Powered by Blogger.
ग्रामीण बस्तीमा मोवाईल र इन्टरनेटको प्रयोग बढ्दो

बुद्धकुमार आछामी
सिन्धुली, १२ असोज । पहिले–पहिले गाउँमा सन्चो बिसन्चोको खबर पाउने माध्यम चिठीपत्र थियो । हुलाकीले कहिले चिठी ल्याइदिने हुन् भन्ने बाहिर गएका घरपरिवारमा आफ्न्तहरु कुरेर बस्थे ।
सञ्चार प्रविधिमा आएको परिवर्तनका कारण अहिले मिनेटमै सन्चो बिसन्चोको खबर थाहा पाउन सकिने भएको छ । मोबाइल सेवाले पहिले जस्तो खबर थाहा पाउन महिनौ कुुर्नुपर्ने बाध्यता हटाइदिएको छ । आफ्न्तको सम्झना आउनेबित्तिकै फोन गरिहाले खबर थाहा हुन्छ ।

सन्चो बिसन्चो देखि बिरामी हुँदा कुरुवा, मर्दा मलामी, विवाहमा जन्ती, मेलापातमा खेताला र गाउँमा बैठक बस्नका लागि मान्छे जुटाउने काम अहिले मोबाइलबाट नै हुन्छ । घरघरमा खबर गर्न जानुपर्ने बाध्यता अहिले गाउँ घरमा मोबाइल सेवाको प्रयोगसँगै हटेको छ । पहिले सार्वजनिक सञ्चारको रुपमा कटुवाल लगाउने प्रथा अहिले मोबाइलको प्रयोगसँगै हराएर गएको छ । ग्रामीण बस्तीका बासिन्दा मोबाइल सेवाको प्रयोग गर्न थालेपछि आफ्ना काम छिटोछरितो रुपमा सम्पन्न हुन थालेको बताउँछन् । 
नेपाल टेलिकम सिन्धुली शाखाले जिल्लाका प्रायः गाविसमा टेलिकमका टावर जडान गरेपछि गाउँ सहरमा सञ्चारको पहुँच पुगेको छ । सञ्चारको अत्यधिक विकासले आफूले चाहेको व्यक्तिसँग मोबाइलबाट कुरा गर्न सकिने भएपछि गाउँलेहरुले आफूलाई भाग्यमानी ठानेका छन । मोबाइलसँगै विकासका अन्य पूर्वाधार गाउँगाउँसम्म विस्तार हुँदा अहिले बसाइँसराइका क्रममा पनि कमी आएको छ । पछिल्लो समय त मोवाइलको प्रयोगले गाउँ–गाउँमा प्रेम विवाह समेत बढ्दै गएको छ भने नकारात्मक खालका संस्कारहरु पनि मौलाउँदै गएका छन ।

नेपाल टेलिकम सिन्धुली शाखाले सञ्चारमा सर्वसाधारणको पहुँच पुयाउने उद्देश्यले जिल्लामा वारलेस प्रविधिमा आधारित जिएसएम, सिडिएमए मोबाइल सिमहरु वितरण गरेको छ ।  
निजी कम्पनी एनसेल र स्मार्टले पनि बर्सेनी हजारौँको सङ्ख्यामा सिम, रिम र इन्टरनेट सेवा विस्तार गरेको छ । यस्ले गर्दा पनि ग्रामीण क्षेत्रमा सूचना आदान प्रदानमा निकै सहजता ल्याएको पाइन्छ । नेपाल टेलिकमको सेवामा गडवडि आईरहने भएकाले एनसेल र स्मार्ट फोन प्रयोग गर्नमा नै ग्रामीण क्षेत्रका स्थानीयहरु आर्कषित भएको पाइन्छ । 
सञ्चार प्रविधिमा आएको परिवर्तनका कारण अहिले ग्रामीण क्षेत्रका वृद्धवृद्धा मोबाइलबाट कुराकानी र इन्टरनेटबाट भिडियो कुराकानी गर्न पाउँदा निकै खुसी देखिन्छन् । 
महिनौँ दिनसम्म खबर पाउन मुस्किल हुने कुनाकन्दरामा अहिले मोबाइलको प्रयोगका कारण क्षणभरमै जहाँतहीँको खबर थाहा हुँदा स्थानीय बुढापाकाहरू दङ्ग छन् । छोराबुहारी घर बाहिर काममा जाँदा पनि घरमा बस्ने वृद्धवृद्धाहरु अब मोबाइलमै कुराकानी गर्न र रेडियो सुन्न पाउँदा एक्लो भएको अनुभव नहुने उनीहरु बताउँछन् । 

आफू सानो हुँदा रेडियो नदेखेकाहरुले अहिले हातमा नै मोबाइल प्रयोग गरी कुराकानी गर्ने र मोबाइलबाट नै रेडियो सुन्न पाउँदा प्रविधिले गरेको बिकास देखेर उनीहरु निक्कै अच्चमीत परेका छन ।
मोबाइलको बढ्दो प्रयोगका कारण चिठीको प्रयोग निकै कम भएको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ । अहिले झन्डै ९० प्रतिशत चिठी हुलाक कार्यालयमा दर्ता हुन छाडेको कार्यालयले बताएको छ । पछिल्लो समय हुलाकमा सरकारी कार्यालयका चिठी पत्र र पत्रिका मात्र आउने गरेका छन । 
त्यस्तै पछिल्लो समय गाउँ–गाउँमा इन्टरनेट प्रयोगकर्ताहरुको संख्या पनि बढ्दै गएको छ । एकिन संख्या कसैसँग नभएपनि नेपाल टेलिकमको साथै निजी कम्पनि एनसेल र स्मार्ट सीममा इन्टरनेट चलाउन सकिने डाटाको व्यवस्था गरे पछि गाउँगाउँमा इन्टरनेटको प्रयोग ह्वातै बढेको छ । अहिले गाउँमै बसेर इन्टरनेटको प्रयोग गरी देश विदेशको खबर पढ्न पाएपछि निक्कै खुसी देखिएका छन डुडभञ्ज्याङ्ग गाविसका सामाजिक परिचालक सोम प्रसाद बराल । 

पछिल्लो समय इन्टरनेटको प्रयोग मार्फत देश विदेशका ताजा समाचार अध्यन गर्ने गरेको बरालले बताए । इन्टरनेटको प्रयोग मार्फत फेसबुक चलाउने र देशविदेशका समाचार पढ्नेहरुको संख्या पछिल्लो समय निक्कै विस्तार हुँदै गएको देखिन्छ । 
मोवाइल र इन्टरनेटको प्रयोगले गाउँमा नकारात्मक खालका संस्कार र सस्कृतिसँगै अपराधीक खालका क्रियाकलाप समेत बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक राजेन्द्र थापा बताउछन । 
मोवाइल र इन्टरनेटको प्रयोगमा आएको विकासले महिला हिंसाका घटनाहरुमा समेत बृद्धि हुँदै गएको महिला अधिकारकर्मी सविता कोइराला बताउँछिन । 
सेवा र सुविधाको विस्तार हुनु र प्रयोगमा ग्रामीण क्षेत्रका स्थानीयहरुको समेत पहुँच हुनु सकारात्मक पक्ष भएपनि मोवाइल र इन्टरनेटको प्रयोगले गाउँगाउँमा मौलाउँदै गएको नकारात्मक सस्कारबाट भने जोगिन जरुरी देखिन्छ ।


, ,

0 comments

Write Down Your Responses