Powered by Blogger.
पत्रकारिता क्षेत्र बदनामका यी हुन् कारण



वैकुण्ठ भण्डारी
आगामी वैशाख २१ र २२ गते नेपाल पत्रकार महासङ्घको महाधिवेशन हुँदैछ । महासङ्घको केन्द्रीय महाधिवेशन हुनुपूर्व देशभरमा रहेको विभिन्न शाखा, प्रतिष्ठान र एसोसिएट्सको समेत निर्वाचन गरिसक्नुपर्ने महासङ्घको संशोधित विधान २०७३ मा उल्लेख पनि गरिएको छ । जुन विगतकै परम्परा हो ।

नेपाल पत्रकार महासङ्घको निर्वाचनको पूर्वसन्ध्यामा वितरण गरिने नयाँ सदस्यताका कारण प्रत्येक महाधिवेशनका समयमा देशका विभिन्न जिल्लामा पत्रकार महासङ्घमा तालाबन्दी हुने वा जिल्लाका अधिवेशनहरु नै तलमाथि हुने गरेका पनि छन् । यसको प्रमुख कारण भनेको नेपाल पत्रकार महासङ्घमा निर्वाचन प्रयोजनका लागि जिल्ला जिल्लाबाट गैरपत्रकारलाई पत्रकार महासङ्घको सदस्यता उपलब्ध गराउने खेल नै हो । 
पत्रकार महासङ्घको सदस्यता क्रियाशील पत्रकारहरुले पाउनुपर्ने हो तर पछिल्ला वर्षहरुमा क्रियाशील पत्रकारहरुभन्दा पनि गैरपत्रकारहरुले पत्रकार महासङ्घको सदस्यता पाइरहेका छन् । गैरपत्रकारहरुलाई सदस्यता दिने होडबाजी राजनीतिक दल निकट पत्रकारका सङ्घसंस्थाहरुभित्रै बढी देखिन्छ ।

नेपाल पत्रकार महासङ्घको सदस्यता सङ्ख्या हेर्ने हो भने करिब १२ हजार पत्रकारहरु सदस्य रहेको पाइन्छ भने आफूलाई पत्रकार बनाउनका लागि विभिन्न पेसा र व्यवसाय गरिरहेकाहरुले समेत सूचना विभागबाट समेत पे्रस पास लिएको देखिन्छ । सूचना विभागको तथ्याङ्कमा मात्र पनि प्रेस पास लिने पत्रकारको सङ्ख्या २५ हजार नाघिसकेको छ । यसभित्र श्रमजीवी पत्रकारदेखि स्कुल सञ्चालक, म्यानपावर सञ्चालकदेखि जग्गाको कारोबार गर्ने, ठूला व्यापारीदेखि केही सांसदहरु पनि देखिन्छन् । यस तथ्याङ्कलाई हेर्दा नेपालमा क्रियाशील पत्रकारहरु सूचना विभागको पास अनुरुप २५ हजार छन् कि नेपाल पत्रकार महासङ्घको सदस्यता अनुरुपम १२ हजार पत्रकार छन् भन्नेमा विवाद देखिन्छ ।

पत्रकारहरुलाई यतिखेर निर्वाचनको चटारो छ । को, कुन प्यालनबाट उठ्ने र जित्ने भन्नेमा छन् । अनि कतिपय जिल्ला समितिका लागि पनि नेताज्यूहरुका धाइरहेका छन् । यसले हामी कस्तो पत्रकारिता गरिरहेका छौँ अथवा हामीले कस्ता नेता छान्ने छौं भन्ने कुरालाई छर्लङ्ग पार्ने छ । यतिखेर प्रतिष्ठान एवं जिल्ला शाखाहरुमा निर्वाचनको लहर चलेको छ । नतिजा आउने क्रम पनि छ । यद्यपि हामी कतै चुकिरहेका त छैनौँ भन्ने कुरालाई पनि नकार्न सकिँदैन । पछिल्लो समयमा नेपाली पत्रकारिता क्षेत्रलाई बदनाम गराउनेहरु सक्रिय रहेका छन् । पत्रकारिताका नाममा विभिन्न खाले धन्दा सञ्चालन गर्नेदेखि नेपाली पत्रकारितालाई गलत ढङ्गले परिभाषित गर्नेहरुसँग पत्रकारहरु सजग हुनुपर्ने बेला आएको छ ।

