इन्द्र गौतम ‘जगतजङ्ग’
“मानव समाजको इतिहास वर्ग सङ्घर्षको इतिहास हो ।” मार्क्सको यो भनाइअनुसार मूलतः वर्गीय समाजका रूपान्तरण वर्ग सङ्घर्षबाट नै हुन्छ । नेपाली समाजको वर्ग सङ्घर्ष कहिले जनआन्दोलनको रूपमा, कहिले किसान र जातीय विद्रोहको रूपमा, कहिले सशस्त्र सङ्घर्ष र जनयुद्धको रूपमा, कहिले जनयुद्ध र जनआन्दोलनको समायोजनको रूपमा, कहिले वार्ता र शान्ति प्रक्रियाको रूपमा, कहिले चुनावको रूपमा, कहिले विभिन्न सामाजिक अभियानको रूपमा अभिव्यक्त भएको छ । “विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन ।”भन्ने मार्क्सको मान्यताअनुसार नेपाली वर्ग सङ्घर्षले आफ्नो बाटो आफै निमार्ण गरी आजसम्म आइपुग्दा सामन्तवादको अन्त्य भई हाम्रो बाटो समाजवादमा पुगेको छ । तर हामीसँग समाजवादी आन्दोलनको बनीबनाउ राजमार्ग छैन । हामीले आजको समाजवादी आन्दोलनको बाटो पहिल्याउन पार्टी एकता गयौँ । कम्युनिस्ट आन्दोलनलाई कायम राख्न र नयाँ गति दिन भएको पार्टी एकता नेपाली कम्युनिस्ट आन्दोलनको एउटा महान परिघटना थियो । यो कदमले बाहिरी नवउदारवादी रणनीतिलाई परास्त गर्दै नेपाली श्रमजीवी जनताको समाजवादी आन्दोलनलाई नयाँ ढङ्गले पुनरसङ्गठित गयो । यसले निकै ठूलो आशा, भरोसा, उत्साह र विश्वास दिलाएको छ । जसले समृद्ध नेपाल निर्माण गर्ने आधारहरु खडा गरेको छ । तर पार्टी एकता सङ्क्रमण कालीन अवस्थामा गुज्रिरहेको छ ।
दुनियाँको राजनीतिक पानी ढलो नवउदारवादी रणनीतिअन्तर्गत दलाल पुँजीवादमा अभिव्यक्त भएको छ । यसले विश्वव्यापी प्रभाव पारेको छ । नेपाली समाजमा त्यसको प्रभाव, विश्व शक्ति केन्द्रहरुको प्रभाव र चलखेल, प्रतिक्रियावादीहरुको अवस्था आदिको प्रतिविम्ब र प्रभाव नेकपामा परिरहेको छ । पदमा पुगेका जिम्मेवार नेताहरुमा व्यक्तिवाद हाबी हुनु, बैठकमा उपस्थित नहुनु, सामूहिक निर्णयबाट भाग्नु, पार्टी र सरकार सञ्चालनमा नीति, विधि, पद्धति, प्रक्रियाको पालना नगर्नु, राजनीतिक नियुक्तिहरु एकतर्फी र पारदर्सी नहुनु, विचारको प्रश्नमा छल, छाम, षडयन्त्रमा लाग्नु र लगाउनु, राष्ट्रियताका सवाल रूपमा क्रान्तिकारी तर सारमा आत्मसमर्पणवादी हुनु, आज एमसीसीको बहस साँच्चो अर्थमा राष्ट्रियताको बहस हो । आईपीएस÷एमसीसी नयाँ प्रकारको उपनिवेशवाद, लुट र युद्ध हो ।
एमसीसी जसरी पनि पास गर्न खोज्नु, जनतन्त्र र जनजीविकाको सवालहरुमा परिवर्तन नआउनु, आन्दोलन समाजवादी होइन दलाल पुँजीवादी बन्दै जानु, कम्युनिस्ट मूल्य, मान्यता, संस्कार र संस्कृतिमा स्खलन हुनु, कम्युनिस्ट राजनीतिलाई मानव मुक्ति र सेवाको रूपमा भन्दा कमाउ धन्दाको रूपमा प्रयोग गर्नु, पद र प्रतिष्ठामा लुछाचुँडी गर्नु, नेता र कार्यकर्ताको विरुद्ध एक अर्कालाई उचालेर निषेध र अस्वस्थ ढङ्गले अगाडि बढ्न खोज्नु, खुल्ला र स्पष्ट नभई बाहिर एउटा कुरा