मन्टेश्वरी शिक्षा किन ?
नेपालका प्राय: पूर्वप्राथमिक विद्यालयहरूमा अझैसम्म पनि स्कुल टेकेकै दिनदेखि लेख्न सिकाउन थाल्ने परम्परा छ । यो गलत सुरुवात हो किनभने अक्षर लेख्न सुरू गर्नु नै सबै कुरा होइन । नेपाल सरकारले तयार पारेको पाठ्यक्रममा पनि लेख्न चाँडै सिकाउनुपर्छ भन्ने कुरा कतै उल्लेख छैन । सरकारले तयार पारेको पाठ्यक्रमको सुरूमै जीवनोपयोगी एवं स्वावलम्बी सीपहरू हासिल गराउनुमा यो पाठ्यक्रमको जोड छ भन्ने कुरा उल्लेख छ । त्यसैगरी बालबालिकामा आत्मविश्वास जगाउनु, परिवर्तित समाज एवं अन्य व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु, चुनौती, बाधा तथा सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्दत पुर्याउनुका साथै सामाजिक तथा व्यवहारिक मूल्य-मान्यताका आधारमा व्यावहारिक ज्ञान प्रदान गर्नु र असल नागरिक हुने आधारशीला खडा गर्नुु यो शिक्षाको उद्देश्य हो । यो उमेर समूहका विविध किसिमका मनोरञ्जक शिक्षण सिकाइलाई क्रियाकलापको माध्यमबाट बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई प्राथमिक विद्यालयका लागि तयार पार्नु पनि प्रि-प्राइमरी पाठ्यक्रमको उद्देश्य हो ।
यति भए पनि सरकारले तयार पारेको पाठ्यक्रममा उल्लेख भएका व्यवहारिक सीप कसरी सिकाउने भन्ने विषयमा भने कतै केही उल्लेख छैन । यद्यपि मन्टेश्वरी शिक्षा प्रणालीबाट ती उद्देश्य पूरा गर्न सकिन्छ । मन्टेश्वरी सिकाइ विधिअन्तर्गत प्रयोगशालामा राखेर प्रयोगात्मक अभ्यास गराउने, विभिन्न खेलहरूबाट स्मरण शक्ति बढाउने, जुन पाठ पढाइँदैछ त्यससँग सम्बन्धित स्थलगत अवलोकनमार्फत सम्बन्धित विषय वा स्थानको ज्ञान दिने आदि काम हुन्छ । उदाहरणका लागि जनावरहरूका बारेमा पढाउँदा चिडियाघरको भ्रमण गराउने, जुन वस्तुका बारेमा पढाइँदैछ त्यही वस्तुलाई नै कक्षा कोठामा ल्याएर देखाउने, मुभी कक्षाहरू संचालन गर्ने, आर्ट एण्ड क्राफ्ट आदिबाट सिकाउने । प्रयोगात्मक एवं व्यवहारिक सिकाइब्ााट बालबालिकामा क्षमताको विकास हुने, स्मरण शक्ति बढ्ने, पढाएको कुरा राम्रोसँग बुझ्ने, आत्मविश्वास बढ्ने, भ्रम निराकरण हुने, सकारात्मक सोच अभिवृद्धि हुने, सिर्जनशीलता बढ्ने, चुनौती सामना गर्न सक्ने सीप एवं क्षमताको विकास हुने कुरा मन्टेश्वरी सिद्धान्तमा उल्लेख छ । दुईदेखि छ वर्षसम्मको उमेरमा मानिसको स्वभाव कस्तो हुन्छ भन्ने ९० प्रतिशत निध्रारित भैसक्ने हुँदा उचित समयमा बालबालिकालाई त्यस किसिमको वातावरण बनाइदिनु जरूरी छ अन्यथा बालबालिकाहरू मन्टेश्वरीको सिद्धान्तले निर्धारण गरेका लक्ष्यहरू हासिल गर्न समर्थ हुँदैनन् ।
व्यवहारिक ज्ञान तथा सीपयुक्त शिक्षण पद्धति अपनाउन विद्यालयको वातावरण फरक किसिमले तयार गर्नुपर्छ । दुई वर्षका बालबालिकाको कक्षा कोठामा कापी वा पेन्सिलको आवश्यकता पर्दैन । त्यो उमेरका बालबालिकाको कक्षाकोठामा प्रयोगशालाका सामग्रीहरू, सीप विकास गर्ने सामग्री, आँखा र हातको गतविधिको तालमेल हुने गरी अभ्यास गराउन आवश्यक पर्नेे सामग्री, सीधा अगाडि हिँड्न सक्ने अभ्यास, पालो पर्खिने बानी, समूहमा काम गर्ने बानीका लागि आवश्यक सामग्री, अरूको कुरा सुनेर आफ्नो कुरा बताउन सक्ने सीप, विभिन्न अवस्था बुझाउने रंगीन तस्बिरहरू, बौद्धिक खेलका सामग्रीहरू, मनोरञ्जक एवं सिर्जनात्मक खेल सामग्रीहरू आवश्यक हुन्छन् ।
