Powered by Blogger.
सिन्धुलीको कमलाखोंच क्षेत्रमा विषाक्त सर्पको विगविगी

सिन्धुली ९, कात्तिक । जिल्लाको भित्री मधेशका रुपमा चिनीने कमलाखोंच क्षेत्रमा विषाक्त सर्पको त्रास बढेको छ ।
त्यस क्षेत्रमा सामान्यदेखि विश्वमा दुर्लभ बल्याक कोभ्रा सम्मको अनौठा जातका सर्प अत्याधिक भेटिन थालेपछि स्थानीयमा त्रास बढेको हो ।
वर्षेनी सर्पको ढसाईबाट आक्रान्त कमलाखों बासी नयाँ जातीका सर्प देखिन थालेपछि थप त्रसित भएका हुन् । यस अघि कहिलै देखा नपरेको अनौठो जातको सर्प देखिन थालेको र शनिवारमात्र त्यस्ता सर्पले स्थानीय दुई जनालाई डसेको सर्पदंश उपचार केन्द्र दुधौलीले जनाएको छ ।
गत एक महिनामा मात्र ९ जनालाई अनौठो तर, विषाक्त प्रकारको कोभ्राले डसेको स्थानीयले जनाए । कमलाखोंच क्षेत्रमा यसअघि सामान्य सर्पका साथै करेत, हरेऊ र गौमन सर्पमात्र देखिने गरेकोमा हिजोआज कोरल, मुर्गा, पानीराज, कोभ्रा र बल्याक कोभ्रा जातका अनौठा सर्प देखिन थालेको बताइएको छ
यस क्षेत्रमा सर्पले गत छ महिनाको विचमा मात्र ३ वटा गाविसको गरी २७ जनालाई विषाक्त सर्पले डशेको सिर्थौली १ डकाहाका रमेश घिमिरेले बताए ।
‘अनौठा र विषाक्त सर्पको विगविगी बढेपछि स्थानीय त्रसीत भएका छन् । कमलाखोंच क्षेत्रका रानीवास, निपाने, हर्षाही, सिर्थौली, लदाभिर, टाँडी, दुधौलीलगायतका एक दर्जन गाविसमा यस्तो जातको सर्प देखिन थालेको हो,’ उनले भने ।
करीब आठ वर्षअघि देखि त्यस क्षेत्रमा सर्पदंशको उपचार गर्दै आएका  सर्पदशं उपचार केन्द्रका अन्तराष्ट्रिय सर्पदंश विद विष्णुबहादुर भेटवालले यस अघि कहिलै पनि त्यस्तो सर्प नदेखिएको बताउँदै पछिल्लो वर्षहरुमा, विश्वमा पाईने दश प्रकारका कोभ्रा भन्दापनी धेरै फरक प्रकृतिको ‘भि’, ‘त्रिशुल’ छापको बल्याक कोभ्राहरु पाइएको बताए । यस्तो सर्पले डशेमा (विषाक्रान्त भएमा) तत्कालै उपचार नपाए घाइते बाँच्ने सम्भावना दुई प्रतिशतमात्र हुने पनि उनि बताउँछन् ।
कमलाखोचका साथै जिनाखु, लाम्पानटार, जरायोटारलगायतका गाविसमा सेतो ओठ र रातो पुच्छर भएको हरेउको विगविगी भएको छ । यस्ता क्षेत्रमा विभिन्न प्रकारका ६ जातीका सर्पहरु देखा परेको स्थानीयले थपे ।
अहिले घर, करेसा, खेत बारी जहीँ तहीँ यस्ता सर्पको विगविगी हुँदा प्राय बालबालिका र वृद्ध त्रसीत भएको स्थानीय शिक्षक बाँसु कोईराला बताउँछन् । कमलाखोंच क्षेत्रमा विषाक्त सर्पको डशाईबाट वर्षेनी आधादर्जनबढीले ज्यान गुमाउँने गरेका छन् ।
गत वर्षमात्र चारजनाले ज्यान गुमाउँनु परेको स्मरण गर्दै शिक्षक कोइरालाले भने, ‘यस वर्षबाट नयाँ प्रजातीका सर्पहरु देखिन थालेपछि दिउँसो खेतबारीमा काम गर्न र राति सुत्न समेत स्थानीयमा त्रहाई भएको छ ।’
घरलौरी रकम संकलनगरेर सर्पदंश उपचार
स्थानीय स्तरमा विषाक्त सर्पको विग विगी हुन थालेपछि स्थानीयले चन्दा उठाएर सर्पदंशको उपचार व्यवस्था मिलाउँने गरेका छन् । सडक र कमला नदीमा पुलको अभाव हुँदा तत्कालै उपचारका लागि अन्यत्र लैजान समस्या हुने भएपछि स्थानीयले घरलौरी रकम संकलन गर्नुका साथै विभिन्न निकायसंग रकम संकलन गरी स्थानीय निकायमानै सर्पदंशको उपचार थालेका हुन् ।
वर्षेनी सर्पको टोकाईबाट मानिसहरु मर्ने समस्या भएका कारण दुधौली, टाँडी र लदाभीर गाविसले सयुक्त रुपमा सर्पदंश उपचार व्यवस्थापन समिति गठन गरी सो समिति मार्फत उपचारको व्यवस्था मिलाउने गरेका हुन् ।
उनिहरुले मासिक ६५ हजार तलव सुवाएर सर्पदंश विदलाई दुधौली स्वास्थ्य केन्द्रमा राखेका छन् । तिनओटै गाविसबाट प्रत्येक घरधुरी बराबर १ सय ५० रुपैयाँका दरले रकम संकलन गरीएको र जिल्ला विकास समितिबाट २ लाख, दुधौली गाविसबाट ५० हजार, टाडी र लदाभीर गाविसबाट २०÷२० हजार रुपैयाँ सहयोग लिएको सर्पदंश उपचार व्यवस्थापन समितिका लाल बहादुर थापाले जानाए ।
यस क्षेत्रमा विक्षीको पनि आतंक उतिकै भएको बताइएको छ । कमलाखोंच क्षेत्रमा सर्प र विक्षीको विगविगी भएपछि उपचार केन्द्रको स्थापना गरिएको भएपनि सर्पले डसेपछि प्रयोग गरिने औषधी स्नेक भेनमको अभाव भएको समितिले गुनासो गरेको छ ।


, ,

0 comments

Write Down Your Responses