Powered by Blogger.
गाली खाने सभासदले बल्ल पाए ताली

सभासद भन्छन्-बल्ल चुनाव जितेजस्तो भो, अब राष्ट्रिय सरकार बनाऊँ

काठमाडौं,३१ भाद्र। नेपालमा संविधानसभाको पहिलो निर्वाचन भएदेखि नै सम्भवतः सबैभन्दा गाली खाने प्राणी बनेका थिए सभासदहरु । संविधान दिन नसकेको दोष बोकेर पहिलो संविधानसभाका सभासद घर फर्किए ।
दोस्रो संविधानसभा सभासदहरु पनि त्यही गालीबाट अभिशप्त भइरहेका थिए । तर, भदौ ३० गते राति संविधानसभाबाट संविधान पारित गरेपछि सधै गाली खाने सभासदहरु ताली खाइरहेका छन् ।
उनीहरुलाई चुनाव जितेको क्षणभन्दा अहिले बिजय अनुभव भएको छ । सभासदहरु संविधान पारी हुँदा जति खुसी छन्, त्यति नै यसको कार्यान्वयन र असन्तुष्ट समूहको माग सम्बोधन चुनौतिपूर्ण रहेकाले शीर्ष नेताबीचको एकता अझै बलियो हुनुपर्ने बताउँछन् ।
सभासदहरुले संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सरकारमा जोड दिएका छन् । प्रस्तुत छ बिभिन्न दलका बिभिन्न समुदायको समेत प्रतिनिधित्व गर्ने सभासदहरुसँगकाे प्रतिक्रिया ।

संशोधनबाट सम्बोधन गर्ने ठाउँ छ
पद्मनारायण चौधरी, कांग्रेस सभासद सिराहा- १
सबैभन्दा ठूलो कुरा हामी सभासदहरु नेपाली जनतालाई संविधान दिन सफल भएका छौं । धेरैले विश्वास गरेका थिएनन्,हामीले संविधान यति चाँडै दिन सक्छौं भन्ने कुरा । संविधानसभाबाट संविधान पारित भएपछि म पनि खुसी भएको छु ।
मधेसको आन्दोलनलाई पनि सम्बोधन गर्न सकिएको भए अझ राम्रो हुने थियो । तर केही बिग्रेकेका छैन,यो संविधानले सबैका आवाजलाई संशोधन मार्फत पनि सम्बोधन गर्न सकिने ठाउँ भएकाले अब नेतृत्वले त्यता ध्यान दिनुपर्छ । जनता संविधानको उत्सव मनाउन तयार छन् । अब यसको कार्यान्वयन र असन्तुष्ट आवाज सम्बोधन गर्न नेतृत्व अझ एकजुट हुनुपर्छ । राष्ट्रिय सहमतिको सरकार बनाएरै देशमा स्थायित्व दिनुपर्छ ।
कार्यान्वयनका लागि राष्ट्रिय सरकार
पार्वत गुरुङ,एमाले सभासद दोलखा १

संविधान जारी गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ, जनताको चाहना पूरा भएको छ । चुनाव जितेर आउँदा जुन उत्साह थियो, बीचमा त्यो जोस जाँगर सेलाएको थियो । तर, संविधान पारित गरेपछि वास्तविक चुनाव जितेको अनुभूति भयो ।
संविधान जारी हुन नदिन धेरै चलखेल भए, संविधान बनाउन आएकाहरु नै संविधान बिरुद्ध लाग्दा निराश भइएको थियो । तर, अन्ततः हामी सफल भयौं । सबै समुदायले अधिकार पाएका छन् । गर्व र खुसीको कुनै सिमा छैन, अब यसलाई कार्यन्वयन गर्न राष्ट्रिय सरकार चाहिन्छ ।
कुनै एक दुई दलको प्राबिधिक बहुमतले होइन, राष्ट्रिय सरकारले कार्यन्वयन गर्नुपर्छ । त्यसका लागि दलहरुबीचका अझ उच्चस्तरको एकता जरुरी भएको छ ।
सानो शक्ति भएर पनि धेरै पायौं
हरिबोल गजुरेल, एमाओवादी सभासद,सिन्धुली ३

