Powered by Blogger.
सामुदायीक विद्यालयमा घट्दै विद्यार्थी



सिन्धुली, १० वैशाख । सरकारले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागी बर्सेनी प्रयास गरिरहेको भएपनि विद्यार्थी संख्या घट्दै गएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको घट्दो क्रमले त्यहाँ गरिएको अरबौंको लगानी उपलब्धीहिन बन्दै गएको छ ।  
विद्यार्थीको घट्दो संख्या लगायतका कारण देखाएर पछिल्ला वर्ष जिल्लामा विद्यालयहरु एकआपसमा गाभिएको अवस्था समेत रहेको छ । सामुदायीक विद्यालयमा विद्यार्थी तथा अभिभावकको विकर्षणलाई न्यून गर्न सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको भएपनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन । सरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षणका लागि समग्र शैक्षिक गुणस्तरीयता बढाउने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको छ । 
अभिभावक तथा विद्यार्थीहरुको आकर्षणमा बृद्धि गर्न भर्ना अभियान, बालमैत्री शिक्षा कार्यक्रम, विद्यालय सुधार कार्यक्रम जस्ता कार्यक्रमहरु जिल्ला शिक्षा कार्यालय मार्फत सञ्चालन गर्ने गरिएको छ । जस्ले सामुदायीक विद्यालयमा गुणात्मक परिवर्तन र सुधारको विश्वास अभिभावकहरुमा दिन सकेको अवस्था छैन । शैक्षिक गुणस्तरमा प्रश्न उठाउँदै ग्रामीण भेगका अभिभावकहरु पनि नजिकको सरकारी विद्यालय छोडेर टाढाका निजी विद्यालय रोज्न तर्फ लागेका छन । 
केही सरकारी विद्यालयहरुको लापरबाहीले पनि सम्पूर्ण विद्यालयलाई अभिभावक तथा विद्यार्थीले गलत ढङ्गले बुझ्ने गरेको श्री प्रगतिशिल उमावि झागाँझोली रातमाटाका प्रधानाध्यापक चक्र बहादुर श्रेष्ठ बताउछन । शैक्षिक गुणस्तरीयतालाई उच्च प्राथमिकतामा राख्दै त्यसका लागि विगत केही वर्ष यता विद्यालयले विभिन्न किसिमले आफ्नो सक्रियता बढाउँदै गएका कारण विद्यार्थी संख्या आफ्नो विद्यालयमा बढेको श्रेष्ठको भनाई छ ।
सरकारी विद्यालय प्रतिको नकारात्मक दृष्टिकोण, विद्यालयमा अग्रेजी माध्यमको कम प्रयोग, सरकारी विद्यालयमा पढाउँदा प्रतिष्ठा नै घट्ने नकारात्मक सोच आदिले विद्यार्थी तथा अभिभावकको सरकारी विद्यालयप्रतिको विकर्षण बढ्दै गएको हो । सरकारी विद्यालय प्रतिको बढ्दो विकर्षणलाई कम गर्न विगत दुई वर्ष यता सरकारले विभिन्न विद्यालयमा प्राविधिक विषयका कक्षा पनि सञ्चालन गर्दै आएको छ ।
प्राविधिक विषय अध्यापन हुने विद्यालयहरुमा भने विद्यार्थीहरुको आकर्षण बढेको छ । सिन्धुलीमाढी स्थित गौमती नमुना उच्च माविमा सुरु गरिएको कृषि विषय पढ्न निर्धारित कोटामा भर्ना हुन विद्यार्थी तथा अभिभावक निकै लालयीतत हुने गरेको शिक्षक नबराज थिङ बताउछन । विद्यालय तहमै प्राविधिक तथा अन्य विभिन्न सीपमूलक विषय अध्यन गराउने ब्यवस्था मिलाएर सरकारी विद्यालयमा विद्यार्थीको घट्दो क्रमलाई रोक्नु पर्ने थिङको भनाई छ ।
सिन्धुलीमाढी सदरमुकाम लगायत ग्रामीण क्षेत्रका विभिन्न सरकारी विद्यालयमा पढाउँदा आफ्नो प्रतिष्ठा घट्ने अत्यन्त नकारात्मक सोच बढिरहेको र यो सोचलाई अन्त्य गराउन सरकारले नयाँ–नयाँ कार्यक्रम ल्याउनु आवश्यक रहेको सरोकारवालाहरु बताउछन । 
पछिल्लो समयमा सरकारी विद्यालय प्रति देखिएको विकर्षणले यी विद्यालयमा सरकारले गरेको लगानी केबल बालुवामा पानी खन्यायसरी भएको छ । हुनेखाने वर्गले निजी विद्यालयमात्र रोज्ने हुँदा खाने वर्ग आफ्नो बाध्यताका रुपमा सरकारी विद्यालयमा बालबच्चा पढाउने र विभिन्न सरकारी पेसामा आबद्ध व्यक्तिहरु सरकारी विद्यालयमा आफ्ना बालबच्चा नपढाउने जस्ता कारण सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन ।
सरकारले सरकारी उच्च पदस्थ सरकारी अधिकारी र सामुदायीक विद्यालयका शिक्षकहरुको छोराछोरीलाई सरकारी विद्यालयमा नै पढाउनु पर्ने निती लिएको भएपनि त्यो कार्यान्वय हुन सक्ने अवस्थामा छैन । आफु सरकारी विद्यालयमा अध्यापन गराउने तर आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने सस्कारको अन्त्य गर्ने सरकारी निती केवल नीतिमा मात्रै सिमित बनेको छ । 


, ,

0 comments

Write Down Your Responses