Powered by Blogger.
सिन्धुलीमा गरीबी निवारणका लागी ९० करोड लगानी


बुद्धकुमार आछामी 
सिन्धुलीमाढी, ३१ असार । सिन्धुलीमा विगत १० वर्ष देखी गरिब महिला, दलित, जनजाति तथा पिछडिएका समुदायहरुलाई उत्पादनमूलक स्वरोजगारिका लागि श्रोतसाधन माथि पहुँच पुरयाउने, आयआर्जनका कार्यक्रम सञ्चालन गरी लक्षित समुहको जिवनस्तरमा परिवर्तन गर्ने र सामुदायीक पुर्वाधार विकासका कार्यहरु गरिरहेको गरीबी निवारण कोषले दश वर्षमा कुल ९० करोड भन्दा बढी रकम लगानी गरेको छ । 
१३ सय बढी सामुदायीक संस्थाहरुलाई घुम्तीकोष अनुदान ५४ करोड, झण्डै तिन सय भौतिक पुर्वाधार विकासमा २५ करोड र कर्मचारी परीचालन खर्च १२ करोड सहित ९० करोड भन्दा बढी रकम लगानी गरेको हो । 
जिल्लामा दश ओटा सरकारी तथा गैर सरकारी संस्थाको अगुवाईमा सवै गाविस तथा नगरपालिकाहरुमा आय आर्जन, भौतिक पुर्वाधार, क्षमता विकास तथा सामाजिक परिचालनका विभिन्न क्रियाकलाप संचालन हुदै आईरहेको छ । अति विपन्न गरीब परिवारहरु पहिचान गरी २५ देखि ३० परिवारको एक समूह गठन गर्नु, परियोजना पहिल्याउनु, क्षमता विकासका लागि तालीम दिनु, परियोजना कार्यान्वयन गर्नु, नगद अनुदान रकम समूहको बैङ्क खातामा जम्मा गरिदिनु कोषको कार्यक्रमको विशेषता हो । 

जिल्ला भरी १३ सय सामुदायीक संस्था गठन

भद्रकाली गाविसमा गरीबी निवारण कोषद्धारा गठित सामुदायीक सस्थाको वैठक बस्दै । 
गरिबी निवारण कार्यक्रम अन्र्तगत जिल्लामा १० वर्षको अबधीमा १३ सय भन्दा बढी सामुदायीक संस्था गठन गरेको छ । गरीबीको रेखामुनी रहेका दलित, महिला, जनजाती, अल्पसंख्यक र विपन्न् नागरीकहरु सहभागी रहेको समुहमा जिल्लाका हजारौं घरधुरी आवद्ध रहेका छन । एउँटा गाविसमा घटिमा १० देखी ४० भन्दा बढी संख्यामा समुहहरु गठन गरिएको छ । ३० वटा भन्दा बढी समुह गठन भएका गाविसहरुमा त माशिक हुने वैठकमा कोषको सामाजिक परीचालन उपस्थित हुन सक्ने अवस्था समेत छैन । सामुदायीक समुहलाई सहजीकरण गर्न प्रति गाविस १ जना सामाजिक परीचालक क्रियाशिल रहेका छन त एउँटै गाविसमा ४१ वटा सम्म सामुदायीक समुह गठन गरिएको छ । 

अायअार्जनका लागी संस्थालाई ५४ करोड भन्दा बढी अनुदान

वुद्धकल्याण सा. सं. को सदस्य सार्किमान विश्वकर्मा मुढा वुन्दै दुम्जा–९
कोषले जिल्ला भरीका सामुदायीक संस्थाहरुलाई घुम्ती कोष अनुदानको रुपमा १० वर्षमा ५४ करोड ६६ लाख ७२ हजार ९३५ रुपैया प्रदान गरेको छ । कोषले प्रदान गरेको रकम प्रत्येक समुहमा ५ लाख देखी २५ लाख सम्म रहेको छ । कोषको प्रयोग गरी समुहका सदस्यहरुले भैसीपालन, बाख्रापालन, किराना पसल, गाई गोरु पालन तथा अन्य आयमुलक व्यवसायहरु सञ्चालन गर्ने गरेका छन । गरिबी निवारण कोष जिल्ला इकाई कार्यालयका अनुसार १० वर्ष सम्ममा उक्त घुम्ती कोषबाट ५२ हजार ५ सय ८७ ले लाभ लिएको बताइएको छ । 

