Powered by Blogger.
दाउ कुरेको झिंगालाई घाउ लागेको डिंगा


  •  कालीबहादुर मल्ल


झिंगाको विशेषता फोहोरमा बस्ने हो, यो नौलो त कुरा होइन । तर, हरियो झिंगाले फोहोरभन्दा बढी आलो घाउ मन पराउँछ । हरियो झिंगा डिंगाको जिउमा घाउ देखिनु हुँदैन टुप्लुक्क आइहाल्छ । आउने मात्र होइन, घाउमा अन्डा छेरिहाल्छ । त्यही अन्डा कीरा बन्छ र डिंगा मर्न पनि सक्छ ।
वर्षौंको पर्खाइपछि देशमा नयाँ संविधान घोषणाको समय नजिकिएको छ । नयाँ संविधान जारी भएपछि विद्यमान संक्रमणको अन्त्य हुनुको साथै देशले राजनीतिक स्थायित्व र नयाँ गति लिने धेरैमा आशा पलाएको छ । अत्त्यासलाग्दो संक्रमणकालले जनतामा निराशा र राजनीतिप्रति अविश्वासका साथै पश्चगमनकारीको मनोबल बढ्दै गइरहेका बेला संविधान घोषणाको तयारीले सकारात्मक प्रभाव र उत्साह बढाएको छ । अब आउने संविधान लागू गर्नेले बनाउन नपाउने र बनाउनेले लागू गर्नुनपर्ने अर्थात् लेख्नेले नमान्ने र मान्नेले नलेख्ने विगतझैँ ‘श्री ५ र श्री ३’ ले हुकुम प्रमांगीबाट आउने होइन । जनताको बलिदानीपूर्ण संघर्ष जनयुद्ध र जनआन्दोलनको परिणामले गठित संविधानसभामा जनताले चुनेका आफ्ना प्रतिनिधिले संविधान निर्माण गर्नेछन्, जुन कार्य नेपालको संवैधानिक इतिहासमा पहिलोपटक हुँदैछ । दुर्भाग्य, यो कार्य अघिल्लो संविधानसभामा बढ्दो राजनीतिक असमझदारीका कारण हुन नसकी विघटन भयो । र, यही कामका लागि दोस्रो संविधानसभाको चुनाव हुनुपरेको जग जाहेर छ ।
अर्कातिर संविधान घोषणाको दिन जति नजिकिँदै छ, नेपाललाई अस्थिर बनाइराख्नु नै आफ्नो फाइदा देख्ने तत्त्वहरू अत्यन्तै चिन्ताका साथ त्यसलाई पर धकेल्ने, भरसक अझै असम्भव बनाउने कसरतमा ज्यानै फालेर लागेका छन् । यसमा तीनथरी सोच अगाडि देखापरेका छन् ।
पहिलो थरी सोच नेपालमा राजनीतिक स्थायित्व नहोस्, अस्थिरता भइरहोस् र असफलतातर्फ जाओस्, अनि आफ्नो अनुकूल ढालेर चल्न बाध्य पार्न या गुलाम बनाउन सकिन्छ भन्ने सोच हो ।
दोस्रो थरी विभिन्न बहानामा बबाल मच्चाएर यो स्थितिलाई अलि पर धकेल्न पाए व्यवस्था र राजनीतिक पार्टीप्रति अविश्वास पैदा गरी आफ्नो गुमेको स्वर्ग फर्काउन सकिन्छ भनी पर्खिबसेको छ ।
त्यस्तै, तेस्रो थरी यस्तै अस्थिरता, अन्योलता, अकर्मण्यता र अराजकतामा विद्रोह र क्रान्ति देख्छ, जो पहिले प्रयोगमा आइसक्यो । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, विश्व परिस्थिति, स्वयं राष्ट्रिय परिस्थिति नहेरी केबल अस्थिरतामा क्रान्ति छिराउन सकिन्छ भनी आशा गरेको छ, यो सोचले ।

संविधानसभाबाट र राजनीतिक दलहरूबाट हुने कमजोरी खोजिरहेका बेला संघीयतामा राज्यको (प्रदेशको) संख्या र सीमांकनले हरियो झिंगाले डिंगाको जिउमा घाउ भेटाएझैँ भयो । पुनर्संरचनाजस्तो संवेदनशील विषयलाई राजनीतिक दलहरूले जसरी हल्का ढंगले लिएर प्रदेश र सीमांकनमा सहमति गरे, त्यो नै पछिल्लो समस्याको मूल कारण बन्यो ।

