Powered by Blogger.
सुनकोसी–मरिन–वाग्मती आयोजनाको निर्माण सुरू

सिन्धुली,२६ चैत्र । सरकारले मध्य तराई–मधेस (२ नं. प्रदेश) का पाँच जिल्लामा वर्षैभरि थप सिँचाइ सुविधा पुर्‍याउन र ३६ मेगावाटको जलविद्युत् आयोजना बनाउने महत्त्वाकांक्षी बहुउद्देश्यीय सुनकोसी–मरिन–वाग्मती आयोजनाको निर्माण आगामी आर्थिक वर्षदेखि थाल्ने भएको छ ।

सिँचाइ विभागले यो बहुउद्देश्यीय आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ । विस्तृत इन्जिनियरिङ अध्ययन आगामी भदौ–असोजसम्ममा सम्पन्न गरी डीपीआर तयार गर्दै छ ।
त्यसपछि आयोजनाको डिजाइन र टेन्डर प्रक्रिया सुरु गरिनेछ । आगामी आर्थिक वर्षको अन्त्यसम्ममा ठेकेदार छनोट गरी निर्माण थालिने सिँचाइ मन्त्रालयका सहसचिव माधव बेलवासेले जनाए ।

खुर्कोटबजार नजिक सुनकोसी नदीमा बाँध बाँधेर पानी डाइभर्सन गरी १३ किलोमिटर लामो सुरुङ बनाएर सिन्धुली जिल्लाको मरिन खोलामा खसालिनेछ । सिन्धुलीको भद्रकाली गाविसमा पर्ने मरिन खोलामा पावर हाउस बनाएर वर्षैभरि ३६ मेगावाट बिजुली निकाल्ने योजना छ । त्यो बिजुली विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सुनकोसी डाइभर्सनबाट सुरुङ मार्ग हुँदै ७७ क्युमेक (७७ हजार लिटर प्रतिसेकेन्ड पानी) मरिन खोलामा आउनेछ ।

उक्त पानी मरिन खोला हुँदै वाग्मती नदीमा मिसिनेछ । निर्माण सुरु भएको ६ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । यो आयोजनामा पनि भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा जस्तै टनेल बोरिङ मेसिनबाट सुरुङ खनिनेछ । विभिन्न जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजनामा सामान्य ड्रिलिङ उपकरणले सुरुङ खन्ने काम हुँदै आएको छ ।

भेरी नदीमा बाँध बाँधी १२ किमि लामो सुरुङ खनेर ४८ क्युमेक पानी बबई नदीमा लगी ४८ मेगावाट बिजुली निकाल्ने र बाँके तथा बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने बहुउद्देश्यीय आयोजना निर्माणाधीन छ । सुनकोसी–मरिन–वाग्मती आयोजना मुलुककै दोस्रो बहुउद्देश्यीय आयोजना हुनेछ ।  

बाग्मती सिँचाइ आयोजनाबाट हाल सर्लाही र रौतहट जिल्लामा सिँचाइ भइरहेको छ । सुनकोसीबाट ल्याइने ७७ क्युमेक वाग्मती सिँचाइमा थपिएपछि २ नं. प्रदेशका ५ जिल्लाहरू बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका थप ७७ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुग्नेछ । बाराको पुरै र धनुषा तथा महोत्तरीको दक्षिणी भेगमा सिँचाइ सुविधा पुग्नेछ ।

हालको वाग्मती सिँचाइ आयोजनाबाट ४५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिरहेको छ । सुनकोसी डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी थपिएपछि २ नं. प्रदेशको १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सुविधा पुग्नेछ ।

यो बहुउद्देश्यीय आयोजना सम्पन्न भएपछि २ नं. प्रदेशमा थप सिँचाइ सुविधा पुग्ने जमिनबाट एक हेक्टरको साढे चार टनको दरले खाद्यान्न उत्पादन ३ लाख ४६ हजार ५ सय टनभन्दा बढी बढ्नेछ । आयोजना निर्माण गर्न २० अर्ब रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ ।

नहरको क्षमता वृद्धि गर्न र ती ५ जिल्लाका खेत–खेतसम्म पानी पुर्‍याउने कुलो र पैनी बनाउन थप २५ अर्ब रुपैयाँ खर्च लाग्ने बेलवासेले जनाए ।


,

0 comments

Write Down Your Responses