Powered by Blogger.
भारतीय प्रधानमन्त्री मोदीका कारण घाइतेको उद्धारमा ढिलाई

साँढे दुई घण्टापछि मात्र हेलीकप्टर आइपुग्यो

सिन्धुली २९, बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण सिन्धुलीमा सडक दुर्घटनामा परेका एक घाइतेको उद्धार निक्कै ढिलागरी भएको छ ।  
भारतीय प्रधानमन्त्री मोदी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्कने तयारी गर्दा शनिवार दिउँसो पौने चारबजेदेखी त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल होल्ड हुँदा हेलीकप्टर आउनै ढिला भएको हो । 
चिन्ताजनक अवस्थामा रहेका दुधौली नगरपालिका–६ हर्षाहीका  गणेश फनेतलाई सिन्धुली अस्पतालका चिकित्सकहरुले तत्काल काठमाण्डौं लान सकेमात्र बचाउन सकिने घाइतेका आफन्तलाई बताएपछि कैलास इअरको हेलीकप्टर बोलाइएको थियो । 
बीपी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा शनिवार दिउँसो सोमोले मोटरसाइकललाई ठक्कर दिँदा दुधौली नगरपालिका–६ हर्षाहीका अन्जीत कुँवरको घटनास्थलमै मृत्यू भएको थियो भने फनेत गम्भीर घाइते भएका थिए । 
गम्भीर घाइते फनेतलाई थप उपचारका लागि काठमाण्डौं लैजान जिल्लामा पैसा संकलन गरी बोलाएको साँढे दुई घण्टापछि बल्ल सिन्धुली आइपुगेको थियो । 
काठमाण्डौंको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट कैलास यिअरको हेलीकप्टर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं लैजान आउने भनि बुक गरिएको भएपनि भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्कने क्रममा विमानस्थल दुई घण्टाभन्दाबढी होल्ड हुँदा विमानस्थलबाट हेलीकप्टर उडान गर्नै नसकिएको खबर आएको घाइतेका ठुलाबुबा स्वरुपलाल फनेतले सुनाए । 
‘घाइतेको अवस्था चिन्ता जनक छ । हेलिकप्टर मगाएको झण्डै साँढे दुई घण्टाबढी समयपछि आइपुग्यो । घाइतेलाई चाँडो काठमाण्डौंका अस्पताल पु¥याउन सके बचाउँन सकिन्थ्योकी भन्ने आश थियो,’ उनले भने । 
भारतीय प्रधानन्त्री मोदी नेपालको भ्रमण सकेर स्वदेश फर्कने भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उडान र अवतरण होल्ड गरिएको छ । 
तत्काल होल्ड खुलेपनि काठमाण्डौंबाट सिन्धुली आउन र काठमाण्डौं पुग्न थप एक घण्टा लाग्छ हेलीकप्टरलाई । 
विपी राजमार्गबाट एम्बुलेन्स मार्फत काठमाण्डौं घाइतेलाई लैजान कम्तीमा पनि पाँच घण्टा लाग्छ ।  
हेलीकप्टरलाई लाग्ने रकम १ लाख ९५ हजार रुपैयाँ जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य सन्तोष बुढाथोकी (सिवी)को पहलमा जम्मा गरेर बुक गरिएको थियो । 
‘दुर्घटनामा परेकाहरुलाई तत्काल उद्धार गर्न सके बचाउन सकिन्छकी भन्ने उद्देश्यले सिन्धुलीको युवा व्यवसायिहरुसंगको सहकार्यमा पैसा जम्मा गरेर हेलिकप्टर मगाएको साँढे दुई घण्टापछि मात्र बल्ल उद्धार गर्न सकिएको छ । यो अत्यन्तै दुःखद कुरा हो,’ बुढाथोकीले भने, भिआइपीका कारण सर्वसाधरणको समयमा उपचार नपाएरै ज्यान जाने रहेछ ।’ 
मोदीका कारण विमान स्थल होल्ड हुँदा साँढे दुई घण्टा देखी हेलीकप्टरको पर्खाइमा रहेका आफन्तहरु अस्पतालमा निरास थिए भने घाइते छटपटाई रहेका थिए ।
हेलीकप्टरबाट समयमानै उपचारका लागि काठमाण्डौं पु¥याउन सके बाँच्ने आश थियो । अव त त्यो आशा पनि कम हुँदै गयो,’ घाइते फनेतका ठुलोबुबाले गुनासो गर्दै भने, ‘इमसजेन्सीका लागि हेलीकप्टर बोलाउँदा पनि भिभिआइपीका कारण समस्या हुँदो रहेछ । सर्वसाधरणले कहिले सडकमा कहिले आकासै सकस भौग्नु पर्ने अवस्था कहिलेसम्म हुन्छ ? सरकारसंग अनुरोध गरे । 
बीपी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बा ५ ख ८४० नम्बरको हायसले बा ७२ प ४९२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सिन्धुली दुधौली नगरपालिका–६ हर्षाहीका कुँवरको घटनास्थलमै मृत्यू भएको थियो भने फनेत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रहरी प्रमुख बिनोद शर्माले जानकारी दिए । 
पछिल्लो समय वीपी राजमार्गमा हायस सञ्चालनमा आएपछि सडक दुर्घटना अत्याधिक बढेको छ । 
नोट ः दुर्घटनाको तस्विर र हेलीकप्टरको तस्विर म्यासेन्जर ग्रुपबाट लिनु होला ।  



,

2 comments

सरकार पुरै मोदिमय भकोछ काहाँ जनताको बारेमा सोच्न भ्याउछ्न र!
ओलि मोदि मुर्दावाद भन्न बाहेक अरु केइ उपाय छैन हौ हाम्रो ।

सरकार पुरै मोदिमय भकोछ काहाँ जनताको बारेमा सोच्न भ्याउछ्न र!
ओलि मोदि मुर्दावाद भन्न बाहेक अरु केइ उपाय छैन हौ हाम्रो ।

Write Down Your Responses