Powered by Blogger.
अनुदानको पर्खाइमै बित्यो भुकम्प पिडितको एक वर्ष

पिडित भन्छन, ‘यसपालिको बर्खा पनि टहरो मै बित्ने भो ।’ 


सिन्धुली, ११ जेठ । बिनासकारी भूकम्प गएको एक बर्ष बितिसक्दा पनि पिडितहरुले पुर्ननिर्माण अनुदान पाउन सकेका छैनन् । नेपाल सरकारले पुर्न निर्माण प्राधिकरण मार्फत आवास निर्माणका लागी दिने भनिएको रु दुई लाख सहयोग अहिले सम्म सम्झौता कार्य नै प्रारम्भ नहुँदा पीडितहरुले यसपालिको बर्खा टहरामै बिताउनुपर्ने बाध्यतामा परेका छन । 
सित्तलपार्टी गाविसका पिडित कृष्ण तोलाङ्गे भन्छन, ‘भूकम्प गएको १३ महिना भयो, अहिलेसम्म सरकारले केही गर्न सकेको छैन, यसपालिको बर्खा पनि तहरोमा नै बिताउनु पर्ने भयो ।’ गर्मी बढेसंगै लामखुट्टे, सर्प र जंगली जनावरसंगै हावाहुरी तथा चर्कोघामले सताउँदा बालबालिका र बृद्धबृद्धा थप मारमा परेका छन् । जंगलमा लागेको आगलागीका कारण जंगली जनावरहरु गाउँ पसेकाले बारीको पाटोमा बनाइएको अस्थायी टहरोमा सुरक्षित संग रात काट्नै मुस्कील भएको उनीहरुले गुनासा गरिरहेका छन । 
यो वर्षात्मा घरभित्र बस्न पाइन्छ भन्ने आश पिडितहरुमा हराउँदै गएको र सरकारको गतिवीधीका कारण पीडितहरु माथि झन पिडा थपिदै गएको भुवनेश्वरी गाविसका स्थानीय बीर बहादुर सार्की बताउछन । भुकम्प गएको वर्षदिन वितिसक्दा पनि भुकम्पबाट क्षती भएका नीजि र सार्वजनीक संरचनाको निर्माणमा सरकार र प्राधिकरणले प्रभावकारी काम सुरु गर्न नसकेकोमा भने पिडितहरु रुष्ट छन् ।
पछिल्लो पटक तथ्यांक संकलनमा धेरै भुकम्पपीडितको नाम छुटेको गुनासो आएको छ । कसैको एउटा घर ढलेकोमा तीनजनाको नाम आएको र कँही घर ढल्ने व्यक्तिको पनि नाम छुटेको छ । सरकारको गम्भीर कमजोरीका कारण पीडितहरुले झन पिडा भोग्नु परेको सार्की बताउछन । 
जिल्लामा दुई नगरपालिका र ५० गाविस छन् । गत वर्ष भूकम्प गएकै समयमा एक वर्ष भएको दिन वैशाख १२ गते तिनवटै निर्वाचन क्षेत्रबाट पुर्ननिर्माण अभियान सुरु गरिएको थियो । जिल्लाको झारा गाविसका १ हजार २१ जनाले अनुदानका लागी सम्झौता गरेको भएपनि पहिलो किस्ता पाउन सकेका छैनन् । जिल्लाका अन्य गाविस र नगरपालिकाका स्थानीयहरुले त कहिले र कसरी अनुदान रकम प्राप्त गर्ने भन्ने जानकारी नै पाउन सकेका छैनन् । 
भूकम्पले पहिरो लाग्नुका साथै जमिन फाटेर बस्नै नहुने भएपछि भिमेश्वर गाविस बाराहाका एक दर्जन परीवार सार्वजनिक जमिनमा टहरा बनाएर बस्दै आएका छन । आफ्नै थातथलोमा फर्केर जाने अवस्था नभएर सोही ठाउँमा बसोबास गरिरहेका व्यक्तिहरू अझै पनि अन्योलमा छन् । आफूहरू बस्दै आएको ठाउँ सार्वजनिक जमिन भएकाले चाँडै नै नेपाल सरकारले निर्णय गरी त्यहीँ नै बसोबासको व्यवस्था मिलाइदिए राम्रो हुने पीडितहरु बताउछन । 
