Powered by Blogger.
माओवादी आन्दोलन र सङ्गठनात्मक समस्या



  •  डा.ऋषिराज बराल

सङ्गठनको प्रश्न भनेको सामान्य  ढाँचा अथवा स्वरूप मात्र होइन,  यो भनेको  कुन उद्देश्य पूर्तिका लागि कस्तो किसिमको सङ्गठन बनाउने भन्ने  प्रश्न हो । उद्देश्यसित सङ्गठनको ढाँचा र कार्यशैली जोडिएको हुन्छ ।  योसित विचार, नेतृत्व, कार्यदिशा, नीति योजनाहरू घनिष्ठ रूपमा गाँसिएक हुन्छन् । जति राम्रो कार्यदिशा भए पनि त्यसलाई सही ढङ्गले लैजाने कार्यकर्ताहरू तथा सङ्गठन भएन भने अथवा सही किसिमले सङ्गठन परिचालन गर्ने नेतृत्वपङ्क्ति भएन भने त्यो अर्थहीन साबित हुन्छ ।
कम्युनिस्ट आन्दोलनमा सङ्गठन निर्माण र परिचालनको कुरा गर्दा लेनिनवादी सङ्गठनात्मक पद्धतिको कुरा निकै गर्नेगरिन्छ । स्टालिनले “ठीक मान्छे ठीक ठाउँमा” को नारा नै अघि सार्नुभएको थियो । कम्युनिस्ट आन्दोलनमा सङ्गठन परिचालनमा जनवादी केन्द्रीयतालाई आधार बनाइन्छ । जनवादी केन्द्रीयताले विधि र पद्धतिलाई जोड दिन्छ । प्रमुख कुरा त कस्तो सङ्गठन बनाउने र कस्ता पात्रहरूलाई महत्व दिने भन्ने हो ।  सङ्गठनका लागि सङ्गठन नभएर क्रान्तिका लागि सङ्गठन भन्ने कुराले विशेष महत्व राख्ने हुनाले त्यहाँ  नेतृत्व तहमा पात्रहरूको चयनको अहम् महत्व हुन्छ ।
यो सोझै विचारसित जोडिएको प्रश्न हो । सैद्धान्तिक तहमा  यसप्रति सबै नेताहरू प्रस्ट भएको जस्तो लागे पनि व्यवहारको तहमा भने यसमा निकै भद्रगोल र अस्तव्यस्तता देखिन्छ । वास्तवमा माओवादी आन्दोलनमा खासगररे कार्यदिशाको प्रश्नलाई भद्रगोल र लथालिङ्गको स्थितिमा पुर्याउने र अन्ततः विसर्जनवादी शून्यवादमा पुर्याउने प्रमुख कारकतत्वहरूमा सङ्गठन निर्माण तथा परिचालन सम्बन्धी गलत  बुझाइ र सोचाइ पनि हो । यो रोगकै रूपमा नेपालको माओवादी आन्दोलनमा विस्तारित भएको छ । यो नेपालको माओवादी आन्दोलनको पछिल्लो चरणले देखाएको यथार्थ हो ।

स्टालिनले “ठीक मान्छे ठीक ठाउँमा” को नारा नै अघि सार्नुभएको थियो । कम्युनिस्ट आन्दोलनमा सङ्गठन परिचालनमा जनवादी केन्द्रीयतालाई आधार बनाइन्छ । जनवादी केन्द्रीयताले विधि र पद्धतिलाई जोड दिन्छ । प्रमुख कुरा त कस्तो सङ्गठन बनाउने र कस्ता पात्रहरूलाई महत्व दिने भन्ने हो ।