यस्ता सामग्रीहरूका सम्बन्धमा राम्रो जानकारी भएका एवं बालबालिकालाई कुन उमेरमा कस्तो खालको सीप सिकाउनु उपयुक्त हुन्छ भन्ने ज्ञान पाएका शिक्षकहरूले मात्र मन्टेश्वरीका सामग्रीको प्रयोग गरेर पढाउन सक्छन् । मन्टेश्वरीको तालिम पाएका शिक्षकहरूले बालबालिकामा सामाजिक भावनाको विकास एवं आवश्यक परेको अवस्थामा म गर्न सक्छु भनी स्वत: अग्रसर हुने ऊर्जा प्रदान गर्छन् । यो उमेरमा सिकेको सामूहिक भावनाको विकास हुँदै जाँदा भविष्यमा उदार र सहयोगी भावनाको विकास हुँदै जान्छ र त्यस्ता नागरिकबाटै समाजको विकास हुने आशा राख्न सकिन्छ । दुईदेखि छ वर्ष उमेर समूहका बालबालिकालाई अक्षर चिनाउन तथा पढाउन हतार नगरी स्वस्थ रहने, पालो कुर्ने, आफ्नो काम आफैं गर्ने, सोधेको कुरामा उचित जवाफ दिने, सकारात्मक सोच्ने, अरुलाई आदर गर्ने, माफ गर्न सक्ने, शिष्ट बोल्ने, आफूले प्रयोग गरेका सामग्री ठीक ठाउँमा राख्ने, अरूका सामान प्रयोग गर्नुअघि सोधेर अनुमति लिने, समस्या पर्दा नआत्तिने, अनावश्यक कुरामा नडराउने, आफ्नो काम आफै गर्ने, इमान्दार रहने, अरूलाई पनि असल व्यवहार गर्न उत्प्रेरित गर्ने, सन्तुलित आहार मन पराउने, अनुशासित हुनेजस्ता सीपमूलक शिक्षा दिनु आवश्यक हुन्छ ।
यसरी व्यवहारिक ज्ञान दिएर परिपक्व बनाउँदै लेख्न र पढ्न सिकाउँदा सानो उमेरदेखि नै बालबालिकाको सर्वाङ्गीण विकास हुन थाल्छ । यस प्रकारको पूर्ण शिक्षा प्रदान गर्न तालिमप्राप्त शिक्षकका साथै विभिन्न शैक्षिक तथा खेल सामग्री आवश्यक हुने हुँदा विद्यालयले त्यसको चाँजोपाँजो मिलाउनुपर्छ । अभिभावकहरूले पनि सम्भव भएसम्म घरमा शैक्षिक तथा मनोरञ्जक वातावरण निर्माण गरिदिनुपर्छ ।
घरमा पनि स्वच्छ र भेदभावरहित, सहयोगी एवं स्वस्थ वातावरण पाए भने मात्र बालबालिकामा सकारात्मक विकास हुनसक्छ । भनिन्छ-झगडालु वातावरणमा हुर्किएको बालकले विद्रोह गर्न सिक्छ, सहयोगी वातावाणमा हुर्किएको बालकले समाज सेवा गर्न सिक्छ । मन्टेश्वरी सिकाइ प्रणालीले बालबालिकाको सर्वाङ्गीण विकासलाई जोड दिएको छ । यसअन्तर्गत सिकाइने धेरै प्रकारका सीपमध्ये लेख्ने तथा पढ्ने सीप पनि प्रमुख हो तर त्यति मात्र सबै कुरा होइन । जसरी हरेक मानिसलाई समाजमा मिलेर बस्ने, सहयोग गर्ने, सन्तुलित भोजन गर्ने, सफा रहने ज्ञानको आवश्यकता पर्छ त्यसैगरी बालबालिकामा लेख्ने र पढ्ने सीपको पनि आवश्यकता पर्छ, जसबाट ऊ आफ्ना कुरा लेखेर व्यक्त गर्न र अरूले लेखेको वा संकेत गरेको कुरा बुझ्न सकोस् । त्यसकारण जीवनमा पढ्न-लेख्न सिक्नु जति आवश्यक हुन्छ अन्य कुराको ज्ञान पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
मन्टेश्वरी सिकाइ प्रणाली अवलम्बन गर्ने विद्यालयबाट प्राप्त हुने शिक्षा चेतनशील मानिसका लागि ज्यादै उपयोगी हुन्छ । यद्यपि मन्टेश्वरी नाम राखेर खुलेका सबै विद्यालयबाट त्यस्तो व्यवहारिक शिक्षा एवं ज्ञान प्राप्त हुन्छ भन्ने छैन । मूल कुरा त त्यो विद्यालयले मन्टेश्वरी सिकाइ विधि बुझेको छ कि छैन, त्यसलाई व्यवहारमा कसरी अवलम्बन गरिरहेको छ, त्यहाँका शिक्षकहरूले मन्टेश्वरी सिकाइ प्रक्रियाका बारेमा दक्षता हासिल गरेका छन् कि छैनन् भन्ने हो । कुनै पनि मन्टेश्वरी विद्यालयमा आफ्ना नानीलाई राख्नुअघि सम्बन्धित अभिभावकले यी सबै कुरामा ध्यान पुर्याउनु आवश्यक छ ।
- पुष्पा रिजाल
लेखिका सिटी मन्टेश्वरी स्कुल, अनामनगरकी प्रिन्सिपल हुन् ।
0 comments
Write Down Your Responses