Powered by Blogger.
मेलमिलाप केन्द्रका कारण पैसा र समयको बचत


बुद्धकुमार आछामी  
सिन्धुली, २० मंसीर । भुबनेश्वरी गाविस वडा नं.३ का डिल बहादुर कार्की आफ्नो पसलको सामान विक्री गरेको ऋण उठाउन नसकेर केहि बर्ष देखि निक्कै तनाबमा थिए । आफ्नो पसलको सामान बिक्रि गरेको पैसा असुल्न जिल्लामा आएर मुद्धा लड्न उनीसँग पैसा र पहुँच दुवै थिएन । 
जब २०७२ मा भुवनेश्वरी गाविसमा युएसएडको सहयोग र माण्डवी रौतहटको अगुवाईमा सञ्चालित मेलमिलाप परीयोजना अन्र्तगत सामुदायीक मेलमिलाप केन्द्र स्थापना भयो तब कार्कीको समस्या सजिलै समाधान भयो । 
उनले मेलमिलाप केन्द्रमा लेनदेन सम्बन्धी उजुरी दर्ता गराए र मेलमिलापकर्ताको सहयोगमा दुवै पक्षबीच छलफल पछि आफुले पाउनुपर्ने जति रकम पाए । यो प्रक्रिया प्रति दुबै पक्ष निक्कै खुसी पनि छन । कार्की जस्तै जिल्लाका थुप्रै गाविस तथा नगरपालिकाका स्थानीयहरु आफ्नो बिवाद समाधानका लागी मेलमिलाप केन्द्रमा पुग्ने गरेका छन । 
मेलमिलापसम्बन्धी ऐन २०६८ र मेलमिलाप सम्बन्धी नियमावली २०७० लागु भएपछि केन्द्रबाट जग्गा विवाद, कुटपिट, लेनदेन, घरेलु हिसा, धार्मिक तथा सांस्कृतिक विवाद, गाली गलौज, साँध सीमाना, कुलोकुलेसा, माना लेनदेनका विवाद मिलाउन शुरु गरिएको छ । दुबै पक्षसँग छलफल गरी तत्कालै विवाद तथा मुद्दालाई दुबै पक्षको सहमतिमा टुंगो लगाइने गरेका कारण मेलमिलाप केन्द्रमा विवादित पक्षहरु आउन थालेका हुन् । 

मेलमिलाप केन्द्रको विशेषता 
१.समय र पैसाको बचत
२.दुवै पक्षको जित
३.अड्डा अदालत धाउनु नपर्ने
४.मिलापत्र अदालति निर्णय सरह नै हुने 


मेलमिलाप केन्द्रले सामान्य प्रकृतिका १४ प्रकारका देवानी मुद्दा मिलाउने र फौजदारी मुद्दाहरु भने प्रहरी र अदालतमा पठाउने गरेका छन । 
सामुदायिक मेलमिलाप केन्द्रले स्थानीयमा शान्ति, सुव्यवस्था र विकासमा सरकारी निकायसंग साझेदारीको काम गर्दै आएको छ । गाउँघरका विवाद तथा मुद्दाहरु गाविस तहमा रहेका मेल मिलाप केन्द्रबाटै टुंगिदा महिला, दलित, जनजाती, मधेशी, मुस्लिम र न्यून आर्थिक स्तरका समुदाय प्रत्यक्ष रुपमा लाभान्वित भएको कार्यक्रम सञ्चालक संस्था माण्डवी रौतहटका जिल्ला कार्यक्रम संयोजक विराज सापकोटाले जानकारी दिए । 
केन्द्रबाट विवाद मिलाइदा एउटा पक्षको जीत भन्दा दुवैको जीतको अवस्था सृर्जना हुने भएकाले केन्द्र प्रतिको आकर्षण पनि बढ्दै गएको छ । केन्द्रमा आउने विवादमध्ये ८० प्रतिशत सफल हुन्छन् । स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ ले गाविस र नगरपालिका जस्ता स्थानीय निकायलाई स–साना विवाद समाधान मेलमिलापबाट गर्न व्यवस्था गरे वमोजिम मेलमिलाप केन्द्रमा विवाद समाधान गरिन्छ । स–साना विवाद लिएर अदालत जान नपरोस् भनेर त्यस्ता विवादहरु सम्बन्धित गाउ वा नगरपालिकामा नै मिलाउन सकिने ब्यवस्था गरिएको हो ।

स्थानीय स्तरका विवाद स्थानीय स्तरमै समाधान गरौं भन्ने मुल उदेश्यका साथ सञ्चालित परीयोजना अन्र्तगत ३९ गाविस र २ नगरपालिकामा सामुदायीक मेलमिलाप केन्द्र स्थापना गरिएको र जिल्ला भरि २ सय ६३ जना सामुदायीक मेलमिलापकर्ताहरु क्रियाशिल रहेका छन । जिल्ला भरिका सामुदायीक मेलमिलाप केन्द्र मार्फत व्यक्तिगत र बहुसरोकारवाला सहित २ सय ५० भन्दा बढी विवादहरु समाधान भइसकेको संयोजक सापकोटाले जानकारी दिए । 


, , ,

0 comments

Write Down Your Responses