पत्रकारहरुको पेसागत संस्था नेपाल पत्रकार महासङ्घ अन्य पेसागत महासङ्घ जस्तै पारदर्शिता र स्पष्ट रुपमा अगाडि बढ्न नसकेका कारण नै आज सिङ्गो पत्रकारिता क्षेत्र बदनाम हुँदै गईरहेको देखिन्छ । नेपाल बार एसोसिएन, चिकित्सक सङ्घ, लेखापरीक्षक सङ्घजस्तै नेपाल पत्रकार महासङ्घ सबैभन्दा सशक्त पेसागत संस्थाका रुपमा आफूलाई प्रस्तुत गरिरहेको कुरा कहीँ र कतै पनि दुई मत छैन र हुँदैन पनि । तर पछिल्लो समयमा पत्रकार महासङ्घभित्र देखिएको राजनीतिक विभाजन, राजनीतिक आस्थाका भरमा गरिने विभेद र पत्रकार महासङ्घको विधान विपरीत प्रदान गरिने सदस्यताका कारण पत्रकार महासङ्घप्रति औँला ठड्याउनेहरु देखिन थालेका छन् ।

अन्य सङ्घसस्थाभित्रका साना मसिना कुरा देख्ने हामी पत्रकारहरुले आफ्नो संस्थाभित्रका ठूलाठूला कुराहरु पनि किन औँल्याउन सकिरहेका छैनौँ । के नेपाल पत्रकार महासङ्घको सदस्यता पत्रकारले पाउनुबाट वञ्चित हुन पर्दछ ? के पत्रकार महासङ्घमा गैरपत्रकारको हावी हुनुपर्दछ ? यदि त्यसो होइन भने पत्रकार महासङ्घको परिचयपत्र बोकेर अन्य धन्दा चलाउने र नेपाली पत्रकारिताको बदनाम गराउनेहरुलाई हामीले किन पाखा लगाउन सकिरहेका छैनौँ । अन्य पेसागत संस्था जस्तै हामीले पत्रकार महासङ्घभित्र सदस्यता शुद्धीकरणमा किन जोड दिन सकिरहेका छैनौँ ? गैर पत्रकारहरुलाई पत्रकार महासङ्घको सदस्यता दिलाउन नपाएको झोँकमा जिल्ला शाखाहरुमा तालाबन्दी गरेर हामीले कसलाई देखाइरहेका छौँ ? हामी यहीँ चुकेका छौँ ।

हामीले हाम्रो पेसागत संस्था पत्रकार महासङ्घको विधानलाई बेवास्ता गरिरहेका छौँ । हरेक वर्ष सदस्यता उपलब्ध गराउन चाहन्नौँ र नवीकरण पनि गरिहेका छैनौँ । महासङ्घको विधान अनुरुप २ वर्षसम्म नियमित रुपमा नवीकरण नगर्ने सदस्यहरुको सदस्यता खारेज गर्ने नियमलाई घोती लगाइदिएका छौँ । अनि जब निर्वाचनको सँघारमा आइपुग्छौँ र गैरपत्रकारहरुलाई रातारात पत्रकार महासङ्घको सदस्यता उपलब्ध गराउँछौँ । त्यही निहुँमा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका नाममा भागबण्डा गर्दैै आइरहेको छौँ, यो सत्य हो । जसमा हामीले गैरपत्रकारहरुलाई प्राथमिकता दिएका छौँ । यसले वर्तमान अवस्थामा निर्वाचन प्रयोजनका लागि कोही कसैलाई व्यक्तिगत फाइदा भए पनि यसले भावी दिनमा नेपाली पत्रकारिता क्षेत्र दुर्गन्धित तुल्याउने छ भन्नेमा दुईमत नहोला ।

