Powered by Blogger.
बाबुरामका थोरै विकल्प

  • राम कार्की

बहस
हाम्रो पार्टी एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईको नयाँ शक्तिको प्रस्तावसँगै चर्चा सुरु भएको छ– ‘के बाबुराम भट्टराईले नयाँ शक्तिका रूपमा नयाँ पार्टी खोल्छन् ? र, एमाओवादी पुन: विभाजित हुन्छ ?’ जिज्ञासा जायज छन् । देश संविधान निर्माणको अन्तिम सँघारमा छ । बाबुरामजी संविधान निर्माणको महत्त्वपूर्ण समिति संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति हुनुहुन्छ । तसर्थ धेरैको जिज्ञासा छ, ‘संविधान जारी भएपछि भट्टराईले के गर्छन् ?
भट्टराईले के गर्नुहुन्छ भन्ने विषयमा छलफल गर्नुअघि यहाँ अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता भट्टराईको अवस्थाबारे चर्चा गरौँ । उहाँहरू दुवैजना प्रतिभाशाली नेता हुनुहुन्छ । तर, यसो होइन कि माओवादी आन्दोलनमा अरू प्रतिभाशाली मान्छे नै छैनन् । प्रतिभाशाली मान्छे माओवादी आन्दोलनमा थुप्रै छन् । प्रतिभा देखाउन मान्छेले सोहीबमोजिमको भूमिका पनि पाउनुपर्छ । माओवादी आन्दोलनमा प्रचण्ड, बाबुरामलगायतका केही नेताले जसरी आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त गर्नुभयो, त्यो अवसर कतिपयलाई प्राप्त भएन । पार्टी संस्थागत ढंगले चलेको भए, पार्टीको संस्थागत जीवनको हत्या नभएको भए आ–आफ्नो भूमिका निर्वाह गर्ने अवसर पार्टीका सबै कार्यकर्तालाई प्राप्त हुने थियो । तर, जतिसम्म न्यायोचित भूमिका पाउनुपथ्र्यो, त्यो भूमिका निर्वाह गर्ने अवसर पनि अन्य धेरै नेतालाई प्राप्त भएन । क्षमता र अवसरको उचित सन्तुलनले मात्रै मान्छेले विकासको गति पकड्न सक्छ । प्रचण्ड र बाबुरामलाई यो दुवै सन्तुलन मिल्यो ।

अहिले परिस्थिति अलि फेरिएको छ । प्रचण्ड र बाबुरामले ठूलो बोझ बोक्नुभएको छ । त्यो बोझले केसम्म गरेको छ भने उहाँहरूको मुन्टो नै बंग्याइदिएको छ । बांगिएको छ । जब उहाँहरूले आफ्नो प्रतिभाले नधान्ने बोझ बोक्नुभयो, उहाँहरूको मुन्टो बांगियो । यो स्वाभाविक पनि हो । उहाँहरूले पद्धति निर्माण गरेर स्थापित गरेको भए ठूलो बोझ बोक्नुपर्ने र मुन्टो बंग्याएर हिँड्नुपर्ने अवस्थामा पुग्नुपर्दैनथ्यो । उहाँहरूले पद्धतिमा लैजानुको सट्टा आफूहरूलाई नै संस्था मान्ने भुल गर्नुभयो ।
तत्कालीन राजाले सर्वोच्च अदालतबाट दण्डसजाय पाएकालाई पनि आममाफी दिने अधिकार राख्थे । जिल्ला, अञ्चल, क्षेत्रीय र सर्वोच्च अदालत थिए । तल्लो तहका अदालतबाट घुम्दै आएको मुद्दा सर्वोच्चमा पुग्थ्यो । कदाचित् त्यो मान्छेले सर्वोच्चमा पनि हार्‍यो भने सर्वोच्चले गरेको फैसलाबमोजिम पाउनुपर्ने सजायलाई पनि माफी दिन पाउने अधिकार राजामा थियो । तर, हाम्रो पार्टीमा के भयो भने नेताले जिल्ला अदालतलाई पनि फैसला गर्न दिनुभएन । सर्वोच्चको फैसलापछि माफी