Powered by Blogger.
वर्षासंगै कमला नदीले खेतीयोग्य जमिन कटान थाल्यो

पिडितहरु भन्छन् ः लालपुर्जा छ, जग्गा छैन

कमलाखोंच (सिन्धुली) २५, असार । अबिरल बर्षाका कारण सिन्धुली जिल्लाको कमलाखोंज क्षेत्रमा कमला नदीले उर्बर जमिन कटान गर्न सुरु गरेपछि कृषकहरु चिन्तित बनेका छन् ।
बर्षादको मौसमसँगै कमला नदी, मरिणखोला, चँदाहा खोला लगायतका खोलामा आउने बाढीले गत वर्ष झै यस वर्ष पनि उर्बर जमिन कटान गर्न थालेपछि कृषकहरु चिन्तीत बनेका हुन् ।
लगातार परेको अविरल बर्षाका कारण कमला नदीमा आएको बाढीले आफ्नो सहित दर्जनभन्दा बढी कृषकको खेत कटान गरेको दुधौली गाविस–७ निवासी रामबहादुर स्याङ्तानले जानकारी दिए । ‘मेरो झण्डै तीन कठ्ठा जमिन एकै रातमा बगरमा परिणत भयो,’उनले भने, ‘म जस्ता नदी कटानबाट पीडित कृषक धेरै छन् । कमला नदीको कटानबाट दुधौली गाविसको नर्कटे र जीतपुरका गरी दुई सयभन्दा बढी कृषक असुरक्षित देखिएका छन् ।’
कमला नदीले बर्सेनि त्यस क्षेत्रमा कम्तिमा पनि सय बिघा भन्दा बढी उर्बर खेत कटान गर्दै आएको उनको भनाई छ । कमला नदीको कटानबाट बर्सेनि हत्पते, रानीबास, निपाने, हर्षाही, टाँडी, सिर्थौली गाविस र कमलामाई नगरपालिकाका १० देखी १८ वडाका कृषकहरु प्रभावित हुदै आएका छन् ।
उनीहरुका अनुसार कमला नदी कटानको समस्या बढ्दो रुपमा देखा परेको दुई दशकभन्दा बढी भई सकेको छ । तर, त्यसलाई नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन नसक्दा वर्षेनी हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएकोे स्याङ्तानले जनाए । नदीको कटानका कारण भूमिपति कृषकहरु सुकुम्बासीमा परिणत हुनेक्रम बढ्दै गएको छ ।
दुधौली गाविस– ४ जितपुर निवासी कृषक रामप्रसाद दनुवार आफ्नो भएको अढाई बिघा खेत सबै २०५० सालयता कमला नदीमा आएको बाढीले बगाएपछि अहिले १२ जनाको परिवार मजदुरी गरेर पालिदै आएको गुनासो गर्छन् ।
उनले भने, ‘लाल पुर्जा छ, जग्गा छैन । जीवन निर्वाहका लागि यतिखेर मजदुरी गर्नुको बिकल्प छैन । गरिबी निबारण कार्यक्रमबाट १४ हजार चार सय रुपैयाँ ऋण लिएर गोरु किनी टायर गाढा चलाउन थालेको छु । त्यसैको आम्दानीबाट परिवारको गुजरा चलेको छ ।’ कमला नदीले गाँउमा रहेका झण्डै दुई सय परिवारको चार सय बिघाजति खेत बगाएको र उनीहरुको अवस्था पनि आफ्नै जस्तै रहेको उनले बताए । 
एक सातादेखीको लगातारका वर्षाका कारण कमला नदिमा आएको बाढीले दुधौली गाविस–७ स्थित नर्कटे, जितपुर गाँउमा करिब चार बिघा खेत कटान गरेको बताइएको छ । नदीले वर्षेनी धार परिवर्तन गर्दै खेत कटान गर्ने गरेको पिडितहरुको भनाई छ । ‘गाउँमा अधिकांसको हातमा सयौं विगाह खेतीयोग्य जमिनको लालपुर्जा छ तर, जग्गा छैन् । वर्षेनी राजस्व तिरे पनि खेती गरेर खाने जग्गा जती कमला नदीले बगर बनाई दिएको छ,’ दनुवारले भने । 
नम्बरी खेतलाई बगर बनाएर वर्षौदेखी कमलानदी बग्दा कमलखौंच क्षेत्रका मात्र झण्डै एक हजारबढी भुमिपतिहरु अहिले सुकुम्बासीमा परिणत भइ सकेका छन् । ‘उनिहरुको नाममा सयौं विगाहा जमिन दर्ता छ । वर्षमा सयौं मुरी धान मकै भित्राउने जमिनदारहरु हिजो आजा जग्गा बगरमा परिणत हुँदा उनिहरु सुकुम्बासी सरह भएका छन्,’ उनले भने ।
रानीवास ४ का सम्भु परियारका अनुसार पनि कमला नदीले खेतीयोग्य जमिन कटान गर्दा पिडितहरु वर्षेनी सयौं रुपैयाँ राजस्व बुझाए पनि त्यसलाई कुनै उपभोग गर्न सकेका छैनन् । ‘न विक्री वितरण गर्न सकियो । न खेती पाति लगाएर खान पाइयो । नदीले वारपार ढाकेर बगर बनाएको छ । वर्षेनी सरकारसंग कमला नदी नयिन्त्रणका लागि अनुरोध गरेपनि कहिलै सुनुवाई भएन । अलिअहिले खेती गरेर खानेहरुको पनि वर्षेनी नदीको कटानले सकिँदै गएको छ । गाउँका एक पछि अर्को जोगी बन्दै गएका छन्,’ उनले भने । चुरे विनासका कारण आउने खहरेका कारण कमला नदीमा आउने बाढीले धेरैमात्रमा क्षेती पु¥याउने गरेको छ ।
धान र मकै उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिएको कमलाखोंचमा वर्षेनी धान तथा मकै उत्पादन हुने खेत कमला नदीको कटानका कारण उत्पादनमा समेत कमी आउँदा जिल्लामै खाद्यान्नको संकट पर्ने अवस्था आउँन थालेको बताइन्छ । कमलाका साथै मरिण, चदाहा लगायतका खोलाले समेत खेती योग्य जमिन कटान गर्दा बर्षेनी उत्पानमा ह्रास आउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनायो । 


, ,

0 comments

Write Down Your Responses