Powered by Blogger.
यसकारण माओवादी र एमालेबीच एकता

एउटै कम्युनिस्ट केन्द्र बनाउने सपना र योजना अन्तरनिहित

  • मनहरि तिमिल्सिना

वर्ष दिनअघि संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘राजनीति सम्भावनाको खेल हो । इतिहास र घटनाक्रमले असम्भवजस्ता देखिएका विषयलाई पनि सम्भव बनाई दिन्छ ।’ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाललगायत बामपन्थी एवं अग्रगामी शक्तिबीच पार्टी एकता हुने भएपछि राजनीतिक बजार तातेको छ । यस लेखमा पार्टी एकता र चुनावी तालमेलबारे भएका प्रयास र गरिएका आधारभूत सहमतिबारे संक्षिप्तमा केही कुरा उल्लेख गरिनेछ ।

एमाले र माओवादीबीच एकताको चर्चा नयाँ पक्कै होइन, ०६४ सालमा सम्पन्न माओवादीको कामीडाँडा बैठकले नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित गर्ने सर्तमा बृहत् बामपन्थी एकताको प्रस्ताव पारित गरेको थियो । साथै, जनयुद्ध, जनआन्दोलन, वार्ता र कूटनीतिलाई नेपाली क्रान्तिको नयाँ कार्यदिशाका रुपमा संश्लेषण गरेको थियो । तर, तत्कालीन एमाले नेतृत्व त्यसमा सहमत नहुँदा माओवादी प्रस्तावले सार्थकता पाउन सकेन । आज चलेको एकीकरणको बहसलाई त्यसैको राजनीतिक निरन्तरता मान्न सकिन्छ ।


दुई पार्टीबीच एकताको बहस धेरैका लागि अप्रत्यासित लाग्नु स्वाभाविक नै छ । कांग्रेस-माओवादी गठबन्धन कायम रहेको, स्थानीय तहका तीनै चरणका चुनावमा तुलनात्मक रुपमा कांग्रेस र माओवादीबीच तालमेल रहेको, एमाले र माओवादीका नेताहरु बीचमा मात्रै नभएर समर्थनसम्म तिक्ततापूर्ण सम्बन्ध रहेको पृष्ठभूमिमा एकाएक एकताको प्रयास अप्रत्यासित लाग्नुलाई अन्यथा मान्न सकिन्न । तर, विचार, राजनीति, कार्यदिशा, संगठन र नेतृत्वसहित एकताको आधार र प्रयास हेर्दा बृहत् बाम एकताको प्रयत्नलाई अस्वाभाविक मान्नुपर्ने परिस्थिति देखिँदैन ।

बाहिर बहसको प्रारम्भ मात्र जस्तो देखिए पनि एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, संघीय फोरमलगायत बामपन्थी र अग्रगामी शक्तिबीच एकता गरी नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस र तयारी उत्कर्षमा छ । ठूलै राजनीतिक उथलपुथल र प्रतिकूल परिस्थितिको सिर्जना भएन भने अब एकता लगभग निश्चितप्रायः देखिन्छ । यहाँ कुन आधारमा एकता हुँदैछ भन्ने विषयलाई संक्षिप्तमा चर्चा गरिएको छ ।

एमाले, माओवादी केन्द्र, नयाँशक्ति, संघीय फोरमलगायत बामपन्थी र अग्रगामी शक्तिबीच एकता गरी नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस उत्कर्षमा ।

कम्युनिस्टहरुको ध्येय साम्यवादी आदर्शको प्राप्ति नै हो, त्यसका लागि नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादको लक्ष्य हासिल गर्नु अहिलेको मिसन हो । यसमा एमाले, माओवादी केन्द्रलगायत एकताका लागि तयार भएका शक्ति सहमत देखिन्छन् ।

माओवादी एमालेको एकताको वैचारिक सर्त शान्तिपूर्ण संक्रमणमार्फत् समाजवादमा जाने कुरामा सहमति भएको छ । एमालेले समाजवादको आर्थिक-सामाजिक स्वरुपमा सहमति जनाउने, माओवादीले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाका आधारमा समाजवादमा पुग्ने सर्तमा सहमति जनाउने दुई पार्टीबीच एकताको प्रस्तावमा उल्लेख छ ।

शान्तिपूर्ण संक्रमणबाट समाजवादमा पुग्ने सैद्धान्तिक सहमति नेपालका सन्दर्भमा बिल्कूलै नयाँ अभ्यास हो । समाजवादको आधार तयार पार्दै जाँदा प्रतिक्रियावादी वर्ग झडपमा आए के गर्ने भन्ने प्रश्न पक्कै उठ्छ ।

