Powered by Blogger.
बामदेवलाई प्रश्न-भूकम्प किन नरोकेको ? गणेश हिमाल किन तल सर्‍यो ?

बामदेवलाई प्रश्न-भूकम्प किन नरोकेको ? गणेश हिमाल किन तल सर्‍यो ?
'सुशील कोइरालाले कोदालो नखन्दा सरकार कतै देखिएन'
हाम्रोमा नकारात्मक सोच यति विकृत ढंगले आउछ कि, राम्रो कहिँ कतै देख्दै नदेख्ने । यस्तो सोच रहेसम्म त यो मुलुकको प्रगति हुन सक्दैन भन्ने निष्कर्षमा पुग्न थालेको छु । आम जनताको के कुरा गरौं बौद्धिक जमात, पत्रकार हुँदै यहि बैठकमा माननीय सभासदहरुमा पनि नराम्रोमात्र देख्ने प्रवृति हावी छ । अब मैले पनि तपाईहरुले जे जे भन्नुहुन्छ त्यहि सही हो भन्दिनुपर्ने हो भने त त्यहि भन्दिउला, तर वास्तविकता अर्कै छ ।
फाइल तस्वीर
हद दर्जाका आरोप
वास्तवमा प्राकृतिक प्रकोप भनेको बाजा बजाएर आउने कुरा होइन तर यो कुनै पनि बेला आउन सक्छ भन्ने हामी सबैलाई थाहा छ । सरकारले बाढी पहिरो र भूकम्प रोक्न त सक्दैन । यसबाट हुन सक्ने क्षतिलाई सकेसम्म कम गर्ने हो । कुनै पनि प्रधानमन्त्री, मन्त्री वा सरकारले प्राकृतिक प्रकोप आओस, जनता मरुन् भनेर सोच्दो हो ? तर यहाँ त यस्तो खालको आरोप लगाउन पनि बेर छैन । सुरक्षाकर्मी, कर्मचारी र राज्यका सबै संयन्त्र दिनरात खटिएका छन्, तर पनि भन्छन्-सरकार कतै छैन । यस्तो कुतर्कको जवाफ के हुन सक्छ ?
हाम्रा सुरक्षाकर्मी विश्वमै उत्कृष्ट
वास्तवमा भूकम्पपछिको खोज उद्दार र राहतमा हाम्रा सुरक्षाकर्मी जसरी खटिए त्यसले के प्रमाणित गरेको छ भने, उनीहरु अत्यत्तै सक्षम छन् । खोज र उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र शस्त्र प्रहरीभित्र तालिम प्राप्त जनशक्ति छ । तर हामीसँग त्यो अनुसारको उपकरण छैन । विदेशी सेना आएर हामीलाई सहयोगमात्र गरेका हुन् । तर अधिकांश जीवित उद्दार गर्ने र शव निकाल्ने काम त हाम्रै सुरक्षाकर्मीले गरे । विदेशीले १३ ओटा उद्धार गर्दा हाम्रा सुरक्षाकर्मी १६ सय जनाको उद्धार गरे ।
विदेशीहरु त ठूला फराकिला ठाउँमा ठूला गाडी लिएर जाने, हेलिकोप्टरबाट प्यारिफट लगाएर झरेर उद्दार गर्ने जस्ता तालिम लिएका छन् । हाम्रा चेपका घरभित्र छिरेर, घन र रेेतिले फलाम ढलान काटेर मान्छे उद्दार गर्ने तालिम त हामै्र सुरक्षाकर्मीसँग मात्रै छ । विदेशी सेनाहरुले समेत भने-नेपाली सुरक्षाकर्मीसँग त हामीले सक्ने रहेनछौं । भूकम्पको एक घण्टाभित्र हाम्रा सुरक्षाकर्मी उपत्यकाका सबै ठाउँमा पुगेर खोज र उद्दारमा जुटिसकेका थिए ।
सेना प्रहरी सरकारी होइनन् ?
