Powered by Blogger.
परिक्षण केन्द्र नहुँदा क्षयरोगी पहिचानमा समस्या



बुद्धकुमार आछामी
सिन्धुली, ६ बैशाख । जिल्लाका ग्रामीण क्षेत्रमा माइक्रोशकोपी सेन्टर(क्षयरोग परीक्षण केन्द्र) नहुँदा क्षयरोगी पहिचानमा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा क्षयरोगीको सख्या धेरै हुनसक्ने संभावना रहेको भएपनि परीक्षण केन्द्रको अभावका कारण उनीहरुको रोग पहिचान गर्न नसकिएको जिल्ला जनस्वाथ्य कार्यालय क्षयरोग शाखाका तिर्थ खड्काले बताए । 
जिल्लामा हाल जिल्ला जनस्वास्थ्य कार्यालय, प्राथामिक स्वास्थ्य केन्द्र कपिलाकोट, सिर्थौली, बेलघारी, भिमान सहित पाँच स्थानमा निशुल्क क्षयरोग परीक्षण सेवा सञ्चालनमा रहेको खड्काले जानकारी दिए । ग्रामीण क्षेत्रमा परीक्षण केन्द्र नहुँदा कतिपय विरामीहरु जिल्ला बाहिर जाने गरेका छन भने कतिपय विरामीहरु रोग पहिचान गर्न नसकि त्यतिकै ज्यान समेत गुमाउने गरेका छन । 
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङक अनुसार चालु आर्थिक वर्षको दोश्रो चौमासिक सम्म महिला ६३ जना र पुरुष १ सय २९ जना गरी जम्मा १ सय ९२ जना क्षयरोगीको संख्या रहेका छन । गत आर्थिक वर्षको भन्दा क्षयरोगीको संख्यामा केहि कमी आएको भएपनि खासै कमी भने आउन सकेको छैन । गत आर्थीक वर्षमा महिला ५० जना र पुरुष १ सय ३० जना सहित जम्मा १ सय ८० जना क्षयरोगीहरुको संख्या रहेको थियो । 
पहिचान भएका रोगीहरु मध्ये ५ देखी १४ वर्ष उमेरका विरामीहरुको संख्या ५, १७ देखी २१ वर्ष उमेरका ३८ रहेका छन भने बढी मात्रामा २५ देखी ४५ वर्ष उमेर समुहका रोगीहरुनै बढी मात्रामा हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङक अनुसार हाल जिल्लाका ३२ वटा गाविसहरुमा क्षयरोगीको संख्या रहेको छ । त्यस्तै जिल्लामा हाल रोग बल्झिएको विरामीहरुको संख्या २६ जना रहेको छ भने १ जना बहुऔषधी प्रतिरोधी क्षयरोगी रहेको जनाइएको छ । 
क्षयरोग माइक्रोब्याक्टेरियम टयुबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । स्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोधी क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । 
एक जना क्षयरोगीले समयमा औषधी नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ । त्यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । 

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रति एक सय जनामा ४५ जनामा क्षयरोगको जिवाणु भएको अनुमान गरिएको छ । सरकारले सन १९९५ देखी राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम मार्फत देशभरी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्ने डट्स प्रविधिको सुरुवात गरेको छ । क्षयरोगीहरुलाई सरकारले निशुल्क औषधी, निरन्तर औषधी सेवन गर्नेलाई प्रोत्साहन तथा पोषण भक्ता समेत प्रदान गर्दै आईरहेको छ । 
सरकारी र नीजि स्वास्थ्य संस्थाका चार हजार दुई सय २१ केन्द्रबाट डट्स सेवा प्रदान गरिएको जनाइएको छ । 
तथ्याङक अनुसार विश्वमा १ अर्व ७० करोड जनसंख्या क्षयरोगको किटाणुबाट संक्रमित छ भने नेपालमा ८० देखी ९० हजार क्षयरोग पिडितहरु रहेका छन । नेपालमा वर्षेनी ४५ हजार क्षयरोगमा नयाँ विरामीहरु थपिने गरेको तथ्याङकमा उल्लेख छ । 


, ,

0 comments

Write Down Your Responses