Powered by Blogger.
प्रविधिको विकाससँगै फेरिन सकेन हुलाक सेवा

बुद्धकुमार आछामी 
सिन्धुली, २३ श्रावण । कुनै जमाना थियो, हुलाकी देख्नासाथ गाउँमा उत्साह र खुसीको रंग पोतिन्थ्यो । हुलाकीको झोलामा पत्र र ती पत्रमा परदेश पुगेका आफन्तको हालचालको खबर हुन्थ्यो । पहिलो जस्तो चिठ्ठीपत्र र पुलिन्दा घर घरमा पुयाउन भ्याई नभ्याई हुलाकीहरु अहिले फुर्सदिला भएका छन । 
पछिल्लो समय सञ्चारको सार मात्र होइन, स्वरुप नै फेरिएको छ । पहिले पत्रबाट मित्रता गाँसिन्थ्यो, अहिले फेसबुकबाट । पहिले विदेशमा पैसा पठाउन र पाउन धनादेशको विकल्प थिएन, अहिले टोलैपिच्छे मनि ट्रान्सफर कम्पनी खुलेका छन । महत्वपूर्ण कागजपत्र हुलाकबाटै पठाउनु पथ्यो, अहिले कुरियर कम्पनी हाजिर छन । परदेश गएका आफन्तको सन्चो–बिसन्चो थाहा पाउन पत्र कुर्नुपथ्यो, अहिले हातहातमा मोवाइल र इन्टरनेट छ । 
अहिले हुलाकमा व्यक्तिगत पत्र त करिब लोप भइसकेको छ । जिल्ला हुलाका कार्यालयको गेटैमा रहेको पत्र–मञ्जुषा बक्समा पत्र नखसेको त वर्षौ बितिसक्यो । एक समय सञ्चारको एउटै मात्र माध्यम हुलाक साँच्चै मणि हराएको नागजस्तै भएको छ । कुनै बेला हुलाक दैनिक जनजीवनको अभिन्न अंग थियो । तर अहिले यस्को हालत देखेर सेवाग्राही र सरकार मात्र होइनन, स्वयं कर्मचारी पनि उदास छन ।
लाग्छ, समय पनि हुलाकको विपक्षमा छ । हुलाक रोज्नु र खोज्नुपर्ने खास कारण छैन । हामीकहाँ हुलाकको व्यापकता र समयानुकूल प्रभावकारिता पहिचान र व्यावहारिक कार्यान्वयन गर्न नसक्दा हुलाक अस्तित्व जोगाउनकै लागि संघर्ष गरिरहेको छ ।
इन्टरनेट र मोबाइल सेवाको विस्तारले हुलाक सेवालाई ध्वस्तै बनाइदियो । कारण, मोवाइल फोन, इमेल–इन्टरनेट अनि फेसबुक, भाइबर, स्काइप, जस्ता सम्पर्क सञ्जालसँग सञ्चारको परम्परागत माध्यम हुलाकले प्रतिस्पर्धा गर्नसक्ने कुरै भएन । प्रविधिले समाजका अन्य निकाय र जीवनशैली सुगम बनायो तर हुलाकको अस्तित्वमै प्रश्न चिह्न लाग्यो । कारण प्रस्ट छ, प्रविधि अनुरुप हुलाकको संस्थागत रुपान्तरण हुन सकेन ।
देशपरदेशका चिठ्ठीपत्र आदानप्रदान गर्नाका लागि लोकप्रिय हुलाक अहिले भने सरकारी कामकाजमा मात्र सीमित हुन थालेको छ । 
हुलाक कर्मचारीले चिठ्ठीपत्र बोकेर घर घरमा पुग्नुपर्ने बाध्यता अहिले हटिसकेको जिल्ला हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख प्रभुराम सुनुवार बताउछन । 
सुचना प्रविधिका क्षेत्रमा भएको परिवर्तनसँगै हुलाकलाई परिवर्तन गर्न नसक्दा कर्मचारीको काम समेत हुन छाडेको छ । हुलाक मार्फत चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि कर्मचारीलाई लोकसेवा आयोगले लिने अधिकृत नासु र  खरिदारको परीक्षा दस्तुर र टिकट बिक्री, हुलाक बचत वैकंको काम बाहेक अरु काम छैन । 
सरकारी क्षेत्रको एक मात्र सूचना आदानप्रदान गर्ने माध्यमलाई सरकारले आधुनिकीकरण गर्न खोजेको भए पनि जिल्लामा सफल हुन सकेको देखिदैन । जिल्लाका तिन स्थानमा टेलिसेन्टरको स्थापना गरिएको भए प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । 
जिल्लामा एउटा जिल्ला हुलाक, ४२ अतिरिक्त हुलाक र १२ इलाका हुलाक कार्यालय रहे पनि कर्मचारीको काम कार्यालय खोल्ने र बस्नेभन्दा बढी देखिँदैन । जिल्ला भरी कुल १ सय २१ दरबन्दी रहेको हुलाक सेवामा अहिले ५४ जना कार्यरत रहेको कार्यालयले जनाएको छ । 


, ,

0 comments

Write Down Your Responses