पहिलो संविधानसभा असफल भयो । दोस्रो संविधानसभाले संविधानको धाराहरु पारित गर्दैगर्दा पनि के हुने हो भने प्रश्न थियो । अब संविधान पारित भएको छ । थारु, मधेसी र मगरहरुलाई पनि सम्बोधन गर्न सकेको भए अझ राम्रो हुन्थ्यो । तर, यो संविधानलाई टेकेर अघि बढ्ने सानो ढोका हामीले खुला नै राखेका छौं । संविधान पारित भएसँगै नेतृत्वमा अबसर र चुनौती छ । हिजो संक्रमणकाल भनेर जनता चुप लागेर बसेका थिए । अब त काम गरेर देखाउनुपर्नेछ ।
संविधानसभा चुनावका बेला पार्टी धेरैतिर हारिरहेको थियो । पहिलो खाता नै मैले खोलेकाले आफू जिते पनि पार्टीले हारिरहेका कारण खासै खुसी मनाउने अवस्था रहेन । तर, हिजो संविधानसभाबाट नयाँ संविधान पारित गर्दैगर्दा गौरवको अनुभूति भयो । योपटक तेस्रो पार्टी भएर पनि संविधान निर्माणमा हामीले धेरै मेहनत गरेका छौं । सानो शक्ति भएर पनि हामीले धेरै प्राप्त गरेका छौं भन्ने लाग्छ मलाई ।
जनजातिको अधिकार स्थापित भएको छ
अइन्द्रसुन्दर नेम्वाङ, माले सभासद पाँचथर
संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी सिद्धान्त स्वीकार गरेर आएको यो संविधान प्रगतिशिल संविधान बनेको छ । सुखानुभूति महशुस भएको छ । हिजोसम्म जनताले गाली गर्थे आज ताली पाइएको छ ।
सडकमा भएकाहरु पनि आउन् भन्नेमा हामी अझै पनि छौं । मलाई विशेष खुसी यसकारण पनि छ कि आफैं मस्यौदाको सदस्य र उपसमितिको संयोजक भएर काम गर्ने अवसर पनि प्राप्त भयो । आदिवासी जनजातिको अधिकार स्थापित भएको छ, कल्पनै गर्न नसकिने आनन्द महसुस भएको छ । दलहरुबीच भोलि पनि यो एकता कायम हुनुपर्छ ।
मधेसी र मुस्लिमको पनि संविधान
अत्तहर कमाल मुसलमान, स्वतन्त्र सभासद कपिलबस्तु-२
सबैभन्दा ठूलो कुरा हामीले संविधान जारी गर्न सफल भएका छौं । संविधानसभाबाट हाम्रो संविधान पारित भएपछि हामी खुसी भएर फर्केका छौं । अझै पनि कतिपयका केही विवाद र विमति छन् । सबैलाई सहमतिमा ल्याउन सकिँदैन ।
देश अब सम्बृद्धिमा जान्छ । जसका केही असन्तुष्टि छन्, उनीहरुका कुरालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भन्नुभएको छ । यो संविधान हामी सबै हिमाल, पहाड तराईका जनताको संविधान भएकाले सबै उत्सवमा सहभागी हौं । मधेसी र मुस्लिम जनताको प्रतिनिधिसमेत भएकाले म यो संविधान बनाउन पाएकोमा गौरव गर्छु । यो हामी मधेसी र मुस्लिम जनताको संविधान हो । तराई मधेसका जनताको अधिकार यो संविधानले अधिकतम सुनिश्चित गरेको छ ।
बल्ल चुनाव जितेजस्तो भयो
रामहरि खतिवडा,कांग्रेस सभासद ओखलढुंगा २
मेरो जीवनको सबैभन्दा खुसीको क्षण नै संविधानसभाबाट संविधानको बिधेयक पारित हुँदा भयो । हामी धेरैखाले षडयन्त्र चिरेर जनतालाई उनीहरुले चाहेको संविधान दिन सफल भएका छौं । जनताले आफ्नो संविधान आफैं लेख्न ऐतिहासिक सफलता पाएका छन् ।
