Powered by Blogger.
सी जिनपिङको नेपाल भ्रमणको अर्थ


२२ असोज, काठमाडौं । नेपालले उत्तरी छिमेकी देशका राष्ट्रपतिलाई स्वागत गर्न चाहेको धेरै वर्ष भयो । राष्ट्रपति सी जिनपिङको पहिलो कार्यकालमै नेपाल आउने सम्भावनाबारे चर्चा पनि भएको थियो तर, भ्रमण भएन ।

दोस्रो कार्यकाल सम्हालेको डेढ वर्षपछि राष्ट्रपति सीको नेपाल भ्रमण तय भएको छ । सी २५ गते शनिबार भारतबाट काठमाडौं आउनेछन् र आइतबार बेइजिङ फर्किनेछन् ।
लामो समयदेखि हुन नसकेको चिनियाँ राष्ट्रपतिको भ्रमण कसरी सम्भव भयो त ? सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का नेताहरु यसमा प्रमुख दुई कारण देख्छन् ।

पहिलोः नेपालमा राजनीतिक स्थिरता

नेपालमा ०६२/६३ को आन्दोलन र परिर्वतनपछि लामो समय संक्रमणकाल रहृयो र यो बीचमा गठबन्धन सरकारहरु मात्र बने । ०७२ मा नयाँ संविधान जारी भएपछि वाम गठबन्धनले बहुमत पायो । गठबन्धन बनाएर चुनावमा जाँदा नै तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने घोषणा गरेका थिए ।

त्यसअनुसार ३ जेठ ०७५ मा पार्टी एकता भएर नेकपा बन्यो । र, एक वर्षभन्दा लामो समय लगाएर पार्टी एकता भर्खर पूरा भएको छ । यसले पार्टी एकता मात्र भएको छैन, पाँच वर्षसम्म नेकपाकै सरकार रहने पक्का भएको छ ।

पछिल्ला केही वर्षमा नेपालले धेरै जोडबल दिएर पनि हुन नसकेको चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण अहिले तय हुनुको प्रमुख कारण यही राजनीतिक स्थिरता भएको सत्तारुढ नेकपाका एक सचिवालय सदस्य बताउँछन् ।

दोस्रो कारणः नेपाललाई विश्वासमा लिने प्रयास

चीन पछिल्लो समय अन्तराष्ट्रिय सम्बन्धहरुमा निकै तनावपूर्ण अवस्थाबाट गुजि्ररहेको छ । अमेरिकासँग लामोदेखि अघोषित व्यापार युद्ध चलिरहेको छ, जुन बेलाबेला शान्त भएजस्तो हुन्छ । हङकङमा आन्तरिक राजनीतिक तनाव जारी छ । भारतसँगको सम्बन्धमा पनि बेलाबेला उतार-चढाव आइरहेको छ ।

यी सबै कारणले गर्दा चीन छिमेकी देश नेपाललाई विश्वासमा लिइरहन चाहन्छ ।

दक्षिण एशियामय सी

नेपाल आउनुअघि चिनियाँ राष्ट्रपति सीले मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई बेइजिङमा स्वागत गरे । एक वर्षमा खानको यो तेस्रो भ्रमण हो ।

अब शुक्रबार राष्ट्रपति सी भारत जानेछन् । तमिलनाडूको सेभेन प्यागोडा भनिने मामालापुरममा सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनौपचारिक सम्मेलन हुनेछ । यो सम्मेलन दुई दिनको हुनेछ र शनिबार त्यहाँबाट उनी नेपाल आउनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधिमण्डलसहित भेटवार्ता हुनेछ । त्यसपछि सीको उपस्थितिमा सहयोग तथा सम्झौतामा हस्ताक्षर हुनेछ । चिनियाँ राष्ट्रपति सीसँग नेपालका प्रमुख दलका नेताहरुले समेत भेट्ने बताइएको छ ।

चिनियाँ राष्ट्रपतिले एउटै तालिकामा भारत र नेपालको भ्रमण गर्नु अनि त्यसअघि बेइजिङमा पाकिस्तानी प्रधानमन्त्रीसँग भेट गर्नुले दक्षिण एसियामा चिनियाँ चासोलाई संकेत गरेको छ ।

अघिल्लो साता मात्र चीनले रोहिंग्या शरणार्थीहरुको मामिला सल्टाउनका लागि म्यानमार र बंगलादेशका सरकारी अधिकारीहरुवीच वार्ता र सम्वाद गराएको थियो । यो घटनाले पनि दक्षिण एशियामा चीनको सक्रिय उपस्थितिलाई चित्रित गरेको छ ।

ऐतिहासिक भ्रमण बनाउने अवसर

राष्ट्रपति तहमा पछिल्लो पटक सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए । यो बीचमा नेपालबाट थुप्रै पटक उच्चस्तरको भ्रमण भएपनि चीनबाट भएको थिएन ।

त्यसैले राष्ट्रपति सीको भ्रमण नेपालका लागि प्रतिष्ठाको विषय हो । एक मन्त्री भन्छन्, ‘ राष्ट्रपति सीको भ्रमणले हाम्रा लागि प्रतिष्ठाको विषय हो । किनकी चीनबाट उच्चस्तरको भ्रमण हुनसक्दैन भन्ने थियो ।’

नेकपा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पनि यो भ्रमण प्रतिष्ठाको विषय हुने उनले बताए ।

साथै २३ वर्षपछि हुन लागेको चीनको राष्ट्रपतिको नेपाल भ्रमणलाई साँचो अर्थमा ऐतिहासिक बनाउने नबनाउने नेपालको तयारीमा भरपर्छ भन्छन् परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई ।

‘भूराजनीतिक बदलावहरु छिटोछिटो भइरहेको समयमा शक्तिशाली देशका राष्ट्रपतिको भ्रमणले अवश्य महत्व राख्छ’ उनले भने, तर यसलाई कतिको ऐतिहासिक बनाउँछौं भन्ने हामी (नेपाल)मा भरपर्छ ।’ चिनियाँ उच्च अधिकारीहरुसँग नेपाल स्पष्टताका साथ प्रस्तुत हुनुपर्ने र जनताको जीवनमा परिर्वतन ल्याउने परियोजनाहरु छनोट गरेर अगाडि बढाउनुपर्ने उनले बताए ।(साभार अनलाइन खबर डटकमबाट) 


, ,

0 comments

Write Down Your Responses