Powered by Blogger.
दश महिना सम्म राहत नपाएपछि धमाधम आफ्नै शैलिमा घर निर्माण गर्दै पिडित

पुनर्निर्माणको काम शुक्रबारबाट पनि सुरु नहुँदा चिन्तित

राजन गाउँले
सिन्धुली २१, फागुन । पुननिर्माण प्राधिकरणले पूर्वस्वीकृतिबिना ब्यक्तिगत घरहरु निर्माण र रकम वितरणमा रोक लगाइरहेपनि भत्केका घरहरु पुनर्निर्माण गर्न ढिलाइ भएको भन्दै सिन्धुली र रामेछापका भुकम्प पिडितहरु आफ्नै सुरुमा धमाधम घर निर्माणमा जुटेका छन् ।
सरकारको बाटो कुर्दा कुर्दै एक वर्ष वितेपनि पुननिर्माणलाई पटक पटक प्रथामिकतामा राख्ने सरकारी घोषणा कार्यान्वयन हुन नसक्दा पिडितहरु ऋण गरेरै भएपनि पुरानै शैलीमा घर पुनर्निर्माणमा जुटेका हुन् ।
भुकम्प पछिको बर्षा, त्यस लगत्तैको चिसोमा जसोतसो जिवन गुजारा गरेकाहरु अव हिउँदो चर्को घाम, हावाहुरी र आउँदो वर्षामा आफ्नै सुरक्षित घरमा बस्न चाहान्छन् । तर सरकारले त्तवस्त घरहरु पुनर्निर्माणमा समयमा सहयोग नगर्दा पिडितहरु सरकारी निर्देशनलाई लत्याउँदै ऋण गरेरै भएपनि घर निर्माण गर्न थालेको पिडितहरुको भनाई छ ।
‘भुकम्प पछि वर्षा, त्यस लगत्तै कठ्याग्रिदो जाडो । अव हावाहुरी । भुकम्प गएको दश महिनासम्म अझै भग्नावशेष घरहरु । कति कष्ठकर जिवन ज्युने सरकारको बाटो कुरेर बसेको एक वर्ष भयो अव त फेरी वर्षा सुरु हुने बेला भइसक्यो वर्षा अघिनै ओत लाग्नका लागि ऋण गरेरै भएपनि घर बनाउन थालेको हुँ,’ भुवनेश्वरी ८ मुर्कीबेशीका गोपाल बयलकोटीले भने ।
उनले गाउँ घरमै ऋण गरेर भुकम्पले भत्केको घरको काटपात तथा ढुङ्गा जोडेर पुरानै शैलीमा घर निर्माण थालेका छन् । स्थानीय स्तरकै मिस्त्रीहरु लगाएर बयलकोटीले आधिभन्दाधेरै घरको निर्माण कार्य पुरा गरी सकेका छन् । गत बैशाख १२ गतेको विनासकारी भुकम्पले बलयकोटीको दुईवटै घरगोठ ध्वस्ता बनाई दिएको थियो ।
‘सरकारको बाटो कुर्दा कुर्दै दश महिना वित्यो । गाउँमा इन्जीनियरहरुको टोली फेरी क्षेतीको विवरण लिन आउँछन् भनेको सुनेका छौं तर, अझै आएका छैनन् । उनिहरु कहिले आउने हुन् । अनि सरकारले कहिले निर्णय गरेर पैसा पठाउछ । दिनदिनै दोस्रो पटक वर्षा लाग्न लागी सक्यो बालाखा छोराछोरीलाई ओत लगाउन पनि घर निर्माण थालेको हुँ,’ उनले भने । यसरी निर्माण गरिएका घरहरुमा भुकम्प प्रतिरोधका लागि कुनै पनि उपायहरु अपनाइएको छैन् । जसले फेरी आइपर्ने विपत्तीमा जोखीम निम्त्याउने निश्चित छ ।
तर, बयलकोटी जस्तै बाशेश्वर ३ का ध्रुव आछामीले पनि भुकम्प गएको दश महिनापछि ढुङ्गा माटोको प्रयोग गरी आफ्नै शैलीमा घर निर्माण गर्दा भुकम्पको जोखिम कायमै हुन्छ भन्ने जानकारी हुँदा हुँदै पनि पुरानै शैलिमा आफ्नो घर पुनर्निर्माणमा लागि परेका छन् । टहरोको बसाई अत्याधिक कष्ठपुर्ण भएपछि घर बनाउँन थालेको उनले बताए । सरकारले पैशा देला  र  घर बनाउँला भनेर बसेको दश महिनासम्मा पनि जिल्लामा पैसा वितरण हुने छेकछन्द नबुझेपछि आछामीले घर निर्माण थालेका हुन् । आछामीलाई सरकारले आफ्नै शैलिमा घर निर्माण गर्न रोक लगाएको विषयमा कुनै जानकारी नै छैन् । उनी सरकारले दुई लाख रुपैयाँ पैसा दिने भन्ने जानकारी भएपनि अरु विषयमा जानकारी नभएको बताउँछन् ।