दिने अधिकार हुँदाहुँदै उहाँहरू त जिल्ला अदालतसम्मै पुग्नुभयो । जसले गर्दा माओवादी भनेकै प्रचण्ड र बाबुराम हुन् भन्ने स्थापित भयो । त्यसको असर बिस्तारै जहर बेच्ने व्यापारी, फेरी लगाउने जोगी र झाँक्रीको संगठनले पनि उहाँहरूलाई नै खोज्ने अवस्था सिर्जना भयो । प्रचण्ड र बाबुरामलाई भेटेपछि मात्रै माओवादीलाई भेटेजस्तो हुने भयो । यसो हुनुको एउटै कारण हो, नेताहरूले पद्धति बसाल्न सक्नुभएन । पद्धति बसालेको भए नीति, योजना बनाएर अरू पचासौँ नेतालाई कार्यविभाजन गरिदिएको भए उहाँहरूलाई यो बोझ हुने थिएन । त्यसो गरेको भए उहाँहरू पचासौँ प्रतिभाशाली नेताका पनि नेता बन्नुहुन्थ्यो । अवस्था यस्तो आएको छ कि अब प्रचण्डपछाडिको नेता को, बाबुरामपछाडिको नेता को भन्दा नेताको नाम लिन सक्ने अवस्था रहेन ।
प्रचण्ड र बाबुराम नेपाली कम्युनिस्ट आन्दोलनमा क्षमतावान् नाम हो । म उहाँहरूमा अद्भुत क्षमता छ भन्ने मान्दिनँ । कोही मान्छे पाँच फिट उफ्रन्छ । तर, ऊ त १४ फिट पो उफ्रन्छ भनिदियो भने त्यो मूर्खता हुन्छ । किनकि, मान्छे त १४ फिट उफ्रँदैन । प्रचण्ड र बाबुरामको प्रतिभालाई पनि अतिरञ्जित बनाइयो । उहाँहरू प्रतिभाशाली नेता हो त, म बारम्बार भन्छु । तर, उहाँहरूका कमजोर पक्ष पनि विराट् रूपमा उद्घाटित भए । उहाँहरूमा संस्थागत जीवन जिउने अभिरुचि कम देखियो । उहाँहरूले आफ्नो भूमिकालाई संस्थागत गर्न सक्नुभएन । संस्थागत संरचना बनाउन सक्नुभएको भए उहाँहरूको भूमिका अति सहज र सुयोग्य ढंगले निर्माण हुन सक्थ्यो ।
अब बाबुराम भट्टराई के गर्नुहुन्छ होला भन्ने चर्चा गरौँ । उहाँले नयाँ शक्ति गठनका कुरा उठाउँदा स्वाभाविक प्रश्न उठ्छ, पार्टीभित्रैबाट कि बाहिर ? माओवादी आन्दोलनलाई माओवादी पार्टीमा फेर्न हामी असमर्थ भयौँ । यसको मुख्य जस–अपजस त उहाँँहरूकै थाप्लोमा जान्छ । पार्टी पद्धतिमा चल्न सकेन, उहाँहरूले चलाउन सक्नुभएन । त्यसपछि त अनेकौँ सोचाइ आउने नै भए । नीति र नेतृत्वको सबैभन्दा माथिल्लो ठाउँमा रहनुभएका उहाँहरूले सबैभन्दा पहिले आफ्ना नीति र नेतृत्व गर्ने तरिकाको सघन समीक्षा गर्नुपथ्र्यो । समाधानको बाटो त्यहीँबाट भेटिन्थ्यो । तर, उहाँहरू त्यसको समीक्षा गर्ने आँट गर्न सकिरहनुभएको छैन । समीक्षा गर्दा आफ्नो व्यक्तित्वमा घाटा हुन्छ कि भनेर डर मान्नुभएको हुन सक्छ । समीक्षा गर्नैपर्ने गुरुत्तर कामबाट बचेर बरु अर्को बाटो खोज्ने प्रयास गरिरहनुभएको छ । उहाँ नयाँ भन्नुहुन्छ । यसलाई पुरानोचाहिँ कसले बनायो ? नेपालमा सबैभन्दा नयाँ आन्दोलन यही नै त थियो । यति छिटै धुस्रेमुस्रे, नचिनिने, अँध्यारो, पुरानो, थोत्रो कसरी भयो ? कसले बनायो त ? त्यसको कारण पहिले खोज्नुपर्‍यो । मैले कोही व्यक्तिलाई दोष दिन खोजेको होइन, माक्र्सवादी ढंगले सोच्नुपर्‍यो भन्न मात्र खोजेको हुँ । हाम्रो राजनीतिमा कहाँ कमजोरी रह्यो, संगठनात्मक नीतिमा कहाँ कमजोरी रह्यो, हाम्रो कार्यदिशा तय गर्दा कहाँनिर कमजोरी भए भन्ने समीक्षा नगरी कसरी नयाँ शक्ति बन्न सक्छ ? त्यसकारण यसबाट जतिसुकै तर्सिन खोजे पनि एक दिन आएर यहीँ ठोक्किनैपर्छ ।
