प्रधानाध्यापकले नाम उल्लेख नगर्ने सर्तमा भने । ‘कम्तीमा विद्यार्थी भने आचारसंहिताबारे थाहा भए पनि नभए पनि पालना गर्छन, शिक्षकहरु त..., के भनौं र खै ? प्रति प्रश्न गर्दै आचारसंहिताबारेमा अभिभावकहरुलाई राम्रो ज्ञान नै नभएको उनले बताए ।
आचारसंहिता अनुशासनमा बस्न सिकाउने ‘नियमहरुको संग्रह’ मात्र नभएर जो सुकैलाई पनि आफ्नो पेशागत मर्यादा, जिम्मेवारी बोध गराउन झक्झक्याइरहने ‘गुरु’ पनि हो । तर त्यही ‘गुरु’ले सिकाइरहेको÷ बताइरहेको कुरालाई भने विद्यालयका तीनै पक्षहरु क्रमशः शिक्षक, अभिभावक र विद्यार्थीले नै झुक्याइरहेका छन् ।
‘यो आचारसंहिताको बोर्ड पनि जिल्ला शिक्षा कार्यालयले अनिवार्य गरेपछि न राखिएको हो, विद्यालय आफैले मनन् गरेर राखेको भए, बृहत छलफल गरेर राखेको भए पो पालना हुन्थ्यो ।’ आचारसंहिताका वुंदाहरु पालना नहुनुको कारणबारे एक शिक्षकले सटिक जवाफ दिए ।
वि. सं. २०५६ सालमा अनुमोदन भएको र ७० को दशकमा मात्र कागजी रुपमै भए पनि विद्यालयतहसम्म पुगेको आचारसंहिताको मर्म र भावना सम्बन्धित व्यक्तिहरुसम्म अझै पनि पुग्न सकेको छैन ।
सरकारले शिक्षकका लागि निर्धारण गरेको आचारसंहिता अन्तर्गत पेशागत प्रतिवद्धतामा १३ वुंदा, सिकाइप्रतिको प्रतिवद्धतामा १२, विद्यार्थीप्रतिको प्रतिवद्धतामा ११, विद्यालयप्रतिको प्रतिवद्धता र सहकर्मी शिक्षकप्रतिको प्रतिवद्धतामा ६÷६ वटा वुंदा उल्लेख गरिएको छ ।
ती प्रतिवद्धताहरुमध्ये शिक्षकले आफूलाई शिक्षणसँग सम्बन्धित ससाना अनुसन्धान गर्ने, आफ्ना सीप, ज्ञान, सूचना र जानकारीहरुबाट एक अर्कालाई अधिकतम रुपमा लाभान्वित पार्न उपयुक्त विधि र पद्धतिबारे शिक्षक, विद्यार्थी र अभिभावकहरुसँग निरन्तर छलफल, अन्तरक्रिया, अध्ययन र अनुसन्धान गर्नुे, शिक्षकहरुको एकअर्को प्रतिको विशेष गरी अनुभवी शिक्षकको कक्षा अवलोकन गरी शिक्षण सीप विकास गर्नुे, साप्ताहिक रुपमा प्रत्येक हप्ता १ जना शिक्षकले मोडल कक्षा शिक्षण लिने व्यवस्था गरी पृष्ठपोषण दिने व्यवस्था गर्नुे, राजनैतिक आस्थाको आधारमा शिक्षण सिकाइलाई प्रभाव पार्न नदिने, कक्षाकोेठामा शैक्षिक सामग्री र सन्दर्भ सामग्रीको उपयुक्त प्रयोग गरी प्रभावकारी शिक्षण गर्ने लगायतका वुंदाहरु भए पनि तिनीहरुको कार्यान्वयन हुन नसकेको अभिभावकहरुको गुनासो छ ।
‘आचासंहिता अन्तर्गत शिक्षकहरु टाइममा स्कुल आउने भन्ने पनि वुंदा छ, त्यो त पालना गर्न हिच्किचाउँछन् भने अन्य वुंदाको पालनाको त के अपेक्षा गर्नु ?’ प्रअहरुको एउटै भनाइ छ ।
शिक्षकहरुमात्र नभएर आचारसंहिताको पालनामा अभिभावकहरु पनि उदासीन रहेको प्रअ तथा शिक्षकहरुको भनाइ छ । अभिभावकहरु आफ्ना सन्तानहरुको पढाइ÷पढाइ मात्र भन्नेमा पछि लाग्ने स्वभावका छन् । ‘आचारसंहिताले शिक्षकसँग कस्तो व्यवहार गर्ने, विद्यालयमा नियमित रुपमा उपस्थित भएर अन्तरक्रिया र छलफल गर्ने वुंदा छ तर अभिभावकहरु परीक्षाफल लिन र शुल्क तिर्न मात्र आउने गरेका छन् ।’ एक शिक्षकले भने ।
विद्यालयमा शैक्षिक सुशासन कायम गर्नका लागि आचारसंहिता लागू गरिएको सम्बन्धित निकायले दाबी गरे पनि त्यसको कार्यान्वयनको अवस्थाबारेमा सबै सरोकारवाला निकाय मौन छ ।

शिक्षा नियमावलीमा विद्यार्थी र शिक्षकका लागि आचारसंहिताको व्यवस्था भए पनि विद्यालय सुधारमा अभिभावकहरुको पनि जिम्मेवारी हुने भएका कारण अभिभावकहरुलाई विद्यालयप्रति जिम्मेवारी बनाउन अभिभावक आचारसंहिता लागू गरिएको विद्यालयका प्रध्यानाध्यापकहरुले बताएका छन् । आचारसंहिता लागू हुँदा शिक्षण कार्यमा सुधार हुनुका साथै गुणात्मक शिक्षण हुने प्रध्यानाध्यापकहरुको भनाइ छ ।
विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई आचारसंहिताले आ–आफ्नो जिम्मेवारीप्रति दायित्व बोध गराउने विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भनाइ छ ।
विद्यालयले आचारसंहिता लागू गरेपछि अभिभावकहरुलाई समेत विद्यालयप्रति जिम्मेबारी बोध गराएको अभिभावक विद्यालय आउने, विद्यालयको आय व्यय स्पष्ट राख्ने, विद्यालय सफा राख्ने, विद्यालयको भौतिक सम्पत्तिको समुदायका व्यक्तिहरूको रक्षा गर्ने, अभिभावकले समय–समयमा विद्यालयको अनुगमन गर्ने र कम्तिमा वर्षमा २ पटक अभिभावक भेला गराउने भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा देखावटीमात्र भएको गुनासो छ ।
टाँस्नुमात्र ठूलो विषय होइन, त्यसको कार्यान्वयन मुख्य कुरा हो तर त्यो काममा भने जिशिकाको अनुगमन फितलो रहेको अभिभावकहरुको गुनासो छ । 


, ,

0 comments

Write Down Your Responses