Powered by Blogger.
सिन्धुली सिसी क्यामेराको उच्च निगरानीमा


अपराध न्यूनिकरणमा महत्वपूर्ण योगदान पुग्ने प्रहरीको विश्वास 

सिन्धुली, २९ असार । के तपाई सार्वजनिक स्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दै हुनुहुन्छ भने सचेत हुनुहोस्, तपाई क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ ।

सिन्धुली सदरमुकामको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र, प्रमुख सडक क्षेत्र र जिल्ला प्रवेश गर्ने राजमार्गका प्रवेशद्धारामा  सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । सिन्धुलीमाढी क्षेत्रभित्र ९६ ठाउँमा सिसिटिभी जडान छ भने सदरमुकाम बाहिर वीपी राजमार्गको भिमान, सिन्धुलीमाढी चेकपोष्ट, ढुग्रेबास, खुर्कोट, नेपालथोकमा अटोमेटिक नम्बर प्लेट रिकभरेज(एएनपीआर) क्यामेरा जडान गरिएको छ । त्यस्तै मदन भण्डारी राजमार्ग स्थित दुधौली, कपिलाकोट र हरिहरपुरगढी नाकामा पनि अटोमेटिक नम्बर प्लेट रिकभरेज(एएनपीआर) सिसिटिभी क्यामेरा जडान गरिएको छ । 

सिसिटिभी क्यामेरा जडानले नागरिकलाई सार्वजनिक स्थानमा गलतकार्य नगर्न सचेत गराउने प्रहरीको विश्वास छ । कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभीको रेकर्ड मार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यसको प्रयोग प्रभावकारी बन्ने गरेको छ ।

सिन्धुली उद्योग बाणिज्य संघको अगुवाईमा तत्कालिन जिल्ला विकास समिति, कमलामाई नगरपालिका र जिल्लाका वैंक तथा वित्तिय संस्थाहरुको सहयोगमा २०७३ सालमा २२ लाख खर्च गरेर २२ वटा सिसी क्यामेरा जडान गरिएको भएपनि मर्मत संभारका लागी पर्याप्त बजेट नहूँदा त्यसले निरन्तरता पाउन सकिरहेको थिएन । 

आर्थिक वर्ष २०७५/७६ मा कमलामाई नगरपालिकाको प्रविधीयुक्त सहर निर्माण गर्ने अभियान अन्र्तगत १ करोड १६ लाख रुपैयाँ खर्चेर सडकमा सोलार बत्ति तथा सिसी क्यामेरा जडान गरिएको थियो । तर नियमित मर्मतका लागी बजेट ब्यवस्थापन नहुँदा निरन्तर सञ्चालन र ब्यवस्थापनकै समस्यामा सिसी क्यामेरा प्रभावकारी बन्न् सकिरहेको अवस्था थिएन । चालु आर्थिक वर्षमा कमलामाई नगरपालिका मार्फत बजार क्षेत्रका सिसी क्यामेरा मर्मत तथा नयाँ थप गरिएको साथै राजमार्गमा प्रदेश प्रहरी कार्यालय हेटौडा मार्फत अटोमेटिक नम्बर प्लेट रिकभरेज(एएनपीआर) सिसिटिभी क्यामेरा जडान गरिएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले बताउनुभयो । 

प्रबक्ता सुबेदीले भन्नुभयो “सिसी क्यामरा हुँदा हामीलाई दुर्घटना गराएर भाग्नेहरूलाई समाउन धेरै सजिलो भएको छ । हामीले यसरी भागेकाहरूलाई सिसी क्यामेराको सहायताले नियन्त्रणमा लिन सफल भएका थुप्रै उदाहरणहरू छन् । यो सँगै सिसी क्यामेरा हुँदा कुनै पनि घटनाको अनुसन्धान,विश्लेषण गर्न सिसी क्यामेरा रेकर्डेड छ भने धेरै कुरामा सहयोग पुग्छ । सिसी क्यामेरा नहुँदा त अहिलेको प्रविधिमैत्री दुनियाँमा धेरै गाह्रो हुन्छ ।” सिसी क्यामेरा सञ्चालन हुँदा अपराध नियन्त्रण र अनुसन्धानमा निक्कै सहज हुने गरेको उहाँले बताउनुभयो ।