तर, बृहत् बामपन्थी एकतामार्फत् नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित हुँदा सत्ता र राजकीय अवयवहरुमा दुईतिहाई पुग्ने र त्यसकै आधारमा समाजवादमा जान सकिनेमा एमाले-माओवादीका शीर्ष नेताहरु एकमत देखिएका छन् । तर, यो नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीहरुका लागि गुरुत्वपूर्ण बहसको विषय हो ।

यसअघि माओवादी केन्द्र २१औं शताब्दीको जनवाद र एमाले जनताको बहुदलीय जनवादको कार्यक्रमका आधारमा राजनीतिक प्रतिस्पर्धाको मान्यता राख्थे । रुपमा २१औं शताब्दीको जनवाद र बहुदलीय जनवाद एउटै देखिए पनि प्रतिस्पर्धामा सहभागी हुने शक्तिहरुको विषयमा दुई पार्टीबीच मतभेद थियो ।

माओवादी सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिलाई मात्रै राजनीतिक प्रतिस्पर्धामा सहभागी गराउने मान्यतामा थियो भने एमाले खुल्ला प्रतिस्पर्धामा । संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भइसकेर संविधान बनिसकेकाले माओवादी एमालेलाई सामन्तवाद, साम्राज्यवाद विरोधी शक्ति नै ठान्छ ।

अर्को कुरा, सत्तामा दुईतिहाई बहुमतमार्फत् शान्तिपूर्ण संक्रमणकै कारणमा समाजवादमा जाने विषयमा एमाले-माओवादी सहमत देखिएकाले राजनीतिक प्रतिस्पर्धा खुल्ला नै हुन्छ भन्नेमा सायद अब भ्रम नहोला ।

जुन दिन कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनेछ, त्यस दिन क्रान्ति र परिवर्तनको सपना बोकेर हिँडेका विप्लवलगायत शक्ति पनि कम्युनिस्ट केन्द्रमा आउन बाध्य हुनेछन् ।

झट्ट हेर्दा अहिलेको एकता एमाले, माओवादी, फोरम र नयाँ शक्तिलगायतको एकता देखिन्छ । तर, यसभित्र नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने सपना र योजना अन्तरनिहित छ । नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानमा साथ दिनेसँग चुनावपछि तत्काल एकता गर्ने र मोहन वैद्य, नेत्रविक्रम चन्द, सीपी मैनाली, नारायणमान बिजुक्छे, मोहनबिक्रम सिंहलगायत नेताहरुको नेतृत्वमा रहेका कम्युनिस्ट धाराहरुलाई पनि क्रमशः एकताको प्रक्रियामा लैजाने तयारी छ ।

सबैलाई तत्काल एकताको प्रक्रियामा ल्याउन सम्भव होला, नहोला । तर, मुख्य कम्युनिस्ट घटकहरु बीचको एकता निश्चितजस्तै देखिएको छ । यसले नेपालको मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ अवधारणा र बहसको सिर्जना गर्ने निश्चित छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’लगायत समूह नेपालमा आमूल परिवर्तन चाहन्छन् । तर, नेपालको राजनीतिक धरातल र अनुभवले तत्काल त्यो सम्भव देखिँदैन । ०६६ सालमा माओवादीले गरेको ६ दिने आम हड्ताल र त्यसबाट प्राप्त असफलता त्यसको पछिल्लो प्रमाण हो ।

तसर्थ, विप्लव समूह पनि एक चरणको राजनीतिक क्रान्तिको असफलतापछि छिटै एउटै कम्युनिस्ट केन्द्रमा आउने सम्भावना कमजोर देखिँदैन । यो सम्भावनालाई पनि एमाले-माओवादीका नेताहरु नजिकबाट नियालिरहेका छन् ।

माओवादी र एमालेबीच भएको अलिखित सहमतिले १/२ दिनमै लिखित सहमतिको रुप धारण गर्नेछ । राजनीतिक दृष्टिले हेर्दा नेपालीहरु राजनीतिक स्थिरता र नेपालमा बाम एकता चाहन्छन् । अहिलेको एकता अभियान त्यसैको मूर्तरुप हो ।

तत्काल एमाले-माओवादी ६०-४० प्रतिशतका आधारमा संघीय र प्रादेशिक चुनावमा सहभागी हुने, संघीय निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने र त्यसैका आधारमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालमा जाने दुई पार्टीबीच सहमति छ ।

यसले नेपाली राजनीतिमा ००७ सालयता विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्नेछ । जुन दिन कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनेछ, त्यस दिन क्रान्ति र परिवर्तनको सपना बोकेर हिँडेका विप्लवलगायत शक्ति पनि कम्युनिस्ट केन्द्रमा आउन बाध्य हुनेछन् ।

