Powered by Blogger.
सिन्धुलीमा प्रदेश स्तरिय कृषि क्याम्पस स्थापनाको तयारी



बुद्धकुमार आछामी 
सिन्धुली, २० श्रावण । सिन्धुलीको सदरमुकाम माढीबजारबाट झण्डै २६ किलोमिटर पश्चिम पर्ने मरिण क्षेत्रको कपिलाकोट गाविसमा ३ नं.प्रदेश स्तरीय कृषि क्याम्पस स्थापना गर्ने तयारी सुरु गरिएको छ । 
राज्य पुर्नसंरचना सँगै सवै प्रदेशहरुमा एक÷एक ओटा आंगिक कृषि क्याम्पस सञ्चालन गर्ने नेपाल सरकारको निती अनुसार विभिन्न् प्रदेशका संभाव्य जिल्ला र स्थानहरु छनौट गरी शिक्षा मन्त्रालयले  उच्च तथा प्राविधिक शिक्षा महाशाखाका उपसचिबको संयोजकत्वमा ९ सदस्यीय समिति निर्माण गरी कृषि क्याम्पस स्थापनाको लागी संभाव्यता तथा पुर्वाधार अध्यन सुरु गरीसकेको छ । 
संभाव्यता अध्यनकै क्रममा ३ नं. प्रदेश अन्र्तगत सिन्धुलीको कपिलाकोट र धार्दिङ्गमा प्रदेश स्तरिय कृषि क्याम्पस स्थापनाका लागी संभाव्यता अध्यन सुरु गरिएको जनाइएको छ । 
सरकारको संभाव्य स्थानको रुपमा छनौट भएको कपिलाकोटका स्थानीय तथा केहि वर्ष देखी कृषि क्याम्पस स्थापना गर्ने उदेश्य लिएर स्वपहलमा कृषि क्याम्पस स्थापनाको लागी क्रियाशिल रहेको मरिण कृषि क्याम्पस स्थापना कार्यदलले बिहिबार सिन्धुलीमाढीमा क्याम्पस स्थापनाको तयारीका लागी सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । 
शिक्षा मन्त्रालयको संभाव्यता तथा पुर्वाधार अध्यन समितिका सदस्य समेत रहेका रामकुमार पौडेलको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरुले मरिण कपिलाकोटमा प्रदेश स्तरिय कृषि क्याम्पस स्थापना गर्न एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन । 
अन्तरक्रिया कार्यक्रम मार्फत क्याम्पस स्थापनाको आवश्यक तयारीका कार्यहरु अगाडि बढाउनका लागी रामकुमार पौडेलको अध्यक्षतामा राजनैतिक पार्टीका जिल्ला स्तरिय नेता सम्मीलित ११ सदस्यीय कार्यदल समेत निर्माण गरिएको छ । कार्यदलमा नेपाली काग्रेसका जिल्ला सभापति उज्जवल प्रसाद बराल, नेता माणिक ढकाल, नेकपा(एमाले)का अध्यक्ष प्रदिप कट्वाल, नेता कमलजंग राई, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष राजन दाहाल रहेको जनाइएको छ । 
कार्यदलले सिन्धुलीको कपिलाकोटमै प्रदेश स्तरिय कृषि क्याम्पस स्थापना गर्न सरकारसँग पहल गर्नुका साथै स्थानीय तहमा आवश्यक पुर्वाधार तयारीको काम सुरु गर्ने जनाइएको छ । 
नेपाल कृषि प्रधान देश भएर पनि सरकारले कृषि शिक्षा र कृषि जनशक्ति उत्पादनमा लगानी नगरिरहेको अवस्थामा प्रदेश स्तरमा स्थापना गर्न लागिएको कृषि क्याम्पसहरुले कृषिक्षेत्रलाई बिकास गर्न टेवा पु¥याउँदै थप जनशक्ति उत्पादन गर्ने निश्चित छ । तर पछिल्लो समय कृषि पेशा र त्यस क्षेत्रमा क्रियाशिल कृषकहरुमा बढ्दै गएको निराशा र घट्दै गएको युवाहरुको आकर्षणलाई बढाउँदै लैजान जरुरी देखिन्छ । 
राज्यले शिक्षा क्षेत्रमा अर्वौको लगानी गरिरहेको भएपनि प्राविधिक शिक्षामा लगानी र प्राविधिक जनशक्ति उत्पादनमा ध्यान नदिदा बर्षेनी लाखौं शिक्षित बेरोजगार जनशक्ति उत्पादन भईरहेका छन । ति शिक्षित वेरोजगारहरु नेपालमा रोजगारी नपाउँदा बर्षेनी लाखौंको संख्यमा विदेशीन बाध्य छन । 
सरकारकै तथ्याकं अनुसार देशभर प्राविधिक शिक्षासँग सम्बन्धीत बन विज्ञान ७८, जिव विज्ञान २७, सिभिल इन्जीनियर ६४, इलेक्ट्रीकल इनजीनियर १३, कम्प्यूटर इन्जीनियर ५२ सहित २ सय ४० मात्र शिक्षण संस्थाहरु छन । सञ्चालनमा रहेका प्राविधिक शिक्षण संस्थाहरु पनि निजी क्षेत्रको लगानीमा रहेका छन । सरकारी लगानीमा सञ्चालित प्राविधिक शिक्षण संस्थाहरु न्यून मात्रामा रहेका छन । 


, ,

0 comments

Write Down Your Responses