Powered by Blogger.
भूकम्प पिडित नेपालीका लागि बलियो घर परियोजना

काठमाडौं, ११ कातिक । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) मार्फत भूकम्प प्रभावित नेपालका लागि सहयोगका तीन कार्यक्रम घोषणा गरेको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपाल सरकारले बनाएको घरधनी आफै सम्मिलित नमूना आवास पुनर्निर्माणको सहयोगार्थ कार्यक्रमहरू घोषणा भएका हुन् ।
विगतका लगानीको जगमा थप कार्य गर्दै यूएसआईडीका कार्यक्रमहरूले आगामी पाँच वर्षमा झन्डै १३ हजार ५ सय स्थानीय निर्माण कामदारलाई तालिम दिनुका साथै २ लाख ८५ हजारभन्दा बढी प्रभावित घरधनीहरूलाई भूकम्प प्रतिरोधी आवास निर्माणको विषयमा शिक्षित बनाउनेछन् ।
८० लाख अमेरिकी डलर लागतको बलियो घर नामक पञ्‍चवर्षीय परियोजनाले स्थानीय डकर्मी, सिकर्मी, इन्जिनियर र प्रभावित घरधनीहरूलाई तालिम दिनेछ ।
बलियो घर परियोजनाले राष्ट्रिय पुनर्निर्माण प्रविधि केन्द्रका साथै दोलखा, धादिङ र नुवाकोट जिल्लाहरूमा जिल्ला तथा स्थानीय स्तरमा तीन तालिम केन्द्रको स्थापनामा समेत सहयोग पुर्‍याउनेछ ।
सहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (एनसेट) ले बलियो घर परियोजनालाई कार्यान्वयन गर्नेछ ।
यूएसआईडीले सबल नामक रिजिलियन्ससम्बन्धी आफ्नो चालु परियोजनालाई पनि विस्तार गरी सिन्धुपाल्चोक र काभ्रेपलाञ्‍चोक जिल्लामा स्थानीय डकर्मीहरूहरूको तालिममा २७ लाख अमेरिकी डलर लगानी गर्ने भएको बताएको छ ।
यसका अतिरिक्त यूएसआईडीले विश्‍व बैंक नेपाल भूकम्प पुनर्निर्माण बहुदातृ कोषमा ९६ लाख अमेरिकी डलर रकम योगदान गरेको छ । यस योगदानले सबैभन्दा बढी प्रभावित १४ जिल्लामा सरकारको नेतृत्वमा सञ्‍चालित लाभान्वित व्यक्ति सर्वेक्षणलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुका साथै प्रभावित घरधनीहरूलाई आवास पुनर्निर्माणका लागि नगद अनुदानको वितरणमा सहयोग गर्नेछ ।
“वैशाख १२ गते नेपालमा गएको भूकम्पको यस हप्‍ता छ महिना पुगेको छ, र हामीलाई आफ्ना नयाँ र विस्तारित कार्यक्रमहरू घोषणा गर्न पाउँदा खुशी लागेको छ, साथै सुरक्षित तथा बलियो नेपालको पुनर्निर्माणमा मद्दत पुर्‍याउने कार्यलाई हामी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ,” अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भनेकी छन् ।
नयाँ परियोजना तथा विद्यमान कार्यक्रमका विस्तारको लागत २ करोड अमेरिकी डलरभन्दा बढी रहेको राजदूतले बताइन्र । अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भनेकी छन्, भूकम्पपछि अमेरिकी सरकारले कबोल गरेको १३ करोड डलरको हिस्साका रूपमा रहेका उक्त परियोजना तथा कार्यक्रमहरूले नेपालप्रतिको हाम्रो निरन्तर प्रतिबद्धता प्रदर्शन गर्दछन् ।”


,

0 comments

Write Down Your Responses