जब पार्टीमा काम गर्नु भनेको जागिर खानुजस्तो हो भन्ने ठानिन्छ, जब काम गरे पनि नगरे पनि योग्यता र क्षमताको अर्थ छैन भन्ने कुरा देखिन्छ र बुझिन्छ र स्वतः प्रमोसनको चिन्तनपद्धति रीतिथितिकै रूपमा पार्टीमा स्थापित हुन्छ, जब कामभन्दा अनुभव र, योग्यता र क्षमताभन्दा ‘सम्बन्ध’ हाबी हुन्छ, अनि सङ्गठनमा भद्रगोलले राज गर्छ । जागिरे मानसिकताको अनुभववादीहरू माथिल्लो तहमा  पुग्छन् र  क्षमता र  योग्यता पछि पर्छ । अनि एउटा कार्यकर्ताले सारा युवा अवस्था, ऊर्जाशील कालखण्ड  अयोग्य र स्वतः प्रमोसनवाला अल्छे र निकम्बा नेतृत्वको सेवामा बिताउँनु पर्ने अवस्था आउँछ । नेपालको माओवादी आन्दोलनको सङ्गठनात्मक क्षेत्रमा यो सबैभन्दा जटिल र गम्भीर समस्या हो ।
रोचक कुरा के छ भने युद्धकालमा एउटा गजबको सन्दर्भले विशेष चर्चा पाएको थियो । कोबाट र कसरी यो सन्दर्भ आयो भन्ने कुराले खासै अर्थ राख्दैन । जननयुद्धकालमै “पिबिएमकी श्रमिती सिसिएम र सिसिएमकी श्रीमती आरबिएम नहुँदा व्यवहार मिलाउन गारो पर्नेरहेछ” भन्ने टिप्पणी जोडदार रूपमा उठेको थियो र यसले व्यवहारमा मान्यता पनि पायो । पछिपछि गएर यो माओवादी पार्टीको सङ्गठनात्मक दर्शन र पद्धतिकै रूपमा  स्थापित भयो । ‘स्वतः प्रमोसन’  र ‘श्रीमती कमरेडहरूको प्रमोसन’  प्रकरणको  सबैभन्दा पछिल्लो र प्रस्ट रूप बैद्य समूहले प्रकाशित गरेको ‘सेवा आयोग’  को पछिल्लो परिणाममा देख्न सकिन्छ ।  क्रान्तिकारी पार्टीको स्थायी समितिमा  केकस्ता नेताहरू हुनुपर्ने र स्वतः प्रमोसनले केकस्ता ‘नेताहरू’ पुग्दा रहेछन् भन्ने कुराको सुन्दर उदाहरण वैद्य समूहको पछिल्लो ‘सेवा आयोग’ को परिणामले प्रस्तुत गरेको छ । माओले यस्तालाई भुत्ते कर्दहरूको जमघटको संज्ञा दिनुभएको छ ।
यही कुरा नेतृत्व निर्माणमा पनि देखिएको छ । आफूलाई माओवादी भन्ने तर नयाँ नेतृत्व तथा उत्तराधिकारी निर्माणसम्बन्धी माओले अघिसारेका मान्यताहरू त्यसमा पनि ‘एकमा–तीन’ लाई महत्व नदिने प्रवृत्ति माओवादी आन्दोलनको गम्भीर समस्या हो । विभिन्न क्षेत्रसित सम्बद्ध  क्षमता र प्रतिभाहरूको खोजी, पहिचान तथा प्रशिक्षण जस्ता कुराहरूमा नेतृत्व तहमा पुगेका नेताहरूमा अलिकति पनि रुचि र चासो  देखिँदैन । माओवादी आन्दोलनमा अध्ययन–चिन्तन गर्ने/गराउने तथा नेतृत्वको निर्माण गर्ने कुरा एकादेशको कथाजस्तो  भएको छ  । एकपल्ट टाउकोमा पुगेपछि जतिसुकै अयोग्य र नालायक भए पनि उसले तल झरेर काम गरेको इतिहास माओवादी आन्दोलनमा पाइँदैन र तल झरेर काम गर्नुपर्छ भन्ने संस्कृति पनि विकसित भएको पाइँदैन । अनि नेतृत्व तहमा अकर्मण्यतावादी र अनुभववादी फोहोरमैलाको डङ्गुर  थुप्रिनु स्वाभाविक हुन्छ ।