माओवादी र एमालेबीच सूर्य चिन्ह लिएर चुनाव लड्ने, चुनावी तालमेल गर्ने, चुनावपछि पार्टी एकता गर्ने, पार्टी एकताको सम्पूर्ण कुरा चुनावअघि नै टुंगो लगाउने र चुनावपछि एकताको घोषणा गर्ने, दुवै पार्टीको अधिवेशनबाट एकताको प्रस्ताव पारित गर्ने र एकता महाधिवेशन गर्ने, चुनावपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी अध्यक्ष बन्ने समझदारी छ ।

संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीमा जाँदा प्रचण्डलाई अघि सार्ने दुई दलबीच समझदारी छ ।

चुनावी तालमेल र पार्टी एकताबारे एमाले, माओवादी केन्द्र, नयाँ शक्ति र फोरमका नेताहरुबीच धेरै चरणका छलफल भएका छन् । एकताको प्रारम्भिक दस्तावेजसमेत लगभग तयार भइसकेको छ, त्यसलाई अन्तिम रुप दिएर १/२ दिनमै त्यसको घोषणा हुने सम्भावना छ ।

चुनावअघि एकता संयोजन समिति बनाएर जानसमेत नेताहरु सहमत देखिएका छन् । संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराई रहने सहमति छ ।

चुनावी तालमेलबारे समझदारीमा पुगे पनि पार्टी एकताका बारेमा संघीय समाजवादी फोरम आन्तरिक छलफलमा छ । संघीय फोरमले आधिकारिक निर्णय गरेपछि उपेन्द्र यादव र अशोक राई पनि संयोजन समितिमा रहनेछन् । संयोजन समितिको हाइकमान्डमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड रहनेछन् ।

यसरी चुनावी तालमेल, पार्टी एकता, संविधान संशोधन, निर्वाचनपछिको राजनीतिक ध्रुवीकरण र जिम्मेवारीलगायत विषयमा एकताका पक्षधर शक्तिहरु लिखित सहमतिको नजिकै पुगेका छन् ।

अहिले कांग्रेस र माओवादीको गठबन्धन सरकार छ । संघीय र प्रादेशिक चुनावको मिति घोषणा भइसकेको छ । यस्तो अवस्थामा कांग्रेस र माओवादी गठबन्धनमा समस्या आउने सम्भावना पनि छ । तर, यो एकता अभियान कसैका विरुद्ध परिलक्षित छैन । बरु, नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित गर्ने बामपन्थीहरुको दशकौं लामो सपना, देशको राजनीतिक स्थिरता र समृद्धिको सपनाद्वारा निर्देशित छ । तसर्थ, यसबाट कांग्रेसलगायत शक्तिहरु तरंगित हुनुपर्ने अवस्था छैन ।

निर्वाचनको घोषणा भइसकेको सन्दर्भमा तोकिएकै समयमा संघीय र प्रादेशिक निर्वाचन हुनुपर्छ । त्यसका लागि विभिन्न विकल्प छन् । वर्तमान सरकारले नै चुनाव गर्ने, सर्वदलीय चुनावी सरकार गठन गरेर निर्वाचनमा जाने । यी विकल्पमा एमाले-माओवादी असहमत देखिँदैनन् । तर, जुनसुकै मोडेलमा गए पनि अब चुनाव रोकिन्न र रोकिनु हुँदैन ।

माओवादी वृत्तमा एमालेप्रति चरम अविश्वास देखिन्छ । राजनीतिक समीकरणमा पटक-पटक धोका पाएको पीडा कार्यकर्ताले विभिन्न ढंगले अभिव्यक्त गर्दैछन् । तर, अहिलेको बहस चुनावी तालमेल र सत्ता गठबन्धनको बहस मात्रै होइन, पार्टी एकताको बहस हो, नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस पनि ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमार्फत् नेपालमा राजनीतिक स्थिरता र समृद्धिको बाटोमा जाने बहस हो । समग्रमा नेपालको भाग्य र भविष्य निर्धारण गर्ने बहस हो । यही कोणबाट समग्र विषयको टुंगो लाग्दैछ । १/२ दिनमा चुनावी तालमेल र चुनावपछि हुने पार्टी एकताका समग्र विषयमा लिखित सम्झौता हुनेछ, यससँगै राजनीतिक वृत्तमा देखिएको तरंगले पनि ठोस रुप धारण गर्नेछ ।
copied by onlinekhabar.com


,

0 comments

Write Down Your Responses