‘सरकारले भनेजसरी घर बनाउँन पैसा पनि छैन् । नक्सा पनि छैन् । फेरी नक्सा पास गर्ने झण्झट कहाँ गर्ने । त्यस्तो घर बनाउँन सहयोग गर्ने मिस्त्रीहरु पनि छैनन् । थोरै लगानीमा भत्केको घरको काठपात जम्मा गरेर घर बनाउँन लागेको हुँ,’ उनले भने ।
बाँशेश्वरमा ध्रुव जस्ता दर्जनौ पिडितले आफ्नो भत्केको घरलाई उभ्याउन थालेका छन् । जिल्लाकै पुरानो झाँगा झोली ८ का पूर्णबहादुर बसेलले पनि पुरानै शैलीमा घर निर्माण थालेका छन् । उनले पनि गाउँकै मिस्त्री प्रयोग गरेर घर निर्माण थालेका हुन् । 
http://www.bijayakilla.com/2016/03/353.html सुचना हेर्नका लागी यहाँ क्लीक गर्नुहाेस । 
उता रामेछाप जिल्लाका भुकम्प पिडितहरु पनि धमाधम आफ्नै शैलीमा घर निर्माण गर्न थालेका छन् । सरकारले रकम वितरण गर्न ढिलाई गरेपछि बाध्यताले घर निर्माण गर्न थालेको मन्थली नगरपालिका १६ गाइखुराका कुमार पुरीले बताए । उनले आफु जस्तै गाउँका दुई दर्जनबढी भत्केका घरहरु धमाधम निर्माण थलिएको छ । कतिपयले बनाइनै सकेका छन् । तर, त्यस्ता घरहरु बनाउँदा सरकारले तयार गरेका नक्सा र मापदण्ड भने कसैले पनि पुरा गरेका छैनन् । भुकम्प पछि कष्ठकर जिवन विताएको एक वर्ष हुँदा समेत सरकारले विभिन्न बहाना बनाएर पैसा दिन पनि सकेन ऋणखान पनी बैंकहरुले दिएनन् । बाध्य भएर आफ्नै शैलिमा घर निर्माण थालेका हौं,’ गाइखुराकै अर्जुन माझीले गुनासो गर्दै भने ।
सरकारले विभिन्न प्रकारका भुकम्प प्रतिरोधी घरका नक्साहरु दिने र सोही अनुसारको घर बनाउन शुक्रबारबाट दोलखाको सिँगटीबाट थालनी गरिने भनिएपनि फेरी स्थगीत भएको खबरले भुकम्प पिडित थप चिन्तित बनेका छन् । सरकारले छिट्टै पैसा देला र घर बनाउँला भन्ने आशामा बस्नेहरु झनै अन्यौलमा परेको पिडितहरु बताउँछन् । उनिहरुपनि अब सरकारबो बाटो कुर्ने भन्दा पनि थोरै लगानीमा आफ्नै सुरमा घर निर्माण गर्ने तरखरमा छन् । 
उता सिन्धुलीमा २२ हजार पूर्ण र २५ हजार पाँच सय आंशिक गरी ४७ हजार पाँच सय घरहरु भुकम्पले क्षेती पुगेको सरकारी तथ्यांक छ । रामेछाप जिल्लामा ५४ हजारबढी घरहरु भत्केको बताइन्छ । पछिल्लो समय तथ्यांक विभागका इन्जीनियरहरुले पुन प्रमाणीकरण समेत थालेका छन् । तर, सरकारले समयमा पुननिर्मणका लागि पनि सहयोग नगर्ने व्यक्ति आफैलाई घर बनाउन पनी रोक लगाउन थालेपछि समयमा घर बनाउने इच्छा गर्नेहरु समेत थप चिन्तीत बनेको बताइन्छ । सरकारले तथ्यांक विभाग अन्तरगत खटीएका इन्जीनियरहरुले तयार गर्ने अन्तिम रिपोर्टका आधारमा पुनर्निर्माणको अनुदान दिने जनाएको छ । 
प्राप्त जानकारी अनुसार हालसम्म सिन्धुलीमा साँढे ६ हजार र रामेछाप जिल्लामा साँढे आठ हजार घरहरुको मात्र पुनप्रमाणिकरण सकिएको छ । यसले पनि यि जिल्लाहरुमा पुरै प्रमाणिकरण सकिएर घर निर्माण थाल्दा कम्तीमा पनि जेष्ठ महिना लाग्ने अनुमान गरीएको छ । तर, चिसोमा जसोतसो जिवन गुजारा गरेकाहरु अव हावाहुरी, आउँदो वर्षामा आफ्नै सुरक्षित घरमा बस्न चाहेपनि सरकारी निर्देशनले घर बनाउन चाहानेहरु समेत अन्यौलमा परेको गुनासो छ । 


0 comments

Write Down Your Responses