हामी नेता हुनुमा गर्व गछौँ । आफ्नु आवश्यकता अनुसार माओले यसो भने र उसो भने भनेर खूबै अध्ययनशील भएको देखाउन पनि चाहन्छौँ । सत्य कुरा के हो भने चाहे युवा पुस्ता होस्,  चाहे पाका र  बृद्धहरूको जमात,  अध्ययनचिन्तनमा हाम्रो रुचि घट्दैगएको छ, छँदै छैन भने पनि हुन्छ । समयसँगै र अध्ययन पनि अद्यावधिक हुनुपर्छ भन्ने बोध हामीबाट हराउँदैगएको छ । हाम्रा कतिपय नेताहरूको सम्पति भनेको अनुभववादी व्यवहारवाद मात्र हो, समयको क्रममा तिनले अरू कुरा गुमाइसकेका छन्  । नेताहरू अध्यनचिन्तनमा अल्छे भएपछि र सिर्जनशीलतामा बाँझो भएपछि यसको असर तलका पार्टी कमिटीहरूमा पर्छ नै ।
पार्टीको नेतृत्व तहमा पुग्नेहरूले, आफू नेता हुनुको दाबी गर्नेहरूले अरू केही नगरे पनि कम्तीमा पनि माओको “ नेतृत्वका तरिकाहरूसित सम्बन्धित केही प्रश्नहरू” अध्ययन गरे मात्र पनि ठूलै कुरा हुन्थ्यो ।  तर माओवादी आन्दोलनको नेतृत्व तहमा पुगेकाहरू सदैब  कुर्सी मोह र  एउटा नजानिँदो आशङ्काबाट ग्रस्त देखिन्छन् । त्यसले उनीहरूलाई गुटबन्दीमा फसाउँछ र क्रान्ति होइन, आफ्नै अस्तित्वका लागि चिन्तित तुल्याउँछ । यतिबेर नेपालका माओवादी पार्टीहरूका अधिकांश  नेता यसै रोगबाट आक्रान्त देखिन्छन्  । प्रचण्ड समूह नव- प्रतिक्रियावादमा पतन भएकाले उसलाई माओवादी कित्तामा राख्नुको अर्थ छैन । संगठनात्मक केही समस्या विप्लव समूहसित पनि छन् तापनि यस मामिलामा बैद्य समूह सबैभन्दा अगाडि देखिन्छ ।
माओवादी सङ्गठन समाजमा रहेका सर्वोत्कृष्ट पात्रहरूको सङ्गठन मानिन्छ । यो योग्य कायकर्ता र नेताहरूको सङ्गठन मानिन्छ ।  प्रस्टताका साथ भन्नुपर्ने हुन्छ, अनुभव र अध्ययनमा केही समस्या रहे पनि नेपालको माओवादी आन्दोलनमा नेताभन्दा कार्यकर्ता  सक्षम छन् र ती हरेक मोर्चामा योग्य साबित भएका छन् । माथिको कमिटीका भन्दा तलका कमिटीका कार्यकर्ताहरू क्रान्तिप्रति  प्रतिबद्ध र इमानदार साबित भएका छन् ।  यसका सम्बन्धमा माओको भनाइ निकै सान्दर्भिक छ : “एउटा महान् सङ्घर्षको सुरु, मध्य र अन्तिम चरणमा धेरैजसो स्थितिमा नेतृत्वदायी टोली सुरुदेखि अन्त्यसम्म एकदमै अपरिवर्तित हुन्छ भन्ने हुँदैन र हुन पनि सक्दैन । सङ्घर्षका क्रममा  अघि बढ्ने सक्रिय पात्रहरूलाई, नेतृत्वदायी टोलीमा पहिलेदेखि रहिआएका तुलनात्मकरूपले तीभन्दा कम स्तरका सदस्यहरूको ठाउँमा वा भ्रष्ट भएका सदस्यहरूका ठाउँमा निरन्तर पदोन्नति गर्नैपर्छ  ।”  विडम्बनाको कुरा के छ भने नेपालका माओवादी पार्टीका नेताहरू यतिबेर फासिवादी सरकारका भ्रष्ट नोकरसाहहरू जस्ता भएका छन् ।


,

0 comments

Write Down Your Responses