गर्ने र भित्र अर्को कुरा गर्ने गलत परम्परा आदि अहिलेको हाम्रो पार्टीभित्रको मूल समस्या हो । नेकपाभित्रको यो विवादले देश नै तरङ्गीत बनाएको छ । विदेशी शक्ति केन्द्रहरु र स्वदेशी प्रतिक्रियावदीहरु नेकपाभित्रको विवादलाई थप चर्काएर पार्टी फुटाउने षड्यन्त्रमा छन । यी सबै षड्यन्त्र, विवाद र समस्याहरुको क्रान्तिकारी ढङ्गले उत्तर खोज्ने क्रममा नै पार्टीभित्र अन्तरसङ्घर्ष चुलिएको छ । यसको सामना गर्ने सवालमा ठूलो सङ्कट देखा परेको छ । यो सङ्कटलाई क्रान्तिकारी सङ्कटकै रूपमा ग्रहण गर्न सक्नु पर्दछ । सचेत ढङ्गले पार्टी अन्तरसङ्घर्षलाई स्वच्छ र वैज्ञानिक बनाउँदै राम्रोभन्दा राम्रो परिस्थितिमा बदल्न सक्नुपर्दछ तर कहिलेकही अन्तरसङ्घर्षले आफ्नो वर्ग, मुक्ति र नयाँ सभ्यताको च्यूत गराउन खोज्यो भने त्यसको रक्षाको लागि खराबभन्दा खराब परिस्थितिको पनि सामना गर्न सक्नु पर्दछ । तर हामीले यसको अपेक्षा गरेको छैनौँ ।
हाम्रो चेतना समाजवादी हुनुभन्दा पुँजीवाद भन्दा पनि तल सामन्तवादी अवस्थाको छ । अन्तर्राष्ट्रिय रूपमा दलाल पुँजीवाद हाबी छ । यसरी हेर्दा सामन्ती, दलाल पुँजीवादी चेतना र व्यवहारले हामीलाई ङ्याकेको छ । वैचारिक धरातल समाजवादी भनिए पनि हाम्रो व्यवहार सामन्ती, दलाल पुँजीवादी बन्न गएको छ । यसकै प्रतिविम्बको रूपमा पार्टीभित्र अन्तरसङ्घर्ष देखा परेको छ । रूपमा हेर्दा पद, विधि, प्रतिष्ठा तथा कार्यविभाजन जस्तो देखिए पनि सारमा गलत विचार र सही विचार बीचको सङ्घर्ष नै हो । गलत र सही विचारको सङ्घर्षद्वारा आफ्नो वर्गीय धरातलको आधारमा मान्छेले आफ्नो वैचारिक आधार तयार गर्दछ । मान्छे स्वयं विपरीतहरुको एकता हो । समाज र पार्टी पनि विपरीतहरुको एकता नै हो । निश्चित उद्देश्य र सही विचारको लागि एकता– सङ्घर्ष– रूपान्तरण व्यक्ति, समाज र पार्टीमा निरन्तर चल्ने प्रक्रिया हो । त्यही आधारमा विभिन्न प्रश्नको वैज्ञानिक र वस्तुवादी ढङ्गले हल गर्नै पर्दछ ।
विचारको प्रश्न : मार्क्सवाद– लेनिनवाद र समाजवाद उन्मुख जनताको जनवाद नै अहिलेको हाम्रो वैचारिक आधार हो । हामीले प्रयोग गर्दै आएको सामाजिक व्यवहारहरुले पैदा गरेको सैद्धान्तिक आधारहरु, विज्ञान र प्रविधिमा भएको विकासको गति, देशको भूराजनीतिक अवस्था र आजको युग अनुसार मार्क्सवादी चेतलाई थप विकास गरी समाजवाद उन्मुख जनताको जनवादलाई जनताको समाजवादमा बदल्दै आफ्नो सैद्धान्तिक आधारलाई महाधिवेशनद्वारा सुदृढ गर्नु पर्दछ । त्यही विचारको आधारमा पार्टी एकतालाई मजबुत बनाउनु पर्दछ । राष्ट्रियताको प्रश्न : आजको युग साम्राज्यवादी युग नै हो । यो एक ध्रुवीय अवस्थाबाट बहुध्रुवीय बन्दै छ । हाम्रो जस्तो तेस्रो विश्वका लागि साम्राज्यवादी हस्तक्षेप नै राष्ट्रियता माथिको हस्तक्षेप हो । हाम्रो आन्दोलनको एउटा महत्त्वपूर्ण