चुनाव जितेर जनताले माला लगाएर पठाउँदा भन्दा बढी जितको अनुभूति संविधान पारित गरेपछि भएको छ । अब यसको कार्यन्वयन झनै चुनौतिपूर्ण हुने भएकाले शीर्षनेताहरु अझ बढी विवेक र बुद्धिमता देखाउनुपर्छ । संविधान कार्यान्वयनका लाीगि राष्ट्रिय सहमतिको बलियो सरकारको विकल्प छैन ।
देशभन्दा ठूलो जात र धर्म होइन
अनारकली मिया, एमाले सभासद दाङ
सबैभन्दा खुसीको कुुरा देश र जनताको चाहना पूरा भयो । म खुसी हुनुभन्दा पनि जनता खुसी हुनुपर्‍यो । जनताले संविधान पाएका छन् । हामीले भनेका कुरा सयमा सय सबै पूरा हुदैनन् । जे जति पाइएको छ त्यो ठूलो कुरा हो । महिलाका कुरा केही छुटेका छन्, ती पछि मिलाउँदै लैजाने सहमति भएको छ । एउटा जाति समुदाय भन्दा पनि देशको कुरा ठूलो हो ।
मुलुक संकटमा परेका बेला जातिले के कति पाए, कुन धर्मले के पाए भन्ने कुरा गौण हो । म मुस्लिम र महिलासमेत भएकाले हाम्रा कतिपय माग समेटिएनन्, भोलि समेटिन्छन् तर देशले जित्यो, यसमा गौरव लागेको छ ।
बल्ल जनताले जितेका छन्
जमिन्द्रमान घले,एमाले सभासद लम्जुङ १
संविधान जारी भएर एउटा मिसन पूरा भएको छ । कार्यान्वयनमा चुनौती छन् । हामीले जनताको बीचमा जे कुरा कबुल गरेर आएका थियौं, कम्तिमा यो पूरा भएकोमा अत्यन्तै खुसी लागेको छ । तुलनात्मकरुपमा अहिलेसम्मको संविधानमा यो उत्कृष्ट र प्रगतिशील संविधान हो भन्न सकिन्छ ।
अझै पनि सबै समुदायका सबै माग सम्बोधन गर्न सकिएको छैन । तराईबासीको माग अझै बाँकी छन् । आदिवासी जनजातिका माग धेरै पूरा भएका छन् । धर्म निरपेक्षता, आदिवासी जनजाति आयोग, समानुपातिक समावेशीजस्ता जनजातिका मुद्दा संविधानमा स्थापित गराउन सफल भएकोमा अत्यन्तै खुसी छु । वास्तवमा जनताको मतबाट जितेको अनुभूति आज भएको छ ।
कार्यान्वयनका लागि राष्ट्रिय सरकार
रञ्जित कर्ण, सभासद नेपाली कांग्रेस, सप्तरी
संविधानसभाबाट संविधानको बिधेयक पारित भएपछि सबैभन्दा ठूलो खुसी भएको छु । संविधान अहिले जारी नभएको भए देश ठूलो दुर्घटनामा जानेवाला थियो । अहिलेसम्म राजनीतिक स्थायत्वि हुन सकेको छैन । यो संविधानको सकारात्मक पक्ष के हो भने,संशोधन गरेर असहमत पक्षलाई पनि समेट्न सकिने ठाउँ छ ।
कसैले पनि यो संविधान मेरो हुदैन कि भन्नु पर्दैन,सबै अटाउने ठाउँ छ । जनताबाट ठूलो समर्थन र शुभेच्छा प्राप्त भएको छ । हामीले देशव्यापी दिपावली गर्न भनेका छौ,उत्सव मनाउन ७५ जिल्लामा जान्छौं । अब यसलाई कार्यान्वयन गर्न उत्तिकै चुनौति भएकाले दलहरु मिलेर राष्ट्रिय सरकार बनाएर जानुपर्छ ।-अनलाइन खबरबाट)


,

0 comments

Write Down Your Responses