Powered by Blogger.
सिन्धुलीका दुई गाविस पूर्ण खोपयुक्त घोषणा

प्रमाणपत्र प्रदान गर्दै इश्वर कुमार गीरी । 
सिन्धुली, २१ चैत्र । ‘स्थानीय स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता, पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने मुल नाराका साथ सन २०१७ सम्म नेपाललाई पूर्ण खोपयुक्त देशको रुपमा घोषणा गर्ने सरकारको अभियान अन्र्तगत सोमबार सिन्धुली जिल्लाको तिनकन्या र जलकन्या गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । 
दुवै गाविसले सोमबार घोषणासभाको आयोजना गरी पूर्ण खोपयुक्त गाविस घोषणा गरेका हुन । जलकन्या गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणामा प्रमुख अतिथीको रुपमा बोल्दै सासंद मोहन प्रसाद बरालले पूर्ण खोपयुक्त गाविस घोषणा हुनु आफैमा सकारात्मक पक्ष रहेको भएपनि यसलाई निरन्तरता दिन सवै पक्ष सचेत भएर लाग्न जरुरी रहेको बताए । बरालले समाजको चेतना स्तर विकास गर्दै जान सकेमा सवै स्वास्थ्य रहने र नागरीक स्वास्थ्य रहेमा देशले सकारात्मक गति लिन सक्ने समेत बताए ।
अतिथीहरू । 
त्यस्तै तिनकन्या गाविसमा आयोजित पूर्ण खोपयुक्त गाविस घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद गणेश कुमार पहाडीले २०३४ सालबाट सरकारले बालमृत्यूदर घटाउन खोप अभियान सुरु गरेको स्मरण गर्दै देशभरका १७ जिल्ला पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा भईसक्दा पनि सिन्धुली जिल्लाले भने भरखर पहिलो गाविस पूर्ण खोपयुक्त घोषणा गर्नु कमजोरी रहेको बताए । 
बालमृत्यू दरलाई घटाउन र बालवालिकाहरुको सुरक्षित भविष्य निर्माण गर्न पूर्ण खोप अभियानलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउँदै पहाडीले अभिभावकहरुको खोपको महत्वको बारेमा चेतना जगाउन सकेमा पूर्ण खोप अभियानले निरन्तरता पाउनेमा जोड दिए ।
सहभागीहरू । 
सासद पहाडीले राजनैतिक विषयमा बोल्दै नेपाली जनताहरुको अथक मेहनत र संघर्षबाट प्राप्त राजनैतिक उपलब्धीहरुलाई संविधानले सस्थागत गरेको बताउँदै अब आर्थिक सबृद्धिको अभियानमा लाग्नु पर्ने बताए । स्थानीय निकायको चुनाव नहुँदा मुलुक भद्रगोल बन्दै गएकोले चाडै स्थानीय निकायको निर्वाचन गरेर मुलुकलाई सबृद्धिको बाटोतर्फ लानुपर्ने पहाडीको भनाई थियो । 
तिनकन्या स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला खोप समन्यव समितिका अध्यक्ष समेत रहेका स्थानीय विकास अधिकारी इश्वर कुमार गीरीले सरकारले वालवालिकाहरुलाई स्वास्थ्य बनाउन पूर्ण खोप अभियान सञ्चान गरेको बताउँदै अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुरयाउन सवैपक्षलाई आग्रह गरे । गीरीले पूर्ण खोपयुक्त गाविस घोषणाको स्थान सम्म ल्याइपुरयाउन सहयोग गर्ने सवैपक्षलाई धन्यवाद दिए ।
कलाकारहरू प्रस्तुती देखाउँदै । 
कुल ५ हजार ६ सय ४६ जनसंख्या र ९ सय ४० घरधुरी रहेको तिनकन्या गाविसका ९७ वालवालिकाहरुलाई पूर्ण खोपको कार्ड वितरण गरिएको र ५६ जना नयाँ जन्मीएका शिसुहरुलाई खोप प्रदान गर्ने कार्य भईरहेको स्वास्थ्य चौकी तिनकन्याका इन्चार्ज उद्धब आचार्यले जानकारी दिए । 
घोषणासभामा नेपाली काग्रेसका जिल्ला सचिब दिपक घिमिरे, नेकपा(एमाले)का केन्द्रिय सल्लाहकार सदस्य केशव देवकोटा, एकीकृत माओवादीका यमकुमार देवकोटा, नेकपा(क्रान्तिकारी माओवादी)का ढक प्रसाद देवकोटा, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सुरेन्द्र प्रसाद चौरासीया, जिल्ला अस्पताल सिन्धुलीका प्रमुख डा.फडिन्द्र प्रसाद बराल, अस्पताल विकास समितिका अध्यक्ष विनोद खड्का, स्थानीय बुद्धिजिवी सकन बहादुर ठकुरी, गाविस सचिब थलकुमार गौतम लगायतले शुभकामना व्यक्त गर्दै घोषणाले निरन्तरता पाउनु पर्नेमा जोड दिएका थिए ।
स्वयमसेवीकाहरू । 
घोषणा सभाकै अवसर पारेर पूर्ण खोपयुक्त गाविस घोषणामा सहयोग पुरयाउने स्वास्थ्य स्वयमसेविकाहरु, विभिन्न् संघ सस्था तथा व्यक्तिहरुलाई प्रशसा पत्र समेत प्रदान गरिएको छ । 
बालवालिका जन्मेको १ वर्ष भित्रै पूर्ण खोप प्राप्त गरी विभिन्न् रोगहरुबाट सुरक्षित हुन सकुन भन्ने अभिप्रायले सरकारले पूर्ण खोप सुनिश्चित निर्देशीका २०७१ अनुसार खोपयुक्त देश घोषणा अभियान सञ्चालन गरिरहेको छ । निर्देशीका अनुसार पूर्ण खोप भन्नाले एकवर्ष उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार विसीजी एकमात्रा, डिपिटी हेप वी हीव तिनमात्रा, पोलीयो तिनमात्रा तथा दादुरा रुवेला एकमात्रा अनिवार्य रुपमा लगाएको हुनुपर्ने उल्लेख गरिएको छ । 
पछिल्लो तथ्याङ अनुसार नेपालका ८७ प्रतिशत वालवालिकाहरुले मात्र पूर्ण खोप प्राप्त गरेको र १३ प्रतिशतले अझै पूर्ण खोप प्राप्त गर्न नसकेको उल्लेख छ भने अभियान सञ्चालन पछि २५ प्रतिशतका दरले वालमृत्यू दरको घटेको जनाइएको छ । 




, ,

0 comments

Write Down Your Responses