पक्ष साम्राज्यवादी तथा विदेशी हस्तक्षेपलाई कमजोर र परास्त गरी स्वाधीनता कायम गर्ने नै हो । राष्ट्रियताको परिभाषालाई व्यापक बनाउँदै अरू देशसँग समानता र तटस्थताको नीति अपनाउँदै हिजो भएका असमान सन्धि सम्झौता निष्क्रिय बनाई खारेज गर्ने, थप सन्धि सम्झौता गर्दा देशको हितमा सचेत रहनै पर्दछ । आज एमसीसी संशोधन नगरी यथास्थितिमा पास गर्नै हुँदैन, किनकि हिन्द प्रशान्त रणनीतिको व्यावहारिक रूप नै एमसीसी हो । यो अमेरिकाको नयाँ ढङ्गको उपनिवेशवादी कदम हो । त्यसैले यो विषय जटिल र गम्भीर सैद्धान्तिक विषय हो । त्यसका विरुद्धमा कम्युनिस्ट मात्र होइन देशभक्त, प्रगतिशील पार्टीहरु र जनसमुदायलाई एकताबद्ध गर्न सक्नु पर्दछ ।
पार्टी सञ्चालनको प्रश्न : पार्टीलाई विधि, विधान र पद्धतिमा चलाउँदै व्यक्ति होइन नीति प्रधान बनाउनु पर्दछ । सबै विषयमा उच्च जनवादी छलफलको आधारमा सामूहिक निर्णय गरी कार्यान्वयमा केन्द्रीयता लागू गर्ने विधिलाई केन्द्रदेखि तल्लो कमिटी र पार्टी सदस्यसम्म पुयाउनु पर्दछ । पार्टीलाई जनतामा फर्काउने तत्कालीन साङ्गठनिक विधि र सङ्गठनले समाजको नेतृत्व गर्दै समाजलाई रूपान्तरण गरी समाजलाई प्रमुख र निर्णयक बनाउँदै राज्यको क्रमशः विलोप गर्ने दीर्घकालिन साङ्गठनिक विधिको विकास गर्नु पर्दछ ।
सरकार सञ्चालनको प्रश्न : पार्टीको निर्देशनमा सबै तहको सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण गरी पार्टीले तयार गरेको घोषणा पत्रको आधारमा सरकारलाई वास्तविक लोकप्रिय बनाउन सचेत प्रयत्नद्वारा सर्वहारा वर्ग, गरिब जनता, जनजाति, दलित, मधेसी, महिला पक्षीय सरकारको रूपमा स्थापित गर्न सक्नुपर्दछ ।
यी समस्या र प्रश्नहरुको जवाफ तत्कालीन रूपमा पार्टीको सचिवालय, स्थायी समिति, केन्द्रीय समितिको बैठकबाट व्यापक छलफल, बहस, वाद, विवाद, आलोचना, आत्मआलोचनाको विधिबाट खोज्नु पर्दछ । यसबाट पनि हल नभएमा एकता महाधिवेशनबाट खोज्नुपर्दछ । नेतृत्व भनेको मूलतः विचार नै हो । नेतृत्वहरुको सङ्घर्ष मूलतः विचारकै सङ्घर्ष हो । त्यसैले पार्टीभित्रको आजको समस्यालाई वैज्ञानिक, वस्तुवादी, व्यवहारिक बनाई विचार र पार्टी रूपान्तरणलाई केन्द्रमा राख्नु पर्दछ । दुनियाँ बदल्नु छ भने दुवै अध्यक्षहरु जिम्मेवार र जवाफदेही हुनै पर्दछ । एउटा हातले मात्र ताली नबज्ने भएकाले दुवै अध्यक्षहरुले दूरदर्शिता र लचकता अपनाउन आवश्यक छ । दुवैको तर्फबाट आवश्यक अनुसारका त्याग गरी रूपान्तरण सहितको पार्टी एकतालाई सुदृढ बनाउन प्रतिबद्ध हुनै पर्दछ । विचारमा एकरूपता कायम गर्दै साम्राज्यवादी तथा बाहिरी हस्तक्षेप र देशभित्रको प्रतिक्रियावादी हर्कतलाई कमजोर बनाई पार्टी एकतालाई नयाँ आधारमा नयाँ एकता कायम गरी सुदृढ बनाउनु नै आजको महत्त्वपूर्ण आवश्यकता हो ।
0 comments
Write Down Your Responses