Powered by Blogger.
युवा विदेश पलायन हुँदा पुर्ननिर्माणमा समस्या

सिन्धुली, १३ जेठ । स्वदेशमा रोजगारीको कुनै अवसर नपाएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवाहरु विदेश पालयन हुने क्रम बढ्दो अवस्थामा रहेको छ । गाउँका युवाहरु रोजगारीका लागी विदेश पलायन हुँदा सरकारले सुरु गर्न लागेको भुकम्प पीडितहरुको आवास पुर्ननिर्माण अभियान समेत प्रभावित हुने देखिएको छ । 
भुकम्पबाट क्षतिग्रस्त भएका ३४ हजार २ सय ५६ परीवारले पुर्ननिर्माण अनुदान पाउँदै छन तर गाउँमा घर बनाउने दक्ष जनशक्ति र युवाहरुकै अभाव रहेको छ । गाउँमा काम नपाइने, पुँजीको अभाव र विभिन्न आन्दोलनका कारण पछिल्लो समय युवाहरु बिदेसिने क्रम ह्वात्तै बढेको छ । अझ भुकम्प गएपछि घरबास नै नहुँदा र सरकारले अनुदान वितरणमा समेत ढिलाई गर्दा सरकारी आशा गर्नु भन्दा आफै कमाएर ल्याउने सोचका साथ विदेश पलायन हुने युवाहरुको संख्या पनि कमी छैन । 
युवा विदेशिए पछि गाउँका बस्ती युवा विहीन भएका छन् । बुढाबुढी र महिला तथा केटाकेटीहरु साहारा विहिन भएर टहरामा रात काट्न बाध्य छन । गाउँमै बसेर केही उद्यम गर्ने सोच बनाए पनि स्रोत साधन जुटाउन नसक्दा गर्जो टार्न बिदेसिनु परेको उनीहरूको परीवारको भनाई छ । 
साहुले ऋण पत्याएका युवा खाडी मुलुक तथा अन्य युवा भारतका विभिन्न सहर जाने क्रम बढ्दै गएको छ । सरकारले स्वदेशमै भरपर्दो रोजगारीको ब्यवस्था गर्न नसक्दा वर्षेनी लाखौं युवाहरु विदेशी भुमीमा पसीना बगाउन बाध्य हुने गरेको सामाजिक अगुवाहरु बताउछन । स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकेमा र बाँकी रहेका युवाहरुलाई भुकम्प प्रतिरोधी घर निर्माणको तालिम प्रदान गरेर पुर्ननिर्माण अभियानमा सामेल गराउन सकेमा वेरोजगारी र भुकम्प पीडित दुवैको समस्या हल गर्न सकिने उनीहरु बताउछन । 
जिल्लाका सवै गाउँ बस्तीका युवाहरु बेरोजगारी बढेपछि विदेश पलायन हुन बाध्य हुने गरेको पुरानो झागाँझोली गाविसका स्थानीय बद्रि बहादुर दाहाल बताउछन । 
गाउँमा युवा नहुँदा आपत् विपत्का समयमा निकै अप्ठ्यारो पर्ने गरेको उनको भनाई छ । “गाउँमा सानोतिनो काम अराउन युवा भेटिन्नन्, मर्दापर्दा त झनै सकस पर्छ,” उनले भने । जिल्लाको पश्चीम क्षेत्रका गाविसहरुमा त वैदेशीक रोजगारीमा नभएको घर नै भेट्न गाहो हुने अवस्था पुगीसकेको छ । यहाँका अधिकांश युवा साउदी अरब र मलेसीया पुगेका छन् । उता युवाहरु विदेशको तातो घाममा पसीना बगाईरहेका छन भने यता भुकम्प गएको एक वर्ष वितिसक्दा पनि युवा जनशक्तिको अभावका कारण भग्नावशेष हटाउन सकिएको छैन । 
ग्रामीण क्षेत्रका गाउँमा परिवारको भरणपोषणको मुख्य स्रोत नै वैदेशिक रोजगार बनेको नेत्रकाली गाविसका स्थानीय बुद्धिमान स्याङतान बताउछन ।  युवा पुस्ता भारत र अरब लाग्दा सामाजिक र सांस्कृतिक महत्वका चाडपर्व निरस हुँदै गएको उनको भनाई छ । अचेल गाउँमा नाचगान गर्ने, बिहेबटुलोमा काम सघाउने, बिरामी पर्दा अस्पतालसम्म पु¥याइदिने र मर्दा घाट पुयाउने मान्छेको अभाव हुन थालेको छ । 
बर्खा सुरु भइसक्दा पनि पीडितहरु टहरामा रात विताईरहेका छन । अनुदान कहिले आउने हो भन्ने समेत ठेगान नहुँदा र गाउँमा दक्ष जनशक्ति र युवाहरु नहुँदा यसपालिको वर्खा पनि टहरामै वित्ने निश्चीत भएको भुवनेश्वरी गाविसका स्थानीय झलक बहादुर सार्की बताउछन ।


,

0 comments

Write Down Your Responses