Powered by Blogger.
किन खान हुन्न विषादी हालेर पकाइएको आँप ?

विषादी हालिएको आँप बजारमा छ्यापछ्याप्ती, नखान चिकित्सकहरुको सुझाव
बजारमा अहिले रसायन हालेर पकाइएका आँप छ्यापछ्याप्ती पाइन्छन् । नेपालमा उत्पादन हुने आँप पाक्ने सिजन शुरु नभएका कारण अहिले बजारमा पाइएका आँप सबै भारतबाट ल्याइएका व्यापारीहरु बताउँछन् । काँचो आँपमा रसायन हालेर पकाइन्छ र सो रसायन शरीरका लागि हानिकारक हुन्छ । यो रसायनलाई त्यसैले विषादी भनिएको हो । रसायन वा विषादी हालेर पकाइएका आँपहरु खान नहुने चिकित्सकहरुले सुझाव दिएका छन् ।


आँप पकाउन क्याल्सियम कारबाइड नामको रसायन प्रयोग गरिन्छ । जसले मुटुरोग निम्त्याउन सक्ने तथा कलेजो र मष्तिष्कमा समेत असर गर्ने चिकित्सक धर्म भट्टराईले बताए ।

आँप उत्पादन गर्ने किसान र व्यापारीले  यतिबेला खुलेआम कारबाइड हालेको आँप बिक्री गरिरहेका छन् । कारबाइडमा रहेको कार्बनडाअक्साईड र हाईड्रोजनले अक्सिजनको मात्रालाई सोसेर २४ घण्टामै आँपलाई पकाइदिन्छ। उनीहरुले आँपलाई टिपेर बोरामा पोको पारी पकाउने, बढी तापक्रममा राखेर पकाउने तथा विभिन्न विषादीहरुको प्रयोग गरी पकाएर बजार पठाउने गर्छन् । यसरी पाकेको आँप खाँदा पेटसम्बन्धी रोग समेत लाग्ने चिकित्सकले बताए ।

कृत्रिम तरिकाले पकाइएको आँपमा किराको वृद्धि छिटो हुने र यस्तो आँप खाँदा शरीरमा गडबढी आउने चिकित्सकहरुले बताए । तर यसरी बजारमा आउने आँपहरुमा इथाइलिन अक्साईड जस्ता नेचुरल प्लान्ट हर्मोनको प्रयोग गरी पकाईएको छ भने यसले मानव शरीरमा खासै असर गर्दैन । यसरी पकाउँदा विषादीको मात्रा न्यून रहन्छ । तर स्वादमा भने केहि कमी हुन्छ । डाक्टर भट्टराइले भने । मधुमेहदेखि अन्य धेरै रोगका रोगीसम्म जसले पनि आँप सेवन गर्न मिल्छ । तर सेवन गर्न मिल्ने भन्दैमा बढी खान भने नहुने उनले बताए । विज्ञहरुको भनाई अनुसार आँपमा हाम्रो शरीरलाई चाहिने धेरै प्रकारका तत्वहरु हुन्छन् । विभिन्न खनीजहरु, भिटामिन ए, भिटामिन बी, भिटामिन ई लगायतका पहेंला फलफूलमा पाईने लगभग सबै प्रकारका तत्वहरु आँपमा पाईन्छन् ।

विषादी प्रयोग गरी पकाईएको आँपले कस्तो असर गर्छ त ?

- यस्तो आँप खाँदा यसले मुटु, कलेजो र मष्तिष्कमा असर गर्छ ।

- ज्वरो आउने, टाईफाइड रोग लाग्न सक्ने र वाकवाकी लाग्ने हुन्छ ।

- जीउ दुख्ने, झाडापखाला लाग्ने हुन्छ ।

- आलस्य हुन्छ ।

- कमजोरी हुन्छ ।

- मांशपेसी दुख्छ ।

स्वास्थ्यमा असर गर्ने यस्ता आँपको बिक्री वितरणमा रोक लगाउनतर्फ भने सम्बन्धित निकायबाट कुनै पहल भएको छैन ।


, ,

0 comments

Write Down Your Responses