अनुमति बिना नै सिसी क्यामेरा जडान र सञ्चालन बढ्दै

सरकारले अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा विद्युतीय उपकरणको प्रयोगलाई प्रभावकारी बनाउन तथा सिसी टिभिको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्न सिसी क्यामेरा जडान तथा सञ्चालन सम्बन्धी कार्यविधी–२०७२ कार्यान्वयनमा ल्याएको भएपनि सिन्धुलीमा त्यसको प्रभावकारी कार्यान्वयन र नियमन हुन सकेको अवस्था देखिदैन ।

सीसी क्यामेरा प्रयोगकर्ता बढे पनि अधिकांशले तपाईं ‘सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भन्ने सूचना टाँस्ने गरेका छैनन् । सर्वसाधारणलाई जानकारी नै नगराई र अनुमति नलिई सीसी क्यामेरा राख्नु गैरकानुनी हो । सीसी क्यामेराको जडान र प्रयोगबारे सरकारले मापदण्ड बनाए पनि त्यसको कार्यान्ब्यन हुन सकेको अवस्था छैन ।

कार्यविधी अनुसार सिसी क्यामेरा जडान तथा सञ्चालनका लागी सिसी क्यामेरा विवरणहरु जस्तै क्यामेरा बनेको कम्पनी, मेगापिक्सेल, डाटा स्टोरेज क्षमता, क्यामेरा जडान गर्ने स्थान, क्यामेराको संख्या र क्यामेरा जडान गर्नुपर्ने कारणहरु खुलाई जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था भएपनि सिन्धुलीका अधिकास सिसी क्यामेरा प्रयोग गर्ने निजी कम्पनी, होटल, रेष्टुरेन्ट तथा सार्वजनिक तथा व्यक्तिगत निकायले जडान र सञ्चालन अनुमति लिने गरेका छैनन् ।

कार्यविधी अनुसार सवै सिसी क्यामेरा प्रयोग गर्ने निकायलाई नियमनमा ल्याउने र नियम विपरित सिसी क्यामेरा जडान र सञ्चालन गर्ने संस्था तथा ब्यक्तिलाई विधुतीय कारोबार ऐन–२०६३ अनुसार कार्वाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताउनुभयो ।

कार्यविधीले सिसी क्यामेरा जडान र सञ्चालनलाई तिन क्षेत्रमा बर्गिकरण गरेको छ । सामाजिक क्षेत्रका लागी, ब्यापारिक प्रयोजनका लागी र निजी प्रयोगका लागी जडान हुने सिसी क्यामेराको मापदण्ड र उदेश्य निर्धारण गरेको छ ।

सरकारी कार्यालयहरुमा पनि छैन सिसी क्यामेरा

सरकारी निकायले अनिवार्य रुपमा सिसी क्यामेरा जडान तथा सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि जिल्लाका अधिकांश सरकारी कार्यालयहरुले सिसी क्यामेराको जडान गरेका छैनन् । सार्वजनिक सेवा प्रवाह र सुरक्षालाई ब्यस्थित गर्न सरकारी कार्यालयले अनिवार्य सिसी क्यामेरा जडान गर्नुपर्ने भएपनि जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय लगायतका सरकारी कार्यालय बाहेकका कार्यालयहरुमा सिसी क्यामेरा जडान र सञ्चालनमा रहेका छैनन् ।

आन्तरिक सेवा प्रवाहलाई सुदृढ बनाउन कार्यालय प्रमुखले सिसी क्यामेरा मार्फत कर्मचारीहरुको अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउने सरकारी निर्देशन भएपनि कार्यालयमा सिसी क्यामेरा जडान र सञ्चालन नहुँदा प्रभावकरी सेवा प्रवाह समेत हुन सकिरहेको अवस्था छैन ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले सबै कार्यालयहरुमा सरकारको निर्देशन अनुसार सीसी क्यामेरा जडान गर्न लगाउने र प्रभावकारी रुपमा सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । 



, ,

0 comments

Write Down Your Responses