Powered by Blogger.
अनुदान लिनका लागि धमाधम अंशबण्डा गर्नेको संख्या ह्वत्तै बढ्यो



जिल्लामा पुनर्निर्माण अनुदान र गुनासोकै लागी अंशबण्डा र लापुर्जा अनिवार्य !

सिन्धुली ३, असार । सिर्थौली—७ पाखाटोल सिन्धुलीका जंगबहादुर योन्जन मंगलबार लठ्ठी टेक्दै तिनभाई छोरा लिएर उनिहरुलाई अंशबण्डा गराई दिन मालपोत कार्यालय सिन्धुलीमा आइपुगे । व्यवहारीक रुपमा छोराहरु आआफ्नो तवरले छिन्नभिन्न (छुट्टीएको) दशकौं भयो । तर, उनले आफुले छोराहरुको लागि गरीदिनु पर्ने अंशबण्डा भने मौखिक रुपमानै भागण्डा गरीदिएको भएपनि कानुनी रुपमा भ्याएका थिएनन् । उनलाई र उनका छोराहरुलाई पनि कुनै हत्तार थिएन । तर, गत बैशाख १२ गतेको भुकम्प पछि सरकारले दिने भनेको निजी आवस पुनर्निर्माणको अनुदानका लागि अनिवार्य अंशबण्डाको प्रमाण खोजेपछि पाँच भाइका पिता योन्जन मंगलबार तिन भाईका साथ मालपोत कार्यालय आइपुगेका हुन् ।
अंशबण्डा नगरेका र आफ्नै लालपुर्जा नभएकाहरुलाई अनुदानको दुई लाख नदीने भन्ने सुनेपछि योन्जन भुकम्पको १३ महिनापछि छोराहरुलाई अंशबण्ड गरीदिन आएका हुन् । योज्नका पाँच भाई मध्ये दुई भाई विदेशमा छन् । घरमा भएका जेठा, माइला र काइलाछोरालाई अंशबण्डा गरेर उनिहरुले पाउने जग्गा जमिन भाग लगाइदिन आएका हुन् । 
सरकारले दिने भनेको दुई लाख रुपैयाँ अनुदान लिनका लागि गत वर्षको बैशाख १२ अघि अंशबण्ड गरेर बसेको हुनु पर्ने र भुकम्प प्रभावित घर निर्माणकालागि लाभग्राहीको स्वयमको नाममा जग्गाको लालपुर्जा हुनु पर्ने व्यवस्था छ । आफु लगायत दुई भाई छोराहरुको घर भुकम्पले ध्वस्त बनाएपछि पुनर्निर्माणका लागि सरकारले दिने भनेको अनुदान पाउनका लागि लभग्राहीको सूचिमा परेको र काइला छोरा भने सूचिमै नपरेको उनि बताउँछन् । लाभग्राहीको सुचिमै परेका दुईभाई छोराको  पनि छुट्टीएर बसेको बर्सौ भएपनि अंशबण्डाको प्रमाण नभएपछि सम्झौता हुन सकेको छैन् । ‘काइला छोराको नाम लाभ ग्राहीको सुचिमै रहेनछ । सुचिमा पर्नेहरुको सम्झौताका लागि र नपरेको छोरालाई सुचिमा राख्न गुनासो दर्ताकै लागि पनि लालपुर्जा र अंशबण्डाका कागजात आवश्यक पर्ने भएपछि तिनभाई छोरालाई लिएर जिल्ला आएको हुँ,’ उनले भने ।  
अनुदान पाउनेको सूचिमा परेपनि लालपुर्जा र अंशबण्डा नभएपछि गाविसमा सम्झौता गर्न नपाएको योज्नका माइला छोरा पालबहादुर योन्जनले बताए । मेरो र दाजुको अंशबण्डा नभएपछि सम्झौता भएको थिएन् । भाईको लाभग्राहीको सुचिमै नाम नभएपछि गुनासो दर्ताका लागि पनि अंशबण्डा खोजेपछि अंशबण्डा गर्न बुबालाई लिएर मालपोत हौं,’ योन्जनका छोरा पालबहादुरले थपे ।
योन्जन परिवार जस्तै भुकम्पले ध्वस्त बनाएको घर पुनर्निर्माणका लागि अंशबण्डा आवश्यक भएपछि कुशेश्वर दुम्जाका निर्मल क्षेत्रीपनि आफ्ना छोराहरुलाई अंशबण्ड गराई दिन मंगलबारनै जिल्ला आएका छन् । उनले मंगलबारनै छोराहरुलाई अंशबण्डा गराईदिने जनाए । 
भुकम्प पछि घर ध्वस्त भएकाहरुलाई पुनर्निर्माणका लागि अनुदान लिन अंशबण्डा र नक्सा पासका लागि लालपुर्जा अनिवार्य आवश्यक भएपछि योन्जन र क्षेत्री जस्तै ठुलो संख्यामा अंशबण्डा गराउनेहरुको संख्यामा ह्वात्तै बढेको छ ।   गराउँनेहरुको संख्या भुकम्प प्रभावित जिल्लामा ह्वात्तै बढेको हो । यसले जिल्लामा भुकम्प प्रभावितहरुको संख्यामा समेत वृद्धि देखाएको छ । 