पत्रकार महासङ्घलाई राजनीतिक अखडाबाट मुक्त गर्नुपर्दछ भनेर भाषण छाँट्दै स्वतन्त्र पत्रकारिता हुनुपर्दछ भन्नेहरु नै चुनावी माहोल सिर्जना भएपछि मात्र दलकै लबिङ्गमा कसैले निगाहा गरिदियो भने आफ्नो सदस्यता नवीकरण गर्ने र महासङ्घको उम्मेदवार हुने परिपाटी कहिलेसम्म बसाल्ने ? अनि त्यही महासङ्घको सदस्यता भिरेर महासङ्घलाई एनजीओ भयो भनेर आरोप लगाइरहेका छौँ । आफ्नो धरातल बिर्सेर मूल घरलाई नै आगो लगाउने काम किन गरिरहेका छौँ त ? पछिल्लो समयमा वास्तविक पत्रकारहरु जो श्रमप्रति बफादार छन् र पत्रकारिता गरिरहेका छन् उनीहरु आफूलाई पत्रकार भन्न रुचाइरहेका छैनन् । केही वर्ष अगाडिसम्म म पत्रकार हुँ भनेर गर्व गर्ने दिन अब रहेन । पत्रकारितालाई मर्यादित र पारदर्शी बनाउन पत्रकार महासङ्घले जुन भूमिका खेल्नुपर्दथ्यो त्यो खेल्न नसकेको हो कि भन्ने आशङ्का गर्न थालिएको छ ।

अरुलाई चोर दोष लगाउनुभन्दा अगाडि कतै आफै पो चोरीको भागिदार बनेका त छैनौँ भन्ने कुरा एकपटक सोच्ने हो कि । नेपाली पत्रकारिता जगत्मा आर्थिक कुराले धेरै स्थान पाउने गर्दछन् । अनि पत्रकार महासङ्घका नाममा हुने गरेको विभिन्न खाले अनैतिक काम रोक्नका लागि पनि आम सदस्यहरु चनाखो हुन सकेनौँ भने हामीले हाम्रो पेसागत संस्थालाई बलियो बनाउने सपना नदेखे हुने हुन्छ । हजुर र तपाईंकै पछाडि हामी दङ्ग पर्दै सधैँ अरुको मुख ताक्ने बानी हाम्रो बनिसकेको छ । अनि आफैबाट आफै ठगिएको पत्तै पाएका छैनौँ हामीले । त्यसैले आफ्नो पेसा र कर्तव्यबाट विमुख भएर अन्तै रमाइरहेका छौँ ।

पत्रकार महासङ्घको नाम बदनाम गराउनेहरु प्नि त्यत्तिकै सक्रिय भएका छन् । पत्रकारिता नगरी अन्य पेसा अपनाउनेहरुले पनि आफूलाई पत्रकार भन्दै ठगी गरेका घटना पनि हामी माझै ताजै छ । अब त पत्रकार महासङ्घले को पत्रकार हो र को पत्रकार होइन भन्ने छुट्याउन पनि गाह्रो भइसकेको अवस्था छ । त्यसैले नेपाल पत्रकार महासङ्घको सदस्यता दिने नाममा यो वा त्यो दल निकट पत्रकारहरुको संस्थाको नाममा भागबण्डा गर्नेभन्दा पनि क्रियाशील नरहेको महासङ्घका सदस्यहरुको सदस्यता नवीकरण नगरी पत्रकारहरुलाई पनि पूर्व पत्रकार बनाउनतिर लाग्ने हो कि ? निर्वाचन जित्नाका लागि जोसुकैलाई पनि पत्रकार बनाउने ? एमाले, काङ्ग्रेस, माओवादी, मधेशवादीलगायत अन्य वादी निकट पत्रकारका सङ्घसङ्गठनले पनि एक पटक सोच्ने बेला आएको छ ।
(लेखक : नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखा पूर्व कोषाध्यक्ष हुन् ।) copied by ratopati.com


,

0 comments

Write Down Your Responses