नयाँ शक्तिको नारा उठाएपछि बाबुरामजीले तीनवटा काम गर्न सक्नुहुन्छ । पहिलो, पार्टी प्रमुख बन्ने, दोस्रो, देशको कार्यकारी प्रमुख बन्ने र तेस्रो, पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्ने । तर, यही तरिकाले तीनवटै काम गर्न उहाँलाई कठिन छ । यसबारे थप चर्चा गरौँ ।
१. पार्टी प्रमुख बन्ने
जो पार्टीमा आबद्ध हुन्छ, नेतृत्वको शृंखलामा चढ्छ, उसले अध्यक्ष बन्न खोज्नु जायज हो । दु:ख त के पो लाग्छ भने साथीहरू जब पार्टी छाड्छु, जोगी बन्छु भन्न थाल्छन् । कोही पनि मान्छे जोगी, सन्न्यासी हुनलाई राजनीतिमा लाग्दैन । देवघाटतिर गएर बस्नलाई लाग्दैन । आफू नेतृत्वको सर्वोच्च निकायमा पुग्ने र आफ्ना नीति लागू गराउने प्रयास गर्नु राम्रो हो । बाबुरामजीका यी प्रयास पनि यसैमा केन्द्रित छन् । यसैका लागि उहाँले विभिन्न गतिविधि गर्दै आउनुभएको छ ।
उहाँ अध्यक्ष बन्ने सम्भावना सधैँ छ । तर, उहाँजस्तो जिम्मेवार नेताले बुझ्नैपर्ने कुरा हो, पहिले संस्था राम्रोसँग चल्नुपर्‍यो । संस्था भइरहे न अध्यक्ष बन्ने सम्भावना छ । जब संस्था नै रहन्न, त्यतिवेला कसको अध्यक्ष बन्ने ? जस्तै, अहिले पार्टीमा समानान्तर समिति बनेका छन् । भोलि बाबुरामजी अध्यक्ष बन्दा अर्कोले पनि समानान्तर समिति बनाउला नि † त्यो वेलामा अध्यक्ष भएको के मजा आयो त ? कम्युनिस्ट पार्टीमा छलफल तथा बहस गर्ने फोरम हुन्छन्, तर बेग्लाबेग्लै समिति हुँदैनन् । अहिले पार्टीमा जे गल्ती भइरहेका छन्, त्यो गल्ती सच्याउन सके बाबुराम अध्यक्ष बन्न सक्नुहुन्छ । अथवा, अर्को कसैले पार्टी सच्याउन कार्यक्रम लियो र अगुवाइ गर्‍यो भने उही अध्यक्ष हुन सक्छ ।
२) देशको कार्यकारी प्रमुख बन्ने
राजनीतिक पार्टीमा काम गर्ने नेताको स्वाभाविक चाहना हो कि एकपटक म देशको कार्यकारी प्रमुख बन्न सकूँ । राजनीतिक मान्छेलाई जीवनको अन्तिम घडीसम्म त्यस्तो लागिरहन्छ । त्यही भएर हो, राजनीतिक मान्छेहरू राजनीतिबाट सन्न्यास लिँदैनन्, पलायन हुँदैनन् । उनीहरू आन्दोलन ठानिरहन्छन् र लागिपर्छन् । बाबुराम भट्टराई एकपटक देशको कार्यकारी प्रमुख भइसक्नुभएको छ । देशले नयाँ संविधान पाइसकेको अवस्थामा फेरि एकपटक कार्यकारी प्रमुख बन्छु भन्ने प्रयत्न उहाँले गरेको हुनुपर्छ । हाम्रा पार्टीका नेताले त्यो प्रयत्न गर्नु जायज पनि हो । उहाँले त्यसका निम्ति आफ्नो अतीतबाट सिकेर अगाडि बढाउनुभयो भने त्यो झनै राम्रो हुन्छ ।