प्रधानमन्त्री राहत कोषमा पैसा नदेऊ भनेर केही नाम चलेकै मान्छेहरु लागे, कोषमा भ्रष्टाचार हुन्छ पनि भने । तर अहिले उनीहरुनै लुरुक्क परेर प्रधानमन्त्री कोषमै रकम जम्मा गर्दा पारदर्शी हुने रहेछ भन्दै आइरहेका छन्
लाङटाङ लगायत केही हेलिकोप्टर समेत बस्न नसक्ने मौसम भएको बाहेक अन्यत्र पनि सुरक्षाकर्मीले खोज र उद्धार थालि सकेका थिए ।
हामीले सुरक्षाकर्मीसँगै हेलिकोप्टरमा तत्कालिन आवश्यक खाद्यान्न पनि पठाइसकेका थियौं । वास्तवमा हाम्रा सुरक्षाकर्मीलाई सबै साधानस्रोत उपलव्ध गराउने हो भने जस्तोसुकै बिपत्तिको बेला पनि विदेशी सेना बोलाउनु पर्दैन,हामीनै सक्षम छौं । शुरुमै मर्ने त मरिहाले तर धेरै मान्छेलाई बचाउन सकियो, यतातिर कसैले स्याबासी समेत भन्दैनन् । बरु कसरी हुन्छ सरकारलाई गालि गर्ने मसला खोज्छन् ।
अहिले यहाँ बिभिन्न खाले मान्छेहरु सरकारलाई बद्नाम गर्न हिडेका छन् । सरकारले केही गरेन भन्दै सरकारको खातामा पैसा नहाल भन्दैछन् । तर भूकम्प गएको एक सातासम्म समेत तिनीहरु कुन दूलामा थिए ? त्यतिन्जेल सरकारले त चार पाँच चरणको खोज उद्दार तथा राहत लगिसकेको थियो । सेनाका जवानहरु खतरा मोलेर चेप चेपका घरबाट मान्छेको उद्दार गरिरहेका छन्, प्रहरी र सशस्त्र प्रहरी खटिएर मान्छेको जीवन रक्षा गरिरहेका छन् । अबरुद्ध सडकहरु खुलाउदैछन् । सबै निजामति कर्मचारी सार्वजनिक विदा समेत नभनेर राहतका काममा खटिएका छन् । तर पनि ती मान्छेहरु भन्दै थिए-सेना प्रहरी र कर्मचारी खटिएका छन् तर सरकारको उपस्थिति कतै छैन ।
खान नपाएर को मर्‍यो ?
यो भन्दा हाँस उठ्दो र उरन्ठेउलो कुरा के हुन्छ ? सेना प्रहरी र कर्मचारी भनेको सरकार होइन ? सरकारको उपस्थिति भनेको प्रधानमन्त्री कोदालो बोकेर खन्न गएपछि मात्रै हुने हो ? सरकार भनेको के हो ? यति कुरा पनि नबुझ्नेले गरेका कुतर्कको जवाफ के गरि दिने ? वास्तवमा विपदको व्यवस्थापन गर्ने कुरामा हामी काँचो थियौं तर सोचे भन्दा राम्रो भएको छ । खान नपाएर कोही एकजना मरेको छ ? मलाई प्रमाण सहित दिनुस । औषधी उपचार नपाएर भूकम्पका घाइते मरेका छन् ? मलाई उदारहण दिनुस । भौगोलिक कारणले गर्दा समयमै उद्दार टोली पुग्न नसक्दा केही घण्टा बाँचेर मान्छे मरेको हुन सक्छ, यस्तो बेलामा हुन्छ त्यस्तो । तर त्यो बाहेक कहिँ कतै खान नपाएर वा बेलैमा उद्दार नभएर मान्छे मरेका छैनन् । नकारात्मक कुरामात्र नसोचौं, हामीले गर्न सक्ने रहेछौं भन्ने कोणबाट पनि बहस गरौं ।
जो चोर उसको ठूलो स्वर
यहाँ प्रधानमन्त्री राहत कोषमा पैसा नदेऊ भनेर केही नाम चलेकै मान्छेहरु लागे । प्रधानमन्त्री कोषमा भ्रष्टाचार हुन्छ पनि भने । तर अहिले उनीहरुनै लुरुक्क परेर प्रधानमन्त्री कोषमै रकम जम्मा गर्दा पारदर्शी हुने रहेछ भन्दै आइरहेका छन् । व्यक्तिले उठाउदा भ्रष्टाचार नहुने, अनि सरकारको कोषमा भ्रष्टाचार हुने ? यो भन्दा पाखण्डी कुरा अरु केही हुदैन । प्रधानमन्त्री राहत कोष कुनै एउटा व्यक्तिको खाता हो ? त्यो कति प्रक्रियाबाट रकम निकाल्नुपर्छ ? यहाँ कति व्यक्ति र संस्थाले करोडौं उठाएर लाख बाँडेका छन् । उनीहरुले कति उठाए, कति बाँडे कुनै विवरण हुदैन । सरकारी कोषको त एक एक हिसाब हुन्छ, यस्तो पारदर्शी कोषलाई बद्नाम गराउन केही मान्छे नांगो भएर लागे । तिनीहरुले कति उठाए र कति दिए ? हिसाब गर्ने हो भने उनीहरुनै नांगेझार हुन्छन् ।
हुँदा हुँदा एकजनाले त भूकम्प आउँदैछ भन्ने थाहा पाएर पनि सरकारले किन केही नगरेको भन्दै भूकम्प रोक्न किन सकिनस् भन्ने ढंगले पनि प्रश्न गरे