दुई पटक भन्दा बढी ऋण लिनेको संख्या बढी 

समुहमा आवद्ध सदस्यहरुमा घुम्तीकोषबाट २ पटक भन्दा बढी ऋण लिने सदस्यहरुको संख्या सवैभन्दा बढी रहेको छ । कोषको १० वर्षे तथ्याङक अनुसार  ७६ प्रतिशतले एकपटक भन्दा बढी ऋण लिएका छन भने १४ प्रतिशतले मात्र एकपटक ऋण लिएका छन । तथ्याङले पटक पटक ऋण लिने सदस्यहरुको सख्या धेरै देखाउनु सकारात्मक विषय होइन । सदस्यहरुले आयआर्जन गरेर ऋण चुक्ता गर्नु भन्दा पनि ऋणलाई भाखा नाघेपछि अनुमोदन मात्र गर्न रकम देखाउने गरेका छन । यस्ले कोषको लक्ष्य र उदेश्यलाई प्रभावकारी बनाउन सकेको छैन । 

पुर्वाधार विकासमा २५ करोड बढी खर्च 

घट्टेखोला सिंचाई कूलो निर्माण परियोजना,रतनचुरा—–७
गरिबी निवारण कोषले १० वर्षको अवधीमा जिल्लामा पुर्वाधार विकासको क्षेत्रमा २५ करोड भन्दा बढी रकम खर्च गरेको छ । कोषले समुहका सदस्यहरुको आयआर्जनमा सहयोग पुग्ने खालका पुर्वाधार परीयोजना सामुदायीक संस्थाको माग अनुसार कार्यान्वयन गर्ने गरेको छ । 
कोषले दश वर्षको अबधीमा १५४ वटा खानेपानी आयोजना, ५२ वटा सिचाई आयोजना, ३० वटा विद्यालय भवन, १५ वटा सडक आयोजना, १५ वटा कल्भर्ट, ६ वटा पुल, ३ वटा सिचाई मर्मत र १ वटा घट्ट निर्माण सहित कुल २८६ वटा भौतिक पुर्वाधार विकासका आयोजनामा लगानी गरेको छ । 

चालु खर्च १२ करोड भन्दा बढी 

कोषले दश वर्षे अवधीमा साझेदार सरकारी तथा गैर सरकारी संस्थाहरुको प्रशासनीक तथा कर्मचारी व्यवस्थापनको लागी १२ करोड भन्दा बढी खर्च गरेको छ । जिल्लाका १० वटा संस्थाका कार्यक्रम संयोजक, लेखापाल, सामाजिक परीचालक र प्रशासनीक खर्चमा उक्त रकम खर्च गरिएको हो । जिल्लामा गरिबी निवारणको कार्यक्रम स्थानीय विकास कोष, ग्रामीण विकास तथा महिला जन जागरण केन्द्र, दियालो परिवार, दलित सेवा संघ, ग्रामीण विकास सेवा, सामुदायिक विकास कार्यक्रम, सिन्धुलीगढी सेवा प्रतिष्ठान, ग्रामीण महिला चेतना केन्द्र, सिन्धुली एकिकृत विकास सेवा,ग्रामीण विकास समाजले सञ्चालन गर्दै आइरहेका छन । 
समाजमा ब्याप्त गरिबी उन्मुलनका लागी आयआर्जन, पुर्वाधार विकास र क्षमता विकासका गतिविधीहरु सञ्चालन गर्नु सकारात्मक पक्ष हो । तर बारम्बार कोषको कार्यक्रम प्रभावकारी हुन नसकेको आलोचना भईरहेको अवस्थामा प्रभावकारी परीणाम निकाल्न जरुरी छ । गरीबी निवारणका के–के अङ्गहरु पुगेपछि विपन्नहरु सक्षम भए भन्ने र आत्मनिर्भर मान्ने कुरा छैन । गरीबी निवारणमा संलग्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सेवा पुगेको सख्या मात्रमा सन्तोष नलिई कार्यक्रम मार्फत गरिबी उन्मुलनमा पुगेको भुमीका खोजी अझ प्रभावकारी बनाउन तर्फ लाग्नु पर्ने छ । 
१० वर्षमा कोषले गरीबी निवारणको लागी जिल्लामा खर्च गरेको रकम मध्ये झण्डै आधा रकम समुदायसँगै हुनु, झण्डै ३ सय भौतिक पुर्वाधार विकास आयोजनाको काम हुनु सकारात्मक पक्ष रहेको भएपनि समुदायसँग भएको करोडौं अनुदानको घुम्ती कोषलाई सहि सदुपयोग गर्न प्रेरित गर्दै उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउन प्रभावकारी भुमीका नहुँदा कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन । त्यसैले आउँदा दिनमा समुहका सदस्यहरुले लगेको ऋण साच्चै आयआर्जनमा प्रयोग गराउन र उनीहरुलाई व्यवसायीक बनाउन सकेमा कार्यक्रम अझ प्रभाबकारी बन्न सक्ने देखिन्छ । 



, ,

0 comments

Write Down Your Responses