Powered by Blogger.
माघे सङ्क्रान्तिमा भव्य माईस्थान मेला


सिन्धुली, १ माघ । माघे सङ्क्रान्तिको अवसरमा गौमतीखोला र माईखोलाको दोभानमा पर्ने कमलामाई मन्दिरमा विहिबार देखी भव्य मेला लागीरहेको छ । 
आज बेलुका सम्म लाग्ने मेलामा मकर नुहाउने र कमलामाई मन्दिरमा दर्शन गर्न आउनेहरुको घुइँचो लागेको कमलामाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 
कमलामाई मन्दिरमा दर्शन गर्दा सबै पाप हरण हुने र मनले चाहेको पुरा हुने धार्मिक विश्वासका साथ सर्वसाधारण मन्दिरमा दर्शन गर्न जाने गरेका छन् । कमलामाई मन्दिरमा दर्शन गर्न छिमेकी जिल्ला सर्लाही, महोत्तरी, धनुषा लगायतबाट समेत सर्वसाधारणहरु आउने गरेका छन । संयौ दर्शनार्थीहरुले बली समेत दिएका छन भने विहिबार रातभरी जाग्राम बसेर बत्ति समेत बालेका थिए । 
सौर्यमानको हिसावले माघ महिना आरम्भ हुने पहिलो दिनलाई माघे सक्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यसै दिनदेखि सूर्यको उत्तरायण सुरू हुन्छ । माघे सङ्क्रान्तिका दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरूल कन्दमूल खाने परम्परा रहेको छ । हिन्दू धर्ममा उल्लेख भएअनुसार यस दिनको नदी स्नान उत्तम मानिन्छ, मकर सङ्क्रान्तिको दिन सूर्योदय हुनु पूर्वको नदी स्नान अझ उत्तम मानिएको छ । 
कमलामाई मन्दिर 
माइस्थान मन्दिर कमलामाई नगरपालिका बडा नं. ४ अन्तर्गत जिल्ला सदरमुकामबाट वहने गौमति खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ । यस मन्दिरसम्म पुग्न पूर्व पश्चिम राजमार्गको महोत्तरी जिल्ला अन्तर्गत वर्दिबासबाट विपि राजमार्गको ३० कि.मि.को दुरी तय गर्नु पर्दछ । यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहाँसिक तथा धार्मिक प्रतिष्ठाको कारण यस मन्दिरमा आउने भक्तजनहरुको ठूलो घुँइचो हुन्छ ।
कमलामाई मन्दिरको उत्पति 
कमलामाई मन्दिरको उत्पतिको सम्बन्धमा थुप्रै कथा तथा जनश्रुतिहरु पाइन्छन तर पनि यसको उत्पतिको वास्तविक समय तथा प्रमाणिक कथनहरु भने अधुरै छन् । कमलामाई मन्दिरको धार्मिक प्रतिष्ठा ज्यादै उच्च छ । यस मन्दिरमा मकवानी राज्यका राजाहरु देखि इतिहासका विभिन्न समयमा देखिएका शासन प्रशासकहरुले चढाएको वस्तुहरुमा लेखिएको अक्षरहरुबाट थाहा हुन्छ । इतिहासका विभिन्न कालखण्डमा कमलामाइ मन्दिरको अस्तित्व रहेको यस मन्दिरमा चढाइएका सामानहरुमा कुँदिएका अक्षरहरुले प्रष्ट पार्दछ । वि.सं. १८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालिन काजि भिमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारी सहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कँुदिएको छ । मुकुटमा
यसरी लेखिएको छ – स्वस्ती श्री जनरल भिमसेन थापा कस्य कनिष्ट पत्नी भक्त कुमारी देवीले कमलामाई ज्यू मा ५ प्रीती चाँदीको मुकुट सम्बत् १८८६ साल ७ मिति माघ बदी ३ रोज शुभम् । धेरै पहिलेदेखि विभिन्न राजाहरु, सेनाका उच्च पदस्थ ब्यक्तिहरुले यस मन्दिरमा चढाएका जिन्सी सामानहरुमा कुँदिएका अक्षरहरुका आधारमा तलका बुदाहरु उल्लेख गरिएको छ ।
वि.सं. १५३० मा मकवानी राज्यका राजा राघव नरेन्द्र सेनले कमलामाई मन्दिरको जिर्णाेद्वार गरेका थिए भन्ने सन्दर्भ माहानन्द सापकोटाको कुशेश्वर माहादेव भन्ने लेखमा पाइन्छ । यसवाट पनि यस मन्दिरको उत्पति वि.सं १५३० भन्दा अगाडि नै भइसकेको प्रमाणित हुन्छ । 
मकवानी राजा हरइन्द्र सेनको पालामा कमलामाई मन्दिरमा चाँदीका पानसहरु चढाइएका छन । एउटा पानसमा वि.सं १६९२ माघ वदी ३ रोज भनेर प्रष्टसँग अक्षरहरु कुँदिएको छ र यो पानस चढाउने ब्यक्ति श्रीदल दिप बहादुर पाण्डे लेखिएको छ । 
कमलामाई मन्दिरमा वि.सं. १६९२ को माघ महिनामा श्रीदल दिपबहादुर पाण्डेले चाँदीको कमल चढाएका छन् । ३५० वर्ष भन्दा पनि अगाडि चढाइएको बखत कमलामाई मन्दिर मकवानी राज्य अन्तर्गत पर्दथ्यो । यो फुलको सन्दर्भमा मकवानी राजा शुभसेनले मकवानपुर राज्यलाई दुई भाग लगाउँदा कमलानदीको सिमाना लगाएर त्यस स्थानमा कमलामाईको प्रतिक स्वरुप कमलको फुल चढाएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।


,

0 comments

Write Down Your Responses