वास्तवमा विदेशीहरु आएर हाम्रो काम देखेर प्रशंसा गरे । यस्तो अवस्थामा पनि तपाईहरुले व्यवस्थित ढंगले काम गर्नु भएछ भन्ने प्रशंसा गरे । तर हाम्रै देशमा सरकारको सरकारी सुरक्षाकर्मीहरुको प्रशंसा गर्न मान्छे कन्जुस्याई गर्छन् । दरिद्र मानसिकता भनेको यहि हो । हामीले अब हुन सक्ने बाढी पहिरोको सम्भावित जोखिमको आँकलन पनि गरिसकेका छौं । सोही अनुसार आवश्यक त्रिपाल, खाद्यान्न, गैर खाद्य पदार्थ, आवश्यक उपकरणहरु पनि व्यवस्था गरेर राखेका छौं । सरकारले गर्ने पूर्व तयारी जो हो त्यो गरिएको छ ।
माटे घरमा जापानी शिक्षा
धेरै कुरा त हामी सिक्दैछौं । भूकम्पीय दृष्टिले नेपाल विश्वकै ११ नम्बरमा र काठमाडौं एक नम्बर जोखमको ठाउँ भनेर त हामी सबैले पढिरहेकै कुरा हो । यो कुरा सुशील कोइराला प्रधानमन्त्री भएका बेला आएको त होइन, वीरेन्द्र राजा भएकै बेलादेखि थाहा पाएको हो नि । तर पनि ठक्कर नखाई चेतिन्न भने जस्तै ठक्कर खाएपछि मात्र थाहा हुने रहेछ । हामीले भूकम्पको शिक्षा जापानबाट लियौं तर जापानी प्रबिधिका घर त बनाएनौं । जापामा भूकम्प प्रतिरोधी घरहरु छन् । १० रेक्टरको भूकम्प आए पनि घर हल्लिन्छन्, दराजमाथिका सामानहरु झरेर पुट्छन्, पंखा र बत्तिहरु झरेर फुट्छन् भनेर खाटमुनि लुक्नु, टेबुलमुनि टाउको घुसाउनु, कुर्सीले टाउको छोप्नु भन्ने शिक्षा उनीहरुले दिए ।
हामीले त्यहि गर्ने हुँदा धेरै मान्छे घरभित्र किचिएर मरे । माटाको घरभित्र बसेर खाटमुनि लुकेपछि कोही बाँच्छ ? हो अब हामीले सिक्यौ । अब नेपालमा माटोको जडानबाट घर बनाउनु हुदैन भन्ने पुष्टि भयो । अब दश रेक्टरसम्मको भूकम्प आए पनि केही नहुने खालका घर बनाउनुपर्छ र सरकारले त्यसको तयारी गर्दैछ ।
हिमाल सरकारले सारेको हो ?
अब मान्छेहरु यो सरकार के हेरेर बसेको छ ? सरकार कहाँ छ ? यसले केही गरेन भन्छन् । दिमागभरि नकारात्मक गिदी बोकेका मान्छेहरुसँग बहस गर्न सकिन्न । भूकम्प आउदैछ भन्ने कुरा सरकारले थाहा पाउनु पर्थ्यो पनि भन्छन् । ज्वालामूखी फुट्यो भने के गर्ने ? त्यसले कति जमिनबाट लाभा निकाल्छ भन्ने सरकारलाई था हुदैन । भूकम्प आउछ भन्ने त थाहा थियो, कुन बेला आउछ भन्ने त थाहा हुने कुरा भएन । अब यसरी पहाडनै फटाउने गरी आउला भन्ने लागेको थिएन ।
तर धेरै पहाडहरु चिरा चिरा भएका छन् । त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ । जनताले पनि सुरक्षाका लागि अन्तयत्र सर्न तयार हुनुपर्‍यो । गणेश हिमाल एक मिटर तल झरेको छ, लाङटाङ माथि गयो रे । काठमाडौं उपत्यकानै सरेको छ भन्ने कुरा आएको छ । सगरमाथाको पनि त्यस्तै कुरा आएको छ । यो हिमाल र पहाडहरु तलमाथि सार्ने काम त सरकारको होइन होला नि ? तर ती मान्छेहरु यसमा समेत सरकारको दोष देख्न थालेका छन् । हुँदा हुँदा एकजनाले त भूकम्प आउँदैछ भन्ने थाहा पाएर पनि सरकारले किन केही नगरेको भन्दै भूकम्प रोक्न किन सकिनस् भन्ने ढंगले पनि प्रश्न गरे ।
हरेक कुरामा सरकारलाई दोषी देख्ने प्रवृतिबाट माननीय सभासदहरु पनि जोगिन नसक्नु दुःखद कुरा हो । ठिकै छ नि अब यो सरकार त संविधान जारी नहुन्जेललाई हो । नयाँ सरकार आउछ, त्यसले पुननिर्मार्णको काम गर्ने हो । कसरी गर्दो रहेछ हामी पनि हेरौंला ।
(उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमले राज्य व्यवस्था समितिका सभासदहरुलाई दिएको जवाफमा आधारित, गौतमको धाराप्रवाह प्रवचन पछि सरकारमाथि खनिएका सभासदहरु चुपचाप लागेका थिए)


0 comments

Write Down Your Responses