ध्यान दिनुपर्ने कुरा यो हो कि पार्टी नै कमजोर भएको स्थितिमा त कसरी प्रधानमन्त्री र देशको कार्यकारी प्रमुख भइन्छ होला र ? एउटा सोचाइ राखौँ, तपाईं एकदमै लोकप्रिय हुनुहुन्छ । इलामका मान्छे सबै तपाईंलाई भोट दिन चाहन्छन् । चुनावको दिन सबैजना लुगाफाटा लगाएर सफा भएर तपाईंलाई भोट दिन घरबाट निस्किए । तर, बाटोमा चारजना डन्ठा लिएर बसे । तपाईंलाई भोट दिन जानेको खुट्टा भाँच्छु भनेर उभिए भने त्यस्ता दादालाई पन्छाउन संगठन त चाहियो नि । नेपालमा प्रहरी प्रशासनले बडो निष्पक्ष तरिकाले चुनाव गराउँछ भन्ने त छैन । भोटको बाकस डाँडामा, गाउँले तल आँगनमा भए भने कसरी चुनाव जित्ने ? त्यसकारण लोकप्रियतासँगसँगै संगठन चाहिन्छ । यहाँनिर बाबुरामजीले पनि सोच्नुपर्छ कि पहिले पार्टी संगठन बलियो बनाउनुपर्छ । पार्टी संगठन बलियो भयो भने मात्रै उहाँ कार्यकारी प्रमुख बन्ने सम्भावना रहन्छ ।
३) नयाँ पार्टी खोल्ने
पार्टी प्रमुख बन्ने, देशको कार्यकारी प्रमुख बन्ने बाबुरामजीको चाहना पूरा भएन भने के गर्ने ? ‘त्यसपछि पार्टी फुटाएर नयाँ पार्टी खोल्नुहुन्छ’ धेरैको अनुमान, जिज्ञासा र विश्लेषण यस्तै छन् । तर, मलाई उहाँले पार्टी फुटाउनुहुन्छ भन्ने लाग्दैन । बाबुराम–प्रचण्डले पार्टी कोसँग फुटाउने ? उहाँहरूले पार्टी फुटाएर पार्टी कसलाई जिम्मा लगाउने, काजीबा (एमाओवादीका पुराना नेता, जो अहिले वृद्ध भएर आराममा हुनुहुन्छ, तर पार्टीप्रति सदा चिन्तित) लाई ? त्यसकारण प्रचण्ड र बाबुरामका हकमा पार्टी फुटाउने र नयाँ बाटोतर्फ लाग्ने अवस्था पनि छैन ।
मैले भन्ने गरेको छु, काँक्रोको जति चिरा भए पनि स्वाद उही हो । एमाओवादीबाट फुटेर मोहन वैद्यले एउटा पार्टी बनाए । उनीबाट पनि चोइटिएर विप्लवले अर्को पार्टी बनाए । विप्लवमा अर्को चिरा आउन सक्छ, किरणजीमा अर्को चिरा आउन सक्छ, बाबुरामले चिरा पारिहाल्नुभयो भने त्यसमा पनि अर्को चिरा आउन सक्छ । तर, ती सबैको स्वाद उस्तै हुनेछ । तसर्थ विभाजन वा चिरा जे भनौँ, त्यो समाधान होइन ।
उपयुक्त बाटो
बाबुराम र प्रचण्डजी दुवैको उपयुक्त बाटो अब पार्टीमा पद्धति स्थापित गरिदिने हो । अहिलेसम्म हामीले जे समस्या भोगिरहेका छौँ, नीति र नेतृत्वकै समस्याबाट उत्पन्न परिणाम हुन् । त्यसैले अब प्रचण्ड र बाबुरामले आफ्ना भूमिकाको गम्भीर समीक्षा गर्नुपर्छ । पार्टीको नीतिलाई सच्याउनुपर्छ । पद्धति स्थापित गर्नुपर्छ । पार्टीले सही नीति लियो र पद्धति बसाल्यो भने अहिलेका समस्या समाधान हुन्छन् । त्यसपछि बाबुरामजी अध्यक्ष पनि बन्न सक्नुहुन्छ, प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ । पार्टीमा आबद्ध अरू राम, श्याम, माने, हर्के सबैको हकमा पनि यही कुरा लागू हुन्छ ।
(एमाओवादी पोलिटब्युरो सदस्य कार्कीको यो लेख राजनीतिक बहसका लागि हो । तपाईं पनि यसमा सहभागी बन्न सक्नुहुन्छ ।)


,

0 comments

Write Down Your Responses