केही दिनदेखि कोभिड १९ को दोश्रो भेरियन्ट देखापरेसँगै सिन्धुली पनि लकडाउनमा छ । नागरिकमा एक प्रकारको मानसिक त्रास छाएको छ । कस्लाई यो सर्ने हो, कस्लाई नसर्ने हो भन्ने कसैलाई थाहा छैन । कोभिडका कारण जिल्लाभित्र र बाहिर गरी ९ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।
जिल्लामै कोभिडको लागि भनेर ५० बेडको अस्पताल जिल्लाका नेता कार्यकर्ता, नागरिक समाज र सबै पेशाकर्मी व्यवसायीको सहयोगमा बन्यो । गज्जवै भयो । अब भने जीवन बाँच्छ भन्नेमा ढुक्क थियौँ । जब कोभिडको दोश्रो लहर चल्यो । बिरामी नयाँ अस्पतालमा सारियो । त्यहाँ अक्सिजन प्लान्ट छ । उपचारको अभावमा नागरिकको जीवन गुमाउनु पर्दैन भन्नेमा विश्वस्त भयौँ ।
जब अस्पतालका डाक्टरले छलफलका क्रममा भने, ‘अक्सिजन भरिएका सिलिन्डर संधै भरिएको अवस्थामा हुन्न । विजुलीको लाईन जानासाथ अक्सिजनको भएको सिस्टम वन्द हुन्छ । जेनेरेटर छैन । भएको विजुलीको विल कस्ले तिर्ने भन्ने ग्यारेन्टी छैन । दक्ष जनशक्ती हामीसँग छैन । भएको जनशक्तिसँग विरामीलाई अप्ठयारो पर्दा अक्सिजन मेशिन चलाउनेसमेत सक्षम छैन । घोषित–अघोषित, सेक्रेट–ओपन जे भने पनि त्यहाँ राख्दा विरामीले अकालमै मृत्युवरण गर्नुपर्ने हो कि भन्ने अवस्था छ । यस्तो अबस्थामा कसरी होला कोभिड संक्रमितको उपचार ?
अस्पताल बन्यो, चाहिने जति दक्ष जनशक्ति छैन । जति छन् वलवुताले भ्याएसम्म काम गरेकै छन् । गरुन पनि के ? पूर्वाधार र आवश्यक श्रोत–साधनको उपलब्धता नहुँदा उनीहरुलाई काम गर्न समस्या छ ।
जिल्लामा श्रोत साधनको अभावै भएको अवस्था भने हैन । संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहसँग पर्याप्त श्रोत र साधन छ । तर ती सवै विकास निर्माणमा लगानी भएको छ भन्दै पन्छिने गर्छन् । स्थानीय तह अक्सिजनसहितको आइसोलेसन बनाउने होडवाजीमा छन् । त्यहाँ चाहिने जनशक्ति छ या छैन ? खोजिँदैन । आवश्यक औषधिमुलो गर्न जसले पायो उसले पाउँछ, पाउँदैन ? विचार गरिँदैन । उपचारको ‘नम्स फलो’ गर्नुपर्छ कि पर्दैन ? हेरिँदैन । तर स्थानीय तह आइसोलेसन बनाउन सक्रिय छन् ।
सिन्धुलीमै २–३ स्थानीय तहका प्रमुखलाई नै कोभिड पोजेटिभ देखिएको छ । तीमध्ये २ जनाले कोभिड जितिसक्नुभएको छ । अर्काे एकजना अझै आइसोलेसनमा हुनुहुन्छ । उहाँहरुमा गम्भीर लक्षण भने देखिएन । देखिँदो हो त अनुभूति फरक हुँदो हो । त्यसले उपचार गर्ने पद्दतिमै फरक पार्न सक्थ्यो । उहाँहरुको अनुभुतिले उपचार प्रणाली व्यवस्थित गर्न सघाउ पुग्थ्यो । त्यसो भएन । जसलाई गम्भीर लक्षण देखिन्छ, ऊ छट्पटाई–छट्पटाई बाँच्नुपर्ने बाध्यतामा छ ।
हुँदाहुँदा स्थानीय तह यति मनमौजी खर्चमा केन्द्रित भए कि २०० सेकेन्ड प्रयोग गर्न मिल्ने अक्सिजन सिलिन्डर ल्याएर नागरिक बचाउन सकिन्छ भन्दै सगौरव घोषणा गर्दैछन् । त्यसको उपादेयता छ या छैन भनेर हेरिँदैन, खोजिँदैन ।
मान्छेको जीवनको मूल्य बाँच्नुमा मात्र थाहा हुन्छ । विकासको नाममा जीवनको मूल्य नाप्न सकिन्न । पहिला जीवन रहे न विकास पनि काम लाग्ला ? जीवनै रहेन भने त्यो विकासको उपभोग कसले गर्ला ?
यतिबेला अन्य जिल्ला जस्तै सिन्धुली पनि अप्ठ्यारो अवस्थासँग जुधिरहेको छ । यो बेला नागरिकले भोट हालेको जनप्रतिनिधिबाट धेरै अपेक्षा गर्छ । उसले जीवनको अमूल्य सम्पति ‘भोट’ दिएको हो । जुन भोट हाल्दा उसको हृदयले जे बोल्यो, त्यही गर्यो । यहाँ स्थानीय तहका जनप्रतिनिधि आफ्नै तालमा आफूलाई लागेको कुरा कसैसँग सल्लाह नगरी गरिरहनुभएको छ । प्रदेशका माननीयहरु विभाजित हुनुहुन्छ । कोही समग्रमा जस पाए गर्ने, नपाए नगर्ने वा सके असहयोग नै गर्ने दाउमा हुनुहुन्छ । कोही हरेक कुरालाई सामान्य रुपमा लिएर हिँड्ने । कोही छायाँसम्म नदेखिने । संघीय माननीयहरुको त के कुरा गर्नु र । यो भयावह अवस्थामा कहाँ हुनुहुन्छ भन्ने पत्तै छ्र्रैन ।
हो, जनप्रतिनिधिले नागरिकको अन्तरहृदयको आवाज बुझ्नुपर्छ । सजिलोमा तपाईँको उनीहरुलाई के काम ? जब अप्ठ्यारो पछर्, तपाईको आवश्यकता नागरिकले महशुस गर्न थाल्छ । तपाईँ कहाँ हो, के गरिरहनुभएको छ भनेर प्रश्न गर्न थाल्छ । अझै बितेको केही छ्र्रैन । आऊ, सबै मिलेर एकीकृत प्रयत्न गरौँ । जीवन पहिलो हो, बचाऔं । जीवन रहे विकासका अभियान हेर्न र देख्न पाइएला ।
जनप्रतिनिधिहरुको यो आआफ्नो डम्फु बजाईले अहिले त मज्जै आउला । तर भविश्यमा नागरिकको खवरदारी र प्रश्नवाट भाग्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । नागरिकसँगको दरो हतियार भनेको आवाज हो । उनीहरुलाई वोल्न रोक्न सक्नु हुन्न । एउटै टेवलमा वस्ने, छलफल गर्ने र काममा लाग्ने बेला हो यो । आउनुस् सबै सँगै बसेर यो महामारीविरुद्धमा अभियान चलाऔं ।
(लेखक, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष हुन् । साभार- नागरिक खबर डटकमबाट
0 comments
Write Down Your Responses