Powered by Blogger.
दैनिकी गुजारा गर्न जोखीमपूर्ण काममा महिला कामदार


बुद्धकुमार आछामी 
सिन्धुली २३ फाल्गुण । नेपालको अन्तरिम संविधान २०७२ मा प्रत्येक नागरिकलाई पेशा व्यवसाय गर्न पाउने, अध्ययन गर्न पाउने, रोजगारी गर्न पाउने, सम्मानपूर्वक बाँच्न पाउने, सम्पति आर्जन गर्न पाउने आदि मानवका आधारभूत अधिकारलाई मौलिक रुपमा स्वीकार गरेको छ । 
राजनीतिक अस्थिरता, कानूनको शासन र लोकतान्त्रिक मूल्य र मान्यताको दुरुपयोग, परनिर्भरता, सत्तामोह, राजनीतिक निहित स्वार्थ आदिका कारण आजको एक्काइसौं सताब्दीमा आईपुग्दा समेत सवै नेपाली नागरिकहरुले उल्लेखित मौलिक अधिकारको प्रत्याभूति गर्न पाएका छैनन भने महिला, दलित, जनजाति, अल्पसंख्या समुदायले त झन आफ्नो अधिकारको प्रयोग गर्न पाउने कुरै भएन । प्रयाप्त मात्रामा प्राकृतिक श्रोत र साधन हुँदा हुँदै पनि नेपाल अझै अशिक्षा, बेरोजगारी, अविकसित, गरिबी, परनिर्भरतामा जकडिएको छ । मानव अधिकार, महिला अधिकार, बाल अधिकार, समावेशी आदिका विषयमा नेपालमा अन्तराष्ट्रिय स्तरका कानुनहरुको निर्माण गरिएको छ । महिला अधिकारका विषयमा दैनिक जसो स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा कार्यक्रमहरु संचालन भई नै रहेका देखिन्छन तर त्यस्ले महिलाहरुको जीवनस्तरमा कुनै परिवर्तन ल्याउन सकेको अवस्था देखिदैन । आफ्नो शारिरीक क्षमता भन्दा बढी र जोखिमपूर्ण काम गरेर जिन्दगीको दैनिकी चलाउन बाध्य छन नेपाली महिलाहरु । 
सिन्धुलीमाढी सदरमुकाम क्षेत्रमा प्रसस्त मात्रामा त्यस्ता दृश्य देख्न सकिन्छ जहाँ महिलाहरु आफ्नो जीवन गुजारा गर्नका लागी जोखीमपूर्ण काम गर्न व्यस्त रहेका हुन्छन । जोखिमपूर्ण रुपमा गरीने निर्माण कार्यमा होस वा घरको रङ्गरोगन गर्ने कार्य देखी मालबाहक ट्रकमा सामान लोड, अनलोड गर्ने कार्यमा महिला कामदारहरुको उपस्थिती बढिनै मात्रामा देख्न सकिन्छ । उनीहरुलाई महिला अधिकार र आफ्नो शारिरीक जीवनको महत्व भन्दा पनि बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता हुने गरेको छ । 
बिहिबार सिन्धुलीमाढीबजारमा मालबाहक ट्रकबाट सिमेन्टको बोरा अनलोड गर्दै गरेकी एक महिलाले भनीन, “के मतलब हामीलाई महिला अधिकार, यसरी सिमेन्टको बोरा अनलोड गरिएन भने बेलुका राम्रोसँग खान पाइदैन ।” उनी जस्तै ट्रकबाट सिमेन्टको बोरा अनलोड गर्न व्यस्त रहेका झण्डै आधा दर्जन महिलाहरुको दुखेसो यस्तै थियो । उनीहरु छोराछोरी पनि हेर्नुपर्ने र घरको काम गर्न पनि भ्याउनु पर्ने भएकाले र यस्तो काममा थोरै समय दिदा पनि राम्रो नै कमाई हुने भएकाले यो काम गरेको बताउछन । 
झण्डै ४० वर्ष उमेर पुगीसकेकी सिमेन्ट अनलोड गर्दै गरेकी एक महिलाले भनिन, “ट्रकले सामान ल्याएको दिन त काम पाइन्छ पैसा पनि कमाइन्छ तर नआएको दिन काम पाइदैन ।” उनीहरु मालबाहक ट्रक आएपछि निक्कै खुसी हुन्छन र पैसा कमाउन सिमेन्टका बोरा अनलोड गर्न हानाथाप गर्छन । उनीहरुको सवै मिलेर काम गर्ने समुह पनि छ । सवैजना मिलेर अनलोड गर्ने र पैसा बराबरी भाग लगाउने चलन छ उनीहरुको । सिमेन्टको बोरा अनलोड गरेको प्रतिबोरा १० रुपैयाका दरले पाउँने गर्छन । एउँटा ट्रकबाट सिमेन्ट अपलोड गरेको झण्डै २ हजार सम्म कमाई हुने र भाग लगाउँदा १ घण्टामै चार सय सम्म कमाइ हुने गरेको बताउछन । 
त्यतिमात्र होइन निर्माण कार्यमा पनि महिला कामदारहरुको ज्यादा प्रयोग हुने गरेको छ । घरको निर्माण कार्यमा सिमेन्ट, इट्टा लगायत सामाग्रीहरुको ओसार पसार जस्ता कार्यमा महिला कामदार लगाउने गरेको अवस्था छ । भने घरको ढलान गर्ने दिन सवैभन्दा वढी महिला कामदारको प्रयोग हुन्छ । कम मुल्यमा धेरै काम लगाउँन पाइने भएका कारण पनि निर्माण कार्यमा संलग्न पेटी ठेकेदारहरुले महिला कामदारहरुलाई प्रयोग गर्ने गरेको स्थानीयहरु बताउछन । 
एकातिर महिला अधिकारको बारेमा व्यापक बहस जारी छ भने अर्कोतर्फ महिलाहरु आफ्नो जिन्दगी गुजार्नका लागी आफ्नो सारीरिक क्षमताले भ्याउने भन्दा निक्कै माथिका जोखीमपूर्ण कार्य गरेर जिन्दगी गुजारा चलाउन बाध्य छन । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईरहदा आगामी दिनमा यी र यस्ताखालका महिलाहरुको समस्या र बाध्यताको बारेमा महिला अधिकारकर्मीहरु सचेत भएर लाग्ने हो की ?


,

0 comments

Write Down Your Responses