कतिपय गाविसमा अघिल्लो पटक भुकम्प पीडितका कार्ड पाएर १५ हजार राहत र १० हजार न्यानो कपडा वापतको रकम बुझेकाहरु पुर्ननिर्माण अनुदान नपाउने सुचिमा परेका छन भने भुकम्प पीडितको कार्ड नपाएकाहरु अनुदान पाउने सुचिमा रहेका छन त्यसको कारण पनि अनुदान सहज वितरण गर्न समस्या उत्पनन् भएको छ । अघिल्लो पटक जिल्ला भरिका कुल २२ हजार १ सय ८६ परीवारले भुकम्प पिडितको परिचयपत्र सहित राहत रकम प्राप्त गरेका थिए तर अहिले त्यो संख्या बढेर ३४ हजार २ सय ५६ पुगेको छ । 
भुकम्प गएको एक वर्ष सम्म सरकारको पुर्ननिर्माण राहतको आशामा बसेका बास्तविक भुकम्प पिडितहरु अनुदान पाउनेको सुचिमा आफ्नो नाम नभेटे पछि स्थानीय सामाजिक परीचालहरु प्रति रिस पोखीरहेका छन । लगत संकलन कार्यमा खटिएका इन्जीनियरहरुलाई प्रत्येक घर घरमा पुरयाउन खटिएका सामाजिक परीचालकहरु नै उनीहरुको लागी अहिले आक्रोश पोख्ने माध्यम बनेका छन । स्थनीय तहमा सामाजिक परीचालकहरुको पुत्ला दहन सम्मका गतिविधी भएका छन । 
सरकारले पुनर्निर्माणको कामलाई उच्च प्रथमिकतामा राखेको जनाएपनि एक वर्ष सम्म पनि जिल्लामा त्यसले गती लिन सकेको छैन् । सरकारको बाटो नकुरी घर बनाउँदा अनुदान रकम पाइने होकी नपाइने हो भन्नेमा पिडितहरु दोधारमा छन् । प्राधिकरणको अनुदान वितरण कार्य कछुवाको गतीमा भइ रहेका बेला जिल्लाका केही पिडितले आफ्नै सुरमा घर पुनर्निर्माण गरे पनि अधिकांसले एक वर्षदेखी आफ्ना भत्केका घरका भग्नाबशेष समेत पन्छाएका छैनन् । उनिहरु टहरामै कष्ठकर जिवनसंगै सरकारी अनुदानको पर्खाइमा छन् । गाउँमा युवा जनशक्ति नहुँदा भग्नावशेष समेत हटाउन नसकेको रानीचुरीका भुकम्प पिडित शेरबहादुर कार्की बताउँछन् । 
सरकारले सिंहदरबारमा बसेर पिडितलाई बाँढेका आशाहरु गाउँसम्म आइ पुग्न नसकेको पिडितहरु गुनासो गर्छन् । शहरदेखी गाउँसम्म पाल र टहरामा बसेका पिडितहरुको दुःख उस्तै छन् । जिल्लामा अहिले पनि टिनका छानामुनी धेरै पिडितहरु विना पानी, विना वत्ति र शौचालयको अभावकै बीच बस्नु परेको पिडितहरुको गुनासो छ ।
जिल्लामा विनासकारी भुकम्पका कारण ध्वस्ता स्वास्थ्य संस्था, प्रहरी चौकी, विद्यालय, खानेपानी, सिँचाई कुलोका साथै धार्मीक तथा ऐतिहाँसिक मठमन्दीर लगायतका अन्य भौतिक संरचना भग्नाबशेष छन् । त्यस्ता संरचनाको भग्नावशेष न त हटाउन सकिएको छ नत अन्यत्र स्थानमै पुनःनिर्माण थालिएको छ ।
भुकम्पको अति प्रभावित जिल्ला मध्येको सिन्धुलीमा चार सय बढी विद्यालय, एक दर्जनबढी प्रहरी चौकी एक दर्जनबढी स्वास्थ्य संस्था, चार सय ५० वटा खानेपानी आयोजना, एक दर्जनकै हाराहारीमा सिँचाईका आयोजनाहरुमा क्षेती पुगेको छ । यस्तै २५ बढी धार्मीक तथा ऐतिहाँसिक महत्वका संरचनामा क्षेती पुगेको तथ्याङ्क छ ।
जिल्लामा बिनासकारी भुकम्पका कारण १४ जनाले ज्यान गुमाएका छन् । १ सय २५ जना घाइते भए । २३ हजार बढी  पूर्ण रुपमा क्षेती र २४ हजार ५ सय आंशिक क्षेती गरी ४७ हजार ७ सय घरमा क्षती पुगेको सरकारी तथ्याङ्क छ भने पछिल्लो अनुदान पाउनेमा ३४ हजार २ सय ५६ रहेको जनाइएको छ । 


,

0 comments

Write Down Your Responses