जिल्ला मालपोत कार्यालय सिन्धुलीका अनुसार पछिल्लो समय अंशबण्डा गर्नेहरुको संख्या दैनिक रुपमा बढ्दै गएको छ । निमिक्त मालपोत अधिकृत भगिरथ सिग्देलका अनुसार हिजो आज मालपोतमा दैनिक दर्जनौंको संख्यामा अंशबण्डा गर्न आउने गरेका छन् । जिल्लामा अहिले घरजग्गाको किनबेच भन्दा अंशबण्डा गराउनेहरुको संख्या धेरै छ । गत बैशाख यतामात्र जिल्लामा एक सय ८० परिवारको अंशबण्डा भएको छ । भुकम्पको अनुदानका लागिमात्र उनिहरुको अंशबण्डा भएको सिग्देलले बताए ।
‘गत वर्षहरुमा किनवेच धेरै तर अंशबण्डा दैनिक रुपमा एकादुईमात्र हुने भएपनि अनुदान पाउने भुकम्प पिडतहरुको नाम सार्वजनीक भएपछि गत बैशाख यता अंशबण्डा गर्नेहरुको संख्यामा ह्वात्तै बढेको हो,’ उनले भने ।
गत बैशाख महिनामा ७७ जनालो अंशबण्डा गराएकोमा जेठ महिनामा त्यो संख्या बढेर एक सय तिन पुगेको उनको भनाई छ । यो अन्य महिनाको तथ्यांकको आधारमा धेरै हो । जिल्लामा भुकम्प लगत्तैको तथ्यांक अनुसार पूर्णरुपमा निजीघर क्षेतीहुनेहरुको संख्या २२ हजार रहेपनि हालै पुनर्निर्माण प्राधिकरणले सार्वजनीक गरेको लाभग्राहीको संख्या बढेर ३४ हजार सात सय पुगेको छ । यसले पनि जिल्लामा भुकम्प प्रभावित परिवारको संख्यासंगै अंशबण्डा गर्नेहरुको संख्यामा बृद्धी भएको पुष्टि गर्छ । यसलाई नै आधार मान्ने हो भने पनि जिल्लामा अझै साँढे १२ हजार अंशबण्डा हुने निश्चित छ । जिल्लामा अझै १५ हजारबढीको संख्यामा आफुहरु भुकम्प पिडित भएपनि लाभग्राहीको सूचिमा नपरेको भन्दै पिडितहरुले गुनासो दर्ता गराएका छन् । तर, ति गुनासो दर्ता गराउँन र लाभग्राहीको सुचिमा परेकाहरुले समेत अुनदान लिनका लागि गत २०७२ को बैशाख १२ अघिनै अंशबण्डा गरीसकेको हुनु पर्छ । 
जसका कारण नक्कली अंशबण्डा गर्नेदेखी सक्कली अंशबण्डा गर्नेहरुको संख्या समेत उत्तिकै हुने खतरा बढेको बताईन्छ । एकै परिवारका पाँच भाई छोरा समेत अनुदान पाउने भएपछि नक्कली अंशबण्डा समेत गराउन लागि परेको स्रोतको दावी छ । पछिल्लो सयम बास्तविक भुकम्प पिडित भन्दा गैर पिडितहरुको नाम लाभग्राहीको सूचिमा रहेको गुनासो आइरहेका बेला अनुदान पाउनकै लागि अंशबण्डा गर्नेहरुको संख्या बढ्नुले भुकम्प प्रभावित जिल्लाहरुमा सक्कली पिडित भन्दा गैर पिडितहरुको दवदवाह बढी हुने संकेत गर्छ । उता अंशबण्डा गर्नेहरुको संख्यामा बृद्धी भएसंगै जिल्लामा रजिष्टेशन पास बापतको राजस्वमा समेत वृद्धि भएको छ । 
मालपोत अधिकृत सिग्देलका अनुसार जिल्लामा चालु आवको १० महिनामा चार हजार ६ सय ३० वटा अंशबण्डा, परिवारभित्र वण्डा, बकस र अंश भरपाई भएका छन् । उक्त राजिष्टेशन पास गर्दामात्र तिन करोड ७२ लाख ५ हजार ८ सय ३६ रुपैयाँ राजस्व संकलन भएको छ । यो चालु आवको लक्ष्यभन्दा बढी हो । सिग्देलले भने, ‘कार्यालयले तिन करोड ४३ लाख रुपैयाँ लक्ष्य लिएकोमा १० महिनामै लक्ष्यभन्दा झण्डै चालीस लाख रुपैयाँबढी राजस्व संकलन गरीसकेको छ,’ यसले पनि जिल्लामा भुकम्प पछि जग्गाको अंशबण्डा गर्ने र किनबेच गरेर आफ्नो नाममा लालपुर्जा बनाउनेहरुको संख्यामा बृद्धी भएको पुष्टि हुन्छ ।’
कार्यालयले गत आवमा ६ हजार ८ सय ६ वटा राजिष्टेशन पास वापत तिन करोड २१ लाख ९३ हजार ९ सय ९० रुपैयाँ राजस्व संकलन गरेको थियो । 


,

0 comments

Write Down Your Responses