यो सोच आसय र इमानदारिताका दृष्टिले राम्रो होला, तर जानिनजानी पश्चगामी प्रतिक्रियावादीलाई नै फाइदा हुन्छ, क्रान्ति र परिवर्तनलाई होइन भन्ने बुझ्नुपर्ने हो । यो अंकगणित जस्तो माइनस–माइनस (ऋण–ऋण) प्लस (धन) होइन, यो त ऋणकै जोड (प्लस) हो, ऋणमा ऋण जोडे ऋणै हुन्छ, धन कहाँ हुन्छ ? यतिबेला हस्तक्षेपकारी (अतिक्रमणकारी) दृष्टिकोण, पश्चगमन वा पुनरुत्थावादीकोण र आफूलाई क्रान्तिकारी ठान्ने दृष्टिकोण अलग रूपमा एकै ठाउँ छन् ।
जेहोस्, यी कोणहरूले राज्यबाट, संविधानसभाबाट र राजनीतिक दलहरूबाट हुने कमजोरी खोजिरहेका बेला संघीयतामा राज्यको (प्रदेशको) संख्या र सीमांकनले हरियो झिंगाले डिंगाको जिउमा घाउ भेटाएझैँ भयो । पुनर्संरचनाजस्तो संवेदनशील विषयलाई राजनीतिक दलहरूले जसरी हल्का ढंगले लिएर प्रदेश र सीमांकनमा सहमति गरे, त्यो नै पछिल्लो समस्याको मूल कारण बन्यो । अन्तरिम संविधानमा भएको व्यवस्थामा ‘राज्यको अग्रगामी पुनर्संरचना’ उल्लेख छ । अग्रगामी भनेको के हो ? अग्रगामी बारे थाहै नपाएर सहमति भयो या कसैको निर्देशनमा हो ? नयाँ संविधान निर्माण गर्दा किन पछि हटे संसदीय पार्टीहरू ? सामथ्र्यका दृष्टिले दिगो, भूगोलका दृष्टिले सजिलो, मनोविज्ञानका दृष्टिले एकता र सिंगो राष्ट्रिय स्वाधीनताको रक्षाको दृष्टिले भरपर्दो तथा विगतका उत्पीडन र अपमान अन्त गर्ने किसिमका प्रदेश निर्माण गर्ने कुरा नै अग्रगामी पुनर्संरचना हो । यो राजनीतिक निर्णय र सहमतिले मात्र हुँदैन, बरु प्राविधिक पक्ष पनि उत्तिकै जरुरी हुन्थ्यो । यसो नगरी अस्ति जसरी सीमांकन गरियो, त्यो विवादास्पद भयो र आफ्नो अधिकारको सुनिश्चितता पर्खिरहेका उत्पीडित जनताको मर्ममा चोट पु¥यायो र घाउ लाग्यो, यहीँ हरिया झिंगा बसे ।

उदाहरणका लागि ६ नम्बर प्रदेश, भेरी कर्णाली र सेती महाकालीको बीचमा नेपालको लामो नदी कर्णाली छ । पूर्व र पश्चिम सबै हिसाबले धेरै अन्तर छ । भाषाकै कुरा ग¥यो भने सुदूरपश्चिम डोटेली भाषा, जो भारतको पिथौरागढसँग मिल्छ भने कर्णाली सिञ्जाली भाषा आजको नेपाली भाषाको केन्द्र हो । भूगोलमा सेती अञ्चलभन्दा कर्णालीको डोल्पा जिल्ला ठूलो छ । जनसंख्याको दृष्टिले भेरी कर्णाली र अन्यथा नहोस् सल्यान र रुकुम पश्चिम मिलाउँदा १८ लाख जनसंख्या पुग्छ । सदरमुकामका दृष्टिले भेरी कर्णालीको भूभाग सुर्खेत छ । जो बनिबनाउ र राजधानीका लागि सर्त पूरा गरेको छ भने दिपायल सुदूरपश्चिमको केन्द्र भए पनि त्यसका कैँयौ सर्त बाँकी छन् । यस्तोविपरीत भूगोल, नमिल्ने मनोविज्ञान र संस्कृति कसरी एउटै ठाउँमा हुन्छ ? यो भोलि राजधानी घोषणा गर्दा हजारौँको ज्यान जान सक्छ । अहिलेको भेरी कर्णालीको आन्दोलन भविष्यको खतरा टार्ने पर्खाल हो । यहाँ भेरी कर्णाली प्रदेश र कर्णाली स्वायत्त प्रदेश आवश्यक हो ।
यो कुरालाई गलत साबित गर्ने ठाउँ छैन । जनताको मनोविज्ञान र उत्पीडनको जगमा अखण्डतारूपी झिंगा छिर्न थाले । हिजो माओवादीले जनयुद्धमार्फत उठाउँदै आएका मुद्दा र बेला–बेलाका सहमति तोडेर शासकीय स्वरुप, पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा संघीयताबारे आज दुईतिहाइको नाममा जसरी अगाडि बढ्न खोजियो, त्यही कुरा इतिहासदेखि उत्पीडनका जाँतोमा पिसिएका जनता जसले एकात्मकता, राजतन्त्र र अन्धविश्वासी धर्म र कुरीतिविरुद्ध हरेक आन्दोलनमा प्राणको बाजी लगाएर होमियो, त्यही जनताको मुटुमा घाउ लाग्यो, त्यही घाउमा हरियो झिंगा बस्यो, थारुको मुटुमा घाउ, मगर, जनजाति र ईपू १०औँ शताब्दीमा आएर औलोसँग जुधेर तराईलाई यो अवस्थामा पु¥याउने उत्पीडित मधेसी जनताको मुटुमा घाउ परेको छ । अब हरिया झिंगा बस्दै छन् । यी झिंगाहरू संविधान बनेन भने स्वतः उडेर जान्छन् ।
विषयको गम्भीरतालाई नेपालका राजनीतिक पार्टीहरूले बुझ्नुपर्छ र संविधान बन्न नदिन डिंगाको जिउमा घाउ खोज्दै हिँडेका हरिया झिंगाको ईच्छा पूरा गर्ने या जनताका माग ? यसतर्फ पुनर्विचार गरौं । साथै, अधिकारको ग्यारेन्टीको माग गर्नु उत्पीडित जनताको न्याय र मुक्तिको संघर्ष एकदम जायज छ । तर, आफ्नो आत्मामा लागेको घाउमा हरिया झिंगा बस्नबाट पनि सचेत हुनैपर्छ । यसका लागि बेला–बेला घाउमा फिनेल हाल्नैपर्छ र राज्यले झन् ठूलो घाउ पार्ने बन्दुक होइन, छलफल चलाउनुपर्छ भन्दा अन्यथा नहोला कि ?(साभार राताेपाटी डटकमबाट)


,